चुरे पहाडमा सुख्खा पहिरो, महोत्तरीको खयरमारासहितका वस्ती जोखिममा – Nepal Press

चुरे पहाडमा सुख्खा पहिरो, महोत्तरीको खयरमारासहितका वस्ती जोखिममा

महोत्तरी । महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ । बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भिषण पहिरो खसेको हो ।

पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्ती जोखिममा परेको छ । स्थानीय युवा इशारा लामाका अनुसार भीषण पहिरो गएसँगै स्थानीयहरू त्रसित भएका छन् । पहिरोले खोला नै पुरेपछि छोडके, पिपलदमा, गुरुङ्ग खोला, चनौटे, गर्दिखोला, भाङग्रे झ्याउरे तथा खयरमाराको मुख्य बजारमा नै जोखिम हुन सक्ने स्थानीयको भनाइ छ ।

बेमौसमी पहिरोले त्रसित बनाउने गरी ठूलो पहिरो गएपछि वर्षायाममा हुन सक्ने खतराबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयहरुले चिन्ता लिइरहेको लामाले बताए । अहिले खोलाबाट खयरमारा र बर्दिबास जाने बाटो बन्द भएको उनकाे भनाइ छ । सडक सञ्जालको सुविधा नहुँदा खयरमारास्थित भित्री वस्तीका स्थानीयहरू खोलाबाट नै आवतजावत गर्दै आएका छन् ।

सुरुमा सानो पहिरो गएको भए पनि राति २ बजेबाट ठूलो पहिरो जान थालेको स्थानीयहरू बताउँछन् । पहिरो गएको नजिक र वरपर मात्र करिब दुई सय घरधुरी बसोबास गर्दै आएका छन् ।

तराईमा पछिल्लो दुई दिनयता अत्याधिक बढेको तापक्रमका कारण पहिरो गएको हुन सक्ने वातावरणविद्हरूको अनुमान छ । वातावरणविद नागदेव यादवका अनुसार चुरे पहाडमा रहेको खुकुलो चट्टानमा चिसो र तातोको सन्तुलन बन्न नसक्दा पहिरो जाने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *