भारतले महाकालीमा पक्की तटबन्ध बनाएकोमा गृह र परराष्ट्रमन्त्रीलाई कानूनमन्त्रीको ध्यानाकर्षण – Nepal Press

भारतले महाकालीमा पक्की तटबन्ध बनाएकोमा गृह र परराष्ट्रमन्त्रीलाई कानूनमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । दार्चुला सदरमुकामनजिकै महाकाली नदीमा भारतले एकर्तफी बनाइरहेको पक्की तटबन्धको विषयमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाण र परराष्ट्रमन्त्री डा. नारायण खड्काको ध्यानाकर्षण गराएका छन् । दार्चुला बडूको गृहजिल्ला हो ।

महाकाली नगरपालिका-४ बाँगाबगरमा सीमा नदी महाकाली पारी भारतीय पक्षले पक्की तटबन्धन बनाउँदै आएको छ । उक्त कार्य तत्काल रोक्न स्थानीय प्रशासनले गरेको अनुरोधलाई भारतले अटेरी गर्दै आएको छ ।

पानीको बहाव नेपालतर्फ पठाउने गरी भइरहेको पक्की तटबन्ध निर्माण कार्य रोक्न वारीबाट नेपालीहरूले अवरोध गरेपनि भारतीय पक्षले काम रोकेको छैन ।

स्थानीय प्रशासन र स्थानीय जनताको अवरोधलाई अटेरी गर्दै आएपछि मन्त्री बडूले दुवैतर्फका जनताबीच ढुङ्गा हानाहानको अप्रिय अवस्था सृजना भएकोतर्फ दुवै मन्त्रीको ध्यानाकर्षण गराएको बताइएको छ ।

यस घटनाबाट दुवै तर्फको जनस्तरमा रहेको मित्रता र आपसी सम्बन्धलाई थप बिग्रन नदिनतर्फ सचेत हुन समेत बडूले आग्रह गरेका छन् ।

सीमाक्षेत्रमा हुने प्रशासनिक एवं विकासका गतिविधिहरूमा दुवै पक्षको पूर्व जानकारी र समन्वयको सुनिश्चितता गर्नका लागि तत्कालै भारत सरकारसँग कूटनीतिक तहमा सम्पर्क गरी दुवै पक्षबीच प्राविधिक र प्रशासनिक समन्वय र संवादद्वारा सृजित समस्याको समाधान गर्न गराउन आग्रह गरेका हुन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री खड्काले उक्त घटनालाई गम्भीर लिँदै भारत सरकारको ध्यानाकर्षण गराइसकिएको बताए ।

दुवै देशका संयुक्त प्राविधिक टोली खटाइ स्थलगत रूपमा नै समस्याको समाधान गर्न दूतावासमार्फत भारत सरकारलाई मौखिक साथै लिखित रूपमा अनुरोध गराइसकिएको उनले प्रष्ट पारे ।

यो विषयमा आफू निरन्तर भारतसँग सम्वादमा रहेको भन्दै चाँडै उक्त समस्याको समाधान गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर