आस्थाका आधारमा सरुवा गरेर सरकारले श्वेत आतंक मच्चाएको निजामती कर्मचारी संगठनको आरोप
काठमाडौं । आस्थाका आधारमा सरुवा गरेर सरकारले श्वेत आतंक मच्चाएको नेपाल निजामती कर्मचारी संगठनले आरोप लगाएको छ ।
संगठनले बुधवार एक विज्ञप्ति जारी गर्दै पूर्वाग्रही ढङ्गबाट आस्थाका आधारमा अनियमित र बेमौसमी रूपमा कर्मचारीको दिनहुँ पदस्थापन र सरुवा गर्ने काम भइरहेको घटनाप्रति संगठनको ध्यानाकर्षण भएको जनाएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत तीनै तहका विभिन्न मन्त्रालय, विभाग र निकायबाट निःस्वार्थ पूर्वक विना पूर्वाग्रह जनताको सेवा प्रवाह भईरहेका बेला नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारी, सदस्य र शुभचिन्तक भएकै कारण दिनहुँ सरुवा गर्नु आपत्तिजनक र खेदजनक भएको संगठनका महासचिव जीवन काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘आस्थाका आधारमा ऐन, कानुन, नियम विपरीत गरिने यस्ता काम कारबाहीले निजामती सेवाको गरिमालाई कमजोर वनाउने मात्र होइन, निजामती प्रशासनको क्षेत्रमा श्वेत आतंकको झ–झल्को समेत दिएको छ । राजनीतिक नेतृत्वको दबाबको हवाला दिँदै गरिएका गैर कानूनी र बेमौसमी यस प्रकारका गतिविधिमा संलग्न नहुन उच्च प्रशासनिक नेतृत्व लगायत सम्बन्धित अधिकारीलाई हार्दिक अनुरोध गर्दछौ ।’
नेपाल निजामती कर्मचारी संगठन सधैँ ऐन, कानुन, नियम र विधिको पक्षमा प्रतिबद्ध रहँदै आए पनि सरकारले नेपाल निजामती कर्मचारी संगठनको शक्तिलाई कमजोर ठानेर यस्ता व्यवहार गरेको संगठनले आभास गरेको जनाइएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा भएका यस्ता सरुवा झन् आपत्तिजनक र खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न मन्त्रालय र विभाग लगायत निकायबाट भईरहेका यस्ता पूर्वाग्रही गैर कानुनी सरुवा आतंक तत्काल रोक्न र भएका सरुवा तत्काल बदर गर्न पनि संगठनले सरकारसँग माग गरेको छ ।
संगठनको अनुरोधलाई कमजोरी ठानी सरकारी तवरबाट यस्ता क्रियाकलाप दोहोरिएमा संगठनले आफ्ना सदस्यलगायत आम पेसाकर्मीको हितको रक्षार्थ जुनसुकै कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने पनि विज्ञप्तिमार्फत नै चेतावनी दिइएको छ । नेपाल निजामती कर्मचारी संगठन नेकपा एमाले निकट निजामती कर्मचारी संगठन हो ।