सुनकोशी- १ का सबै घरमा पानीको धारा, बन्यो देशकै पहिलो वडा – Nepal Press

सुनकोशी- १ का सबै घरमा पानीको धारा, बन्यो देशकै पहिलो वडा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– १ ठोकर्पाकी ७० वर्षीया देवकी न्यौपानेको आठ वर्षको उमेरमा नै विवाह भएको थियो । माइती रामेछाप किल्पुबाट ठोकर्पामा विवाह भएर आउँदा उनी आठ वर्षको थिइन् ।

आठ वर्षको कलिलो उमेरमा बुहारी भएर पराइ घरमा आउनु पर्दाको पीडा जति थियो, त्यो भन्दा झन् ठुलो पीडा बिहान ४ बजे नै उठेर घरभन्दा झण्डै ४५ मिनेटेको दूरीमा गएर पानी बोकेर ल्याउनुपर्ने थियो ।

घरभन्दा टाढा ठोकर्पाको स्थानीय छात्राबास नजिकै रहेको कुवामा पानी बोकेर ल्याउनु पर्दाको पीडा मात्रै होइन त्यही पानी बोकेर ल्याउदाको एउटा दुःखद घटना पनि न्यौपानसँग छ । न्यौपाने गर्भवती थिइन्, उनको पेटमा सात महिनाको गर्भ हुर्कदैँ थियो, सधै बिहानै छात्राबासबाट पानी बोकेर ल्याउँदा एक दिन भने उनले बाटोमा नै छोरालाई जन्म दिइन् ।

‘पानीको गाग्रो र धोएको कपडा ल्याउँदै थिएँ, एक्कासी व्यथाले च्याप्यो, अनि पानीको भारी बिसाएर बाटोमा नै छोराको जन्म भयो’, विगत सम्झँदै न्यौपानेले भनिन् । पानी र कपडाको भारी माथी भर्खरै जन्मेको छोरालाई ल्याएर घरमा बिसाउन नपाउँदै महिना पूरा नभइ जन्मेको छोराको मृत्यु भयो ।

अहिले उनी ७० वर्षको भइन् तर पहिलाको जस्तै गरेर अहिले बिहानै गएर पानी बोक्नुपर्ने उनको समस्या सधै सधैंको लागि हटेको छ । अहिले घर छेउमा नै धारो छ । धारोमा २४ सै घण्टा पानी आउँछ । पिउनका लागि मात्रै होइन अहिले घरमा नै धारो आएपछि घर मुनि बगैंचा पनि हरियाली भएको छ न्यौपानेको ।

न्यौपाने मात्रै होइन अहिले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ ठोकर्पाका सयौं स्थानीयले घरमै धारा र २४ सै घण्टा खानेपानी आउन थालेपछि खुसी भएका छन् र सधै पानीको लागि हुने सामाजिक विभेद समेत अन्त्य भएको छ ठोकर्पामा । देशभरका ६ हजार ७४२ वडा मध्ये सुनकोशी गाउँपालिका–१ मात्रै शतप्रतिशत घरधुरीमा मिटर जडित धरामार्फत सुरक्षित खानेपानी आपूर्ती भएको पहिलो वडाको रुपमा समेत घोषित भएको छ ।

देशभरका नगरपालिका र गाउँपालिका भित्रका वडामध्ये सुनकोशी–१ नै पहिलो शतप्रतिशत घरमा धारा जडान गरेर नियमित खानेपानी आपुर्ती गर्ने वडाको रुपमा घोषणा भएको वडा अध्यक्ष नेत्रबहादुर कार्कीले जानकारी दिए ।

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले आफ्नो सयन्त्र मार्फत देशभरको पहिलो वडाको रुपमा सुनकोशी–१ लाई सत प्रतिशत घरमा धारा नडान भएको औपचारिक जानकारी गराएको अध्यक्ष कार्कीले जानकारी दिए ।

देशभरका वडाहरुमा आफुहरुको वडा सतप्रतिशत घरमा धारा र नियमित पानी आपुर्ती हुने वडाको रुपमा घोषीत हुने कार्यक्रममा वडाका स्थानीयले पानी नहुदाको पीडा र पानी आएपछिको खुसी कसैले कबिता मार्फत कसैले गित र कसैले श्लोकको मार्फत खुसीयाली साटेका थिए ।

ठोकर्पामा खुब विकास भएको छ
घर घरमा जोर धारो आको छ
चिन्ता छैन केही
पानी लिन पर्देन जानु काही
धारो छ दैलोमै

दैलोमा नै धारो र पानी आएको खुसीयालीमा ठोकर्पाका स्थानीय महिलाले गित मार्फत नै यसरी खुसी मनाएका थिए । स्थानीय महिलाहरुले विगतमा मध्यरातमा पानी लिन जानु पर्दाको पीडा पनि यसरी गित मार्फत नै पोखेका थिए।

उठ्नुपथ्यौ त्यो मध्यरातिमा
पानी छैन पिर पर्यो छातीमा
बुढी आमा रोइराथीन पाखामा
पानी कुर्दा निन्द्रा थ्यो आँखामा

यसरी सम्भव भयो शतप्रतिशत घरमा पानी लैजाने योजना

ठोकर्पामा लामो समयदेखि खानेपानीको चरम समस्या हुँदै आएको थियो । २०७२ को भूकम्पले यस अघिका पानीको मुहान समेत सुकेपछि स्थानीयको सक्रियतामा २०७४ सालमा ठोकर्पालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिए ।

सरकारले नै सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि जनप्रतिनिधि सहित सरकारको विभिन्न निकायले ठोकर्पामा खानेपानी आपुर्ती सहज बनाउने उदेश्यले २०७५ जेठ देखि घरघरमा धारा,घरघरमा पानी भन्ने अभियान सुरु गरेको अभियानकर्ता एवम वडा अध्यक्ष नेत्रबहादुर कार्कीले जानकारी दिए ।

अभियान सुरु भएपछि पहिलो चरणमा लिफ्ट खानेपानी प्रणाली मार्फत वडाको तल्लो भेगकको ६४ घरधुरीमा खानेपानी उपलब्ध गराउन आफूहरु सफल भएको वडाध्यक्ष कार्कीले बताए । वडाका सबै घरधुरीमा खानेपानी पु¥याउन तिन वटा डिप बोरिङ,३ लिफ्टीङ र अन्य सना प्राकृतिक मुहानहरु सहित १७ वटा खानेपानी प्रणालीबाट एकमुष्ठ रुपमा पानी संकलन गरेर वितरण सुरु गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । वडाभर खानेपानी आपुर्तीलाई सहज बनाउन अहिले २ लाख देखि २० हजार लिटर क्षमताका २० वटा ट्याङकीहरु निर्माण गरिएका छन् ।

अहिले वडाका ७ सय ८६ घरधुरीका झण्डै ५ हजार स्थानीयले २४ सै घण्टा खानेपानी उपभोग गरिरहेका छन् । वडामा ४५ प्रतिशत डिबोरिङ,३५ प्रतिशत लिफ्टीङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानबाट पानी संकलन गरिएको वडाध्यक्ष कार्की ले जानकारी दिए ।

सबै घरमा पानी पुगेपछि त्यसलाई व्यवस्थीत गर्नका लागि मिटर जडान गरिएको र स्थानीयबाट मासिक रुपमा १ सय रुपियाँ संकलन समेत सुरु गरिएको वडाध्यक्ष कार्कीले बताए ।

पानीको सबै स्रोतलाई एकै ठाउँमा संकलन गरेर वितरण गरिएको र एउटा प्रणालीको पानी सबैको घरसम्म पुगेको वडाध्यक्ष कार्कीले बताए । अब वडास्तरीय सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरेर खानेपानीको सबै काम उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने तयारीमा वडाको तयारी रहेको छ ।

वडाको सबै बजेट खानेपानीमा

स्थानीय तहमा जनप्रतिनिधि आएपछि सुनकोशी गाउँपालिका–१ वडामा गाउँपालिकाबाट प्राप्त हुने बजेटको ९० प्रतिशत रकम सबै खानेपानी योजनाहरुमा मात्रै हालिएको थियो । गाउँपालिकाबाट पनि यहाँको खानेपानीलाई सहज र व्यवस्थीत बनाउनका लागि पर्याप्त बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी(विनोद) ले जानकारी दिए । गाउँपालिका,वडा र अन्य विभिन्न संघ संस्थाबाट समेत गरी यो अभियानका लागि साढे २ करोड खर्च भएको अध्यक्ष जिसीले जानकारी दिए ।

शतप्रतिशत घरधुरीमा मिटरजडित धारमार्फत नियमित खानेपानी आपुर्ती भइरहेको देशकै पहिलो वडा घोषणा गर्ने कार्यक्रममा सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थाहरुलाई सम्मान गरिएको थियो । पुर्वसूचना तथा सञ्चार मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भव्य कार्यक्रमबीच सबै घरधुरीमा खानेपानी सहज भएको घोषणा गरेका थिए ।

कार्यक्रममा पूर्वर्वमन्त्री बस्नेतले आफ््नो सक्रियता र स्थानीय जनप्रतिनिधिको सहयोगमा सुख्खाग्रस्त गाउँमा पनि नियमित खानेपानी आपूर्ती गर्न सकिएकोमा खुसी व्यक्त गरे । ठोकर्पाको विकासका लागि आफु सधै लागि परेको र अब यस्तो सुख्खा ठाउँमा सिञ्चाईका योजनाहरु पनि ल्याउने उद्घोष गरेका थिए ।

सडक कालोपत्रे, अस्पताल, विद्यालय, सञ्चारकेन्द्र, बैंकलगायत स्थानीयको सबै आधरभूत आवश्यकता यहाँ पुरा भएको ले अब स्थानीयको आर्थिक स्तर उठाउने कार्यक्रमहरु गाउँपालिकाले सुरु गर्ने गाउँपालिका अध्यक्ष जिसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर