कुलमानलाई अर्थमन्त्रीको फोन, उद्योगको ‘लोडसेडिङ’ समाधान गर्न निर्देशन – Nepal Press

कुलमानलाई अर्थमन्त्रीको फोन, उद्योगको ‘लोडसेडिङ’ समाधान गर्न निर्देशन

काठमाडौं । व्यवसायीहरूले उद्योग, कलकारखानामा मङ्गलवारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेका छन् ।

बुधवार दिउँसो प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ति र वितरणको अवस्थाबारे अर्थमन्त्री शर्माले जानकारी लिएका हुन् ।

कुराकानीका क्रममा अर्थमन्त्रीले हाल देखिएको समस्या तत्काल सम्बोधन गरी उद्योग, कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिए ।

‘अहिलेको जे समस्या हो, त्यसलाई चाँडो हल गरी उद्योगहरूमा मागअनुसार नियमित रूपमा बिजुली उपलब्ध गराउनुहोला,’ प्रबन्ध निर्देशक घिसिङलाई निर्देशन दिँदै अर्थमन्त्री शर्माले भने ।

बुधवार दिउँसो अर्थ मन्त्रालयमा वीरगन्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले मन्त्री शर्मालाई भेटेका थिए । भेटमा उद्योगी व्यवसायीले मङ्गलवार देखी उद्योगमा बिजुली कटौती भएको गुनासो राखेका थिए । तत्कालै अर्थमन्त्री शर्माले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ति सहज गर्न निर्देशन दिएका हुन् ।

सो भेटमा वीरगन्जका उद्योगी व्यवसायीले आफूले भोगिरहेको समस्या सुनाउँदै आगामी बजेटबारे सुझाव दिएका थिए । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा आएको टोलीले बैंकमा धरौटी राखेको पैसाको ब्याज आउने वातावरण मिलाइदिनुपर्ने, कृषि क्षेत्रमा तोकिएको सीमाअनुसार बैंकले कर्जा वितरण गर्नुपर्ने, सामाजिक सुरक्षा कोषलाई संशोधन गरी उद्योगी र कर्मचारीमैत्री बनाउनुपर्ने लगायत माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर