जुवाडेलाई चेक फिर्ता गरेको आरोपमा एसएसपी सिंहलाई कारबाही सिफारिस – Nepal Press

जुवाडेलाई चेक फिर्ता गरेको आरोपमा एसएसपी सिंहलाई कारबाही सिफारिस

काठमाडौं । चेक फिर्ता गरेको घटना छानबिनका लागि गठित समितिले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयले डीआईजी राजेशकुमार लाल कर्णको संयोजकत्वमा गठन गरेको छानबिन समितीले सिंहलाई कारबाही गर्न सिफारिस गरेको हो ।

आफू काठमाडौं प्रहरी प्रमुख रहेका बेला सिंहले चोरेको आरोप लागेको २ करोड २९ लाख रूपैयाँ भरिएको चेक सम्बन्धित व्यक्तिबाट फिर्ता लिएपनि पछि तीनै व्यक्तीलाई फिर्ता गरेको समितीको निष्कर्ष रहेको छ ।

नयाँ बानेश्वरमा जुवा खेल्नेक्रममा आफ्नो सात वटा चेक हराएको भन्दै सिन्धुलीका राजकुमार बरालले असोज २२ गते महानगरीय प्रहरी परिसरमा उजुरी गरेका थिए।

असोज २५ गते झापाका सुभाष भेट्वालबाट २ करोड २९ लाख रूपैयाँ भरिएका ती चेकहरू बरामद भएको थियो । तर भेट्वालले आफूलाई जुवा खेल्नेक्रममा बरालले आफैंले काटेर ती चेकहरू दिएको दाबी गरेका थिए । जुवा खेलेको भनिएको ठाउँको सीसीटीभी फुटेजसमेत हेर्दा बरालको चेक लिएको देखिएको छानबिन समितिको निष्कर्ष छ ।

आफू काठमाडौं प्रहरी परिसरबाट बिदा हुन लाग्दा एसएसपी सिंहले भेटवाललाई ती चेक फिर्ता गरेपछि विवादमा परेका हुन् । बरालले गत पुसको अन्तिम साता गृहमन्त्रालयमा उजुरी गरेका थिए ।

छानबिन समितीमा एसपी आभुषण तिम्सिना र डीएसपी सन्तोष तामाङ पनि सदस्य थिए । प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले सिंहमाथिको कारबाही प्रकृयामा रहेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर