कांग्रेसको केन्द्रीय समिति बैठक : एजेण्डामा नभएको चुनावी गठबन्धनले पाउला त प्रवेश ? – Nepal Press

कांग्रेसको केन्द्रीय समिति बैठक : एजेण्डामा नभएको चुनावी गठबन्धनले पाउला त प्रवेश ?

काठमाडौं । देश स्थानीय तह निर्वाचनको माहोलमा तात्दै गएका बेला आज धेरैको ध्यान ‘सानेपा’ तर्फ केन्द्रित छ । सानेपाबाट कांग्रेसले लिने निर्णयसँग देशका सबैजसो प्रमुख दलहरूले आफूसँग ‘साइनु’ जोडेर हेरिरहेका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा आज स्थानीय तह निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेर सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको चौथो बैठक बस्दैछ । दिउँसो २ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ ।

सोही बैठकमा आज चुनावी तालमेलको विषयले पनि प्रवेश पाउनसक्ने कांग्रेस स्रोत बताउँछ । यद्यपि बैठकको तीनवटा एजेण्डामा प्रष्टरूपमा तालमेलको विषय भने उल्लेख छैन ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठकको एजेण्डाहरूमा कांग्रेसको निर्वाचन लक्षित ‘घर-घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन र विविध शीर्षकमा समसामयिक विषयमा छलफल हुने तय गरिएको छ ।

यही शीर्षकमा रहेर चुनावी तालमेलको विषयले प्रवेश पाउनसक्ने कांग्रेसका एक पदाधिकारीले बताए । ‘सभापतिज्यूले तालमेलको विषय पार्टीभित्रै छलफल गरेर टुंग्याउने चाहना राख्नुभएको छ,’ उनले भने,‘त्यसैले बैठकमै प्रारम्भिक छलफल हुन्छ । सहमति जुटे निर्णय पनि हुनसक्छ ।’

यता कांग्रेसले चुनावी तालमेल गर्ने/नगर्ने विषयमा लिने निर्णयमा सत्तारूढ दलहरूभित्र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चासोका साथ हेरिरहेका छन् । दुवै दल सत्तारूढ गठबन्धन दलहरूबीचमा तीनतहका निर्वाचनसम्मै तालमेल गरेर जानुपर्ने पक्षमा छन् । त्यसैका लागि उनीहरूले कांग्रेसलाई दबाब सिर्जना गर्दै आएका छन् ।

माओवादी केन्द्रका शीर्ष नेताहरूले कांग्रेसले चुनावमा तालमेल गर्न नमाने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भएपनि गरेर जानसकिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

सत्तारूढ गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टी (जसपा) पनि गठबन्धन दलहरूसँग निर्वाचनमा तालमेल गरेरै जाने ‘मूड’ मा छ ।

एमसीसी प्रकरणमा रिसाएको राष्ट्रिय जनमोर्चा पनि गठबन्धन दलका बीचमा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा रहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि कांग्रेससँग मधेस प्रदेशमा चुनावी तालमेल गरेर जान चाहेको छ ।

यी दलहरूले चुनावी तालमेलका लागि कांग्रेसको ‘मुख हेरेर’ बसेको अवस्था छ ।

यी दलहरू मात्र होइन, प्रमुख प्रतिपक्षी दल एमालेले पनि कांग्रेस लिने निर्णयलाई व्यग्रताका साथ पर्खिरहेको छ । एमाले हरहालमा वर्तमान सत्तारूढ गठबन्धन टुटाउन चाहन्छ । यसका लागि कांग्रेसले चुनावी तालमेल नगरेर निर्वाचनमा ‘एक्लै जाने’ निर्णय लिए गठबन्धनमा संकट पैदा भएर फुटाउन सकिने उसको बुझाइ छ ।

कांग्रेस एक्लै चुनावमा गए माओवादी केन्द्र र एकीकृत समाजवादीको ‘साइज’ खुम्चिएर कम्युनिष्ट पार्टीको ध्रुविकरण आफूकेन्द्रीत भएर एकल कम्युनिष्ट शक्ति हुने पनि एमालेको बुझाइ छ ।

फरक दलका यी ‘इन्ट्रेस्ट’ को केन्द्रबिन्दु कांग्रेसको केन्द्रीय समितिको बैठक हुन पुगको छ । आजको बैठक पनि त्यसैकारण देशभित्र राजनीतिक दलहरूको नजरबाट पनि निकै महत्वपूर्ण छ ।

कांग्रेसमा विभाजित मत

यसरी फरक दलको फरक-फरक ‘इन्ट्रेस्ट’ रहँदा कांग्रेसभित्रै भने चुनावी तालमेलका विषयमा विभाजित मत छ । सभापति शेरबहादुर देउवालगायत उनी पक्षका नेता गठबन्धन दलहरूबीचमा तालमेल गरेर जानुपर्ने पक्षमा छन् । त्यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत पनि छन् ।

तर, शेखर कोइराला समूहका नेताहरू भने कांग्रेस आफ्नै बलबुतामा चुनाव लड्नुपर्ने जोडदार आवाज उठाइरहेका छन् । स्वयम् कोइराला, महामन्त्री गगन थापा र उपसभापति धनराज गुरुङ चुनावी गठबन्धनको विरोधमा प्रखर रूपमा आवाज उठाइरहेका छन् । उनीहरूको मतसँग तल्लो तहका नेताकार्यकर्ताहरूको ठुलो पंतिको समर्थन छ ।

यसैकारण कांग्रेसले आफ्नो चुनावी अभियान ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ मार्फत धारणा संकलन गरेर आवश्यक निर्णय लिने भनिएको छ ।

यद्यपि सभापति देउवा सरकारको सुरक्षितता र भविष्यमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्मको सुनिश्चितताका लागि गठबन्धन ‘जोगाउन’ तालमेल गरेर जानुपर्ने पक्षमा इतर पक्षको निरन्तरको गठबन्धनविरोधी आवाजले देउवा दबाबमा छन् ।

केन्द्रीय समितिमा सभापति देउवाको एकलौटी बहुमत छ । यो विषयमा वादविवाद भए कुन प्रक्रियामा गएर टुंगो लाग्ला ? त्यो भने हेर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर