झमकसँग संवाद- काठमाडौंको सरकारी आवास छाडेर किन फर्किन् कचिडे ? – Nepal Press

झमकसँग संवाद- काठमाडौंको सरकारी आवास छाडेर किन फर्किन् कचिडे ?

काठमाडौं । ‘जीवनलाई सृष्टिकै सुन्दर फूल भनेर अर्थ्याइदिएँ मैले । तर, त्यो फूलभित्र मेरो आफैं पर्छु कि पर्दिनँ मलाई नै थाहा छैन ।’ साहित्यकार झमक घिमिरेले मदन पुरस्कार प्राप्त आफ्नो कृति ‘जीवन काँडा कि फूल’ पुस्तकमा आफैंले लेखेका शब्दहरू हुन् यी ।

धनकुटा कचिडेकी घिमिरे जन्मँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित थिइन् । यही रोगकै कारण बोल्न र हिँड्डुल गर्न सक्दिनन् । खुट्टाका तीनवटा औंलाको सहायताले मानिसहरूसँग संवाद गर्छिन् ।

त्यही औंलाकै सहाराले मानिसहरूको अघि खुसी प्रकट गर्छिन् । मानिसहरू सामुन्ने आफ्ना कुरा राख्छिन् । सवालको जवाफ दिन्छिन् । कविता लेख्छिन्, निबन्ध लेख्छिन् । त्यही तीन औंला सहायताले हजारौं पाठकसम्म पुग्ने जिवन्त अक्षरहरू कुँद्छिन् । र, प्रिय पाठकहरूका हातहातमा पुस्तकका रूपमा समर्पण गर्छिन् ।

उनको पुस्तक पुस्तक मात्रै नबनेर पाठकहरूका लागि उत्प्रेरणा बनिदिन्छ । जीवनको सौन्दर्यलाई चिहाउने आँखीझ्याल बनिदिन्छ । जिउनुको मजा लिनका लागि मार्गचित्र बनिदिन्छ । मुस्कुराउनका लागि तागत बनिदिन्छ ।

तर, ‘जीवन काँडा कि फूल ?’ मा ‘सृष्टिकै सुन्दर फूल’ भनेर जीवनलाई सम्बोधन गरेकी उनले आफ्नै जीवनप्रति भने शंसय प्रकट गरेकी थिइन्, ‘त्यो फूलभित्र म आफैं पर्छु कि पर्दिनँ’ भनेर । त्यो शंसय अथवा कन्फ्युजन हटिसक्यो कि छैन होला घिमिरेको ?

उनी भन्छिन्, ‘मेरो पहिला पनि कुनै कुराको कन्फ्युजन थिएन । त्यो प्रस्तुत गर्ने क्रममा मैले पाठकलाई जीवनलाई कसरी बुझ्ने भन्ने सवालको जवाफ उनीहरूले नै खोजुन् भनेर त्यसरी प्रस्तुत गरिदिएकी थिएँ । एक अर्थमा जीवनको फैसला गर्ने स्वतन्त्रता उनीहरूसँगै छाडिदिएकी थिएँ भन्छु म ।’

घिमिरेसँग कुराकानी गर्नका लागि फोन नम्बर माग्दा मात्रै थाहा भयो, उनी त धनकुटा, कचिडेको आफ्नो घर पुगिसकेकी रहिछन् । गत वर्ष नेपाल सरकारले यता हस्तान्तरण गरेको घरमा नबसेर गाउँ नै फिरिसकेकी रहिछन् ।

‘अनि कसरी संवाद गर्ने त ?’

उनैले सुझाइन्, ‘च्याटमै गरौं ।’

च्याटमा लामा-छोटा कुराकानी भए । उनले टाइप गरेर पठाइन् सवालका जवाफहरू । धनकुटामा बत्ती गइरहने समस्याले पनि उनलाई दुःख दिएछ । भनिन्, ‘यता बत्ती झिमिक झिमिक गइरहन्छ र अलि समस्या हुन्छ ।’

उनै घिमिरेसँग फेसबुक म्यासेन्जरमा गरिएको वार्तालाई हामीले प्रस्तुत गरेका छौं ।

– पछिल्लो समय के गर्दै हुनुहुन्छ ? नयाँ पुस्तकको तयारी पो छ कि ?

पछिल्लो समय मैले खासै केही गरेकी छैन । नयाँ निबन्धको किताब लेख्दै छु । यसमा पनि जीवानुभूतिकै कुराहरू छन् !

– जीवानुभूति भन्नाले हजुरकै आत्मसंस्मरणजस्तो ? ‘जीवन काँडा कि फूल’ जस्तै कि ?

पूर्णरूपमा आत्मसंस्मरण पनि होइन र पूर्णरूपमा त्यसबाट मुक्त पनि होइन !

– तपाईंको बिहान उठाइ, राति निदाइ, लेखाइ, पढाइको सेड्युअल चाहिँ कस्तो छ नि ?

म बढी सुत्छु । बिहान आठ बजेतिर उठ्छु । अनि नित्यकर्म सकेर चिया पिउँछु । एकछिन बाहिर बसेर शितल हावा लिन्छु । खाना खान्छु, अनि लेखपढ गर्छु । एकछिन सुत्छु । उठेर खाजापानी लिन्छु । त्यसपछि पढ्छु, लेख्छु ।

बेलुका सात बजेतिर खाना खाएर एकछिन परिवारसँग गफगाफ हुन्छ । टीभी हेर्छु त्यस्तै दस बजेतिर सुत्छु !

– अनि पहिला त काठमाडौंतिरै बस्नुहुन्थ्यो हैन र ?

हजुर तर, त्यति धेरै बसिनँ काठमाडौं !

– काठमाडौंमै सबै मानिस बस्न खोज्छन् । तपाई चाहिँ काठमाडौंबाट फेरि गाउँ नै फिर्नुभएछ । किन हो ?

हा हा हा ! त्यस्तै हो मान्छेका ब्यक्तिगत कुरा हुन्छन् । कति प्राबिधिक कुराहरू हुन्छन् !

– अघिल्लो वर्ष सरकारले गोठाटारमा घर निर्माण गरिदिएको समाचारहरू आएका थिए । र, पनि कचिडेतिरै फिर्नुभएछ । यो सहरको कोलाहल, हल्ला सहन नसकेर त होइन नि है ?

त्यस्तो पनि होइन । मलाई सम्मान गरेर सरकारले घर बनाइदियो । त्यो आफैंमा प्रशंसनीय कुरा हो ! यो नेपाली साहित्यका लागि गर्व गर्ने कुरा पनि हो । तर त्यहाँको वातावरण र सुरक्षाको कारणले मैले तत्कालैको लागि कचिडे नै फर्किने निर्णय लिएँ ।

– ‘जीवन काँडा कि फूल’ मा जीवन सृष्टिकै सुन्दर फूल भए पनि त्यो फूलभित्र म आफू पर्छु कि पर्दिनँ, थाहा छैन भनेर लेख्नुभएको थियो । अहिले त त्यो कन्फ्युजन हटिसक्यो होला है ?

मेरो पहिला पनि कुनै कुराको कन्फ्युजन थिएन । त्यो प्रस्तुत गर्ने क्रममा मैले पाठकलाई जीवनलाई कसरी बुझ्ने भन्ने सवालको जवाफ उनीहरूले नै खोजुन् भनेर त्यसरी प्रस्तुत गरिदिएकी थिएँ १ एक अर्थमा जीवनको फैसला गर्ने स्वतन्त्रता उनीहरूसँगै छोडिदिएकी थिएँ भन्छु म ।

– एक लेखक हुनुको नाताले पाठकहरू तपाईंका लागि के हुन् ? लेखक-पाठकबीचको सम्बन्धलाई कसरी अर्थ्याउनुहुन्छ ?

पाठक मेरो लागि सचेत दृष्टी हुन् जसले मेरो लेखनलाई सचेत आँखाले हेरेर मलाई अगाडि बढ्न प्रेरणा दिन्छन् । त्यसैले लेखक र पाठकको सम्बन्ध भनेको एक-अर्काका परिपूरक अर्थात् नङ्ग र मासुको जस्तै सम्बन्ध हुनुपर्छ ।

– तपाईंको जीवनमा पाठकहरूले त धेरै प्रतिक्रियाहरू, पाठकपत्रहरू पठाएका होलान् । ती पाठकले दिएका प्रतिक्रियाहरू तपाईंका लागि ऊर्जा पनि होलान् । अथवा तपाईंका सृजनाहरू पाठकका लागि ऊर्जा होलान्, जीवनमा आँट र साहसको स्रोत होलान् है । कस्ता कस्ता प्रतिक्रियाहरू पाउनुभएको छ हजुरले ?

केही अपवादबाहेक पाठकले एकदमै सकारात्मक प्रतिक्रिया दिएका छन् । ती मेरा लागि उर्जा हुन् । आलोचना पनि गरेका छन् । ती पनि मेरा आउने कामको लागि अझ राम्रोसँग गर्नको लागि अमुल्य बैचारिक बौद्धिक खुराक हुन् ।

– तपाईंको एकदमै निजी बुझाइमा जीवन चाहिँ के रहेछ ?

जीवन सृष्टिकै सबैभन्दा सुन्दर फूल हो । मान्छेले नजान्दा त्यही काँडा पनि हो ।

– तर, फूलहरूको नियति भनेको त चुँडिनु हो, लुछिनु हो, च्यातिनु पनि हो नि !

फूल बनेर चुँडिनु, लुछिनु च्यातिनु त एउटा प्राकृतिक नियति हो । मान्छेको जीवन पनि यसबाट अछुतो छैन । तर, फूलको सौन्दर्यलाई या जीवनको सौन्दर्यलाई कसैले पनि नकार्न सकिँदैन ।

– तर, मानिसहरू यही जीवनको सौन्दर्य थाहा पाएर/नपाएर आत्महत्याको बाटो रोजिरहेका हुन्छन् । आफ्नै जिन्दगीसँग गुनासो राखेर दुःखी भइरहेका मानिसहरू बग्रेल्ती भेटिन्छन् । खासमा जीवनको सौन्दर्य परख गर्नका लागि मानिसलाई चाहिने चिज चाहिँ के रहेछ त्यस्तो !

जीवनसँग गुनासो गर्ने, आत्महत्याको बाटो रोज्ने मानिसहरू हाम्रो समाजमा धेरै भेटिन्छन् । ती मान्छेहरूले समाज र समयलाई के दिए त ? प्रश्न यहाँनेर उठ्ने गर्छ । आफ्नो जीवनसँग दुःखी भइरहेका मान्छेहरू पनि बग्रेल्ती भेटिन्छन् ! तर, दुःख र सुख मान्छेका जीवनमा आइरहने कुरा हुन्, यो शाश्वत सत्यलाई स्वीकारेर अगाडि बढ्ने मान्छेले मात्र खासमा जीवनको सौन्दर्यको पारख लिन सक्छ । यो लिनको लागि मान्छेमा दृढ जिउने इच्छाशक्ति चाहिन्छ !

– मृत्युलाई कसरी लिन सकिएला ! मानिसहरू आफैंले आफैंलाई पीडा दिइरहेका छन्, आफैंले आफैंलाई यातना दिइरहेका हुन्छन् । र अन्त्यमा आफैंलाई मृत्युको सम्मुख पुर्‍याइरहेका हुन्छन् ।

मेरो विचारमा मृत्यु एउटा प्राकृतिक प्रक्रिया हो । यो मान्छेले चाहे पनि आउँछ, नचाहे पनि आउँछ । मान्छेहरू आफैंले आफैँलाई पीडा, यातना दिइरहेका छन्, त्यो एकदमै गलत गरिरहेका छन् । र जबर्जस्ती मर्नु चाहिँ कसैले पनि हुँदैन, किनभने यो जीवन पटक-पटक पाइँदैन । एकपटकको जतिसुकै पीडा दुःख पनि हाँसेर बाँच्ने हो । एकपटक पाएको मान्छेको जीवन जतिसुकै पीडा, दु:ख भए पनि साना-साना खुसीहरू समालेर हाँसेर बाँच्ने हो ।

– अन्त्यमा, अब तपाईंको काठमाडौं प्रवेश त नयाँ पुस्तक लिएरै होला है ?

हजुर त्यस्तै होला अब ।

– तर, हजुरको काठमाडौं नै बसाइ चाहिँ पछि पनि नहोला कि होला ?

त्यो त समयले नै बताउने छ ।


प्रतिक्रिया

4 thoughts on “झमकसँग संवाद- काठमाडौंको सरकारी आवास छाडेर किन फर्किन् कचिडे ?

  1. हजुर महान होइसिन्छ दिदी अब आउने किताब चाडै प्रकाश्न होस र पढ्न पाइयोस् सकभर निबन्ध मात्र न भएर फरकफरक बिधामा हात चलाएर बुक निकाल्दा हामीलाई स्वाद चाख्ने नयाँ चिजको मिल्थ्यो कि?

  2. काठमाडौं छोड्नु परेको कारणमा (1) वातावरण (2) सुरक्षा , लाई दर्शाइएको छ ! जुन नितान्त गम्भीर कुरा हो !
    जिम्मेवार निकायको यसमा ध्यान जाला कि ?

  3. म भाव विव्हल भएको थिएँ त्यो वाक्य पढेर जून ” जीवन काडा कि फूल ” मा अभिव्यक्त थियो ” मैले त जीवनलाई सुन्दर फूलको रूपमा अर्थ्याइदिएँ खै त्यही अर्थभित्र मेरो आफ्नै जीवन पो पर्छ कि पर्दैन ” । सबै भन्दा उत्कृष्ट भनाइ हो यो मेरो बुझाईमा ।

  4. जीवनमा संघर्षभित्रै सफलता पनि लुकेको हुन्छ । साँच्चै साङ्ग व्यक्तिहरु बढी निरास हुन्छन् हरेक कुरामा अरुको दोष देख्छन् । शारीरिक रुपमा कठिनाइ झेलेर लेखक झमककुमारीले झैं लेखन कार्य अगाडि बढाउनु सामान्य कुरा होइन । यो ईश्वरीय बरदान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर