ठोरी प्रदेशको प्रथम पर्यटकीय क्षेत्र घोषित, १० करोड बजेट दिने निर्णय
नेपाल प्रेस
२०७८ चैत ११ गते २१:१५
जनकपुरधाम । मधेस सरकारले पर्साको ठोरीलाई प्रदेशको प्रथम पर्यटकीय स्थल घोषणा गरेको छ । आज दिउँसो ठोरीमै बसेको मन्त्रीपरिषद्को बैठकले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको हो ।
ठोरीमा भौतिक पूर्वाधार निर्माणका लागि १० करोड रूपैयाँ दिने पनि मन्त्रीपरिषद्को बैठकले गरेको न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवले जानकारी दिए ।
केही दिन अगाडी नै ठोरी पुगेका मधेशका मुख्यमन्त्री लालबाबु राउतले पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । सो प्रतिबद्धता आज उनले पुरा गरेका छन् ।
प्रधानमन्त्री रहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् राम जन्म ठोरीमा भएको दाबी गर्दै सो क्षेत्रको विकासका लागि बजेट उपलब्ध गराएपछि ठोरी एकाएक चर्चा पायो । अहिले सो ठाउँलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न मधेस सरकारले समेत प्राथमिकता दिएको छ ।
पर्सामा पर्ने ठोरी चितवन र भारतसँग समेत जोडिएको छ । ठोरी पर्यटनको प्रचुर सम्भावना बोकेको छ । पर्यटकीय स्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।
प्रतिक्रिया
सम्बन्धित खवर