रुपन्देही सुपर लिगको उपाधि एमसीसीलाई – Nepal Press

रुपन्देही सुपर लिगको उपाधि एमसीसीलाई

रुपन्देही । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलबर्न क्रिकेट क्लब (एमसीसी)ले हात पारेको छ ।

शनिबार भएको फाइनलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै एमसीसी उपाधि जित्न सफल भएको हो । योसँगै सुपर लिगको साढे दुई

दशकको इतिहासमा एमसीसीले नवौंपटक उपाधि जितेको छ ।

उपाधिसँगै एमसीसीले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेतामा चित्त बुझाएको बुद्धले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ११.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २८ रन मात्रै बनाएको थियो । उसका लागि अजय त्रिपाठीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न एमसीसीका रमेश कुर्मीले ५.५ ओभर बलिङ गर्दै ३ मेडन राखेर ७ रन खर्ची ६ विकेट लिए । यस्तै, सन्तोष यादवले ३ तथा शिवकुमार मौर्यले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एमसीसीले ७ ओभरमा एक विकेटको नोक्सानीमा २९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुशान्त थापाले नट आउट १५ र विजय प्रजापतिले नकआउट ८ रन जोडे । बलिङमा बुद्धका विपिन खत्रीले एक विकेट लिए । एमसीसीका रमेश कुर्मी म्यान अफ द फाइनल भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा एमसीसीका रोशनलाल गुप्ता म्यान अफ द सिरिज र वेस्ट बलर घोषित भए । उनले क्रमशः १५ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, एमसीसीकै विजय प्रजापति वेस्ट ब्याट्सम्यान र उदयमान खेलाडी घोषित भए । उनले क्रमशः ५–५ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी टिमलाई सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, नेपाल टेलिकमका उपमहाप्रबन्धक झविन्द्रलाल उपाध्याय, भीम अस्पताल विकास समिति अध्यक्ष कुलप्रसाद न्यौपाने, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले पुरस्कार प्रदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *