मेलाम्ची र इन्द्रावतीका ४९५ घरमा खानेपानी उपलब्ध
सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे मेलाम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराइएको हो ।
घरघरमा खानेपानीको धारा बनाइएपछि वर्षौँदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् । नगरपालिकाको सबैभन्दा ठुलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी व्यक्त गर्दै पानी ट्याङ्की र धाराको संरक्षण गर्न स्थानीयवासीलाई नगरप्रमुख डम्बर अर्यालले आग्रह गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताए ।
यस्तै खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका–१२ स्थित भिमटारका १९५ घरधुरीमा खानेपानीको धारा उपलब्ध गराइएको छ । ३७ लाखको लागतमा ८२ घनमिटरको ट्याङ्की बनाएर खानेपानी उपलब्ध गराएपछि स्थानीयवासी लाभान्वित भएका छन् ।
यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकामा अहिले सफा र स्वच्छ पानी स्थानीयवासीले पिउन पाएका गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए ।
वर्षौ देखी खानेपानीको समस्या झेल्दै आएका स्थानीयका घरघरमा खानेपानीका धारा बनाइएपछि सर्वसाधरण हर्षित भएका छन् ।