देउवाजीले टुप्पोबाट सबैतिर एमालेका पाखुरा देखेपछि आफ्नै सभापतिहरूलाई हप्काउनुभएछ : ओली (भिडिओ) – Nepal Press

देउवाजीले टुप्पोबाट सबैतिर एमालेका पाखुरा देखेपछि आफ्नै सभापतिहरूलाई हप्काउनुभएछ : ओली (भिडिओ)

‘पाँचदलीय गठबन्धनमात्र होइन दर्ता भएका सबै दल मिलेर एमालेसँग भिड्न आए हुन्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनमात्र होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल एकजुट भएर आए पनि एमाले एक्लै भिड्न र जित्न सक्षम रहेको दाबी गरेका छन् ।

एमालेको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै भिड्छु भन्ने आँट अब कांग्रेसमा पनि नरहेको बताए । त्यही भएर सभापति शेरबहादुर देउवाले प्रदेश सभापतिहरूलाई हप्काएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने- राम्रो कुरा हो एक्लै एमालेसँग भिड्छु भन्ने आँट कसैले गर्न सकेका छैनन् । अरूको त के ल्याकत भयो र कांग्रेसले पनि नसक्ने भनेर हात उठायो । प्रदेश सभापतिहरूले गठबन्धन नगरौँ एक्लै जाऊँ भन्दा देउवाजीले नचाहिने कुरा गर्ने ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छ ? त्यसैले तालमेल गर्नुपर्छ भन्नुभएछ । उहाँले टुप्पाबाट बसेर हेर्दा एमालेका पाखुरा देख्नुभयो र छक्क परेर तालमेल गर्नुपर्नेमा पुग्नुभयो ।

ओलीले सत्ताको धुरीमा बसेर देउवाले जताततै एमाले देखेपछि गठबन्धनको सहारा खोजेको दाबी गरे । उनले एमाले देश भरी एक्लै जित्न सक्षम रहेको भन्दै कसैले हराउने कुरा नचिताए हुने बताए ।

ओलीले भने– देउवाजीले टुप्पोमा बसेर हेर्दा देशै भरी एमाले मात्र देख्नुभयो । एमालेको मसल देख्नुभयो । एक्लै त कसैले नचिताए हुन्छ,पाँच वटा होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलाएर आए पनि केही फरक पर्दैन ।

अध्यक्ष ओलीले गठबन्धनसँग चुनावी एजेण्डा केही नभएकाले एमाले सरकारका कामको भण्डाफोर गर्ने भनेर हिँडेको आरोप लगाए ।

ओलीले भने– भण्डाफोर के को गर्ने ? जनकपुर जयनगर बर्दिबास रेलको लिक किन राखेको ? रेल किन चलाएको भनेर भण्डाफोर गर्ने हो ? अन्तरिक्ष कक्षमा नेपालको आफ्नै स्याटलाइट किन पठाएको ? समुद्रमा किन हक स्थापित गरेका भनेर भण्डाफोर गर्ने ? कि देशभर सबै पालिकामा अस्पताल किन बनाएको भनेर भण्डाफोर गर्ने ?

ओलीले आफूहरुले सरकार छाडेपछि मुलुक आर्थिक रूपमा टाट पल्टिएको आरोप समेत लगाए ।


प्रतिक्रिया

One thought on “देउवाजीले टुप्पोबाट सबैतिर एमालेका पाखुरा देखेपछि आफ्नै सभापतिहरूलाई हप्काउनुभएछ : ओली (भिडिओ)

  1. कम्युनिष्ट फुटेकाे माैका छाेप्न खाेजेकाे काँग्रेस त लुटेराहरूकाे पार्टी हाे । जनताले यसलाई यसपाली राम्रै पाठ सिकाउँदैछन् । याे देश बिग्रिएकै काँग्रेसले गर्दा हाे । याे पनर्टी उहिल्यै सकिसक्थ्याे । विदेशीले बचाईदिएका हुन किनकी विदेशीलाई यिनलाई प्रयाेग गर्न सजिलाे छ । दलाल बन्दिहाल्छन । यिनकाे हारमा अहिले माओवादी र एस पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर