केपी ओली रावण र कंसजस्तै इतिहासका कुपात्र : माधव नेपाल(भिडिओ) – Nepal Press

केपी ओली रावण र कंसजस्तै इतिहासका कुपात्र : माधव नेपाल(भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासकै एक कुपात्र भएको टिप्पणी गरेका छन् । उनले ओलीलाई रावण, कंस, शिशुपाल र हिटलरसँग तुलना गरे ।

नेकपा एसनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालको विस्तारित बैठक समापन कार्यक्रममा नेपालले ओलीको कटु आलोचना गरेका हुन् । उनले पौराणिक साहित्यको अध्ययन गर्दै ओलीको भर्त्सना गर्न पार्टी पंतिलाई निर्देशन दिए ।

नेपालले भने, ‘ठ्याक्कै रावणको प्रवृत्ति केपी ओलीमा देखिएको छ । पौराणिका साहित्यको अध्ययन पनि गर्नुपर्छ । रावण, कंस, शिशुपालदेखि हिटलरसम्मले के-के गरे ? हिटलरले कतिवटा कुकृत्य थिए ? ठ्याक्कै तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस् ।’

कम्युनिष्टहरू सबै तानाशाह नहुने नेपालले बताए । तर, कम्युनिष्टको आवरणमा पनि तानाशाहरू जन्मिनसक्ने भन्दै उनले ओलीको उदाहरण दिए ।

‘कांग्रेसलाई के भन्नुपर्‍यो भने कम्युनिष्टलाई अधिनायकवादी भन्छन्, त्यस्तो होइन । कम्युनिष्टको आवरणमा तानाशाहहरू जन्मिन सक्दा रहेछन् । यो पात्र विशेषमा उत्पन्न भएको विकृति हो । यस्ता कुपात्रहरू इतिहासको कालखण्डमा देखिन्छन् । केपी ओली त्यस्तै एक कुपात्र हुन्, राजनीतिमा लागेका सबैलाई चेतना भया ।’ नेपालले भने ।

समयमै सचेत नभए पछि पछुताउनुको विकल्प नहुने भन्दै उनले कांग्रेसलाई चेतावनी दिए ।

‘मैले कांग्रेसका नेताहरूलाई पनि भनेँ । तपाईंहरूले जानीजानी त्यस्ता कुपात्रलाई विश्वास गर्नुभयो भने देशको प्रजातन्त्र, संघीयता, संविधान सबै खतम हुन्छ । अनि पछुताएर हुन्छ के ? केपी ओलीले जम्मै सिध्याएपछि टाउकोमा हात नराखेर के गर्ने ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर