वाङको नेपाल भ्रमणः सरकारले छुटाएको ‘बीआरआई’ मा ओली-प्रचण्डको समान चासो
काठमाडौं । अमेरिकी सहायता नियोग (एमसीसी) कम्प्याक्ट अनुमोदनपछि चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यी को नेपाल भ्रमणका क्रममा हिजो दुई देशका सरकारबीच ९ वटा सम्झौताहरू भए । जसमा चिनियाँ सरकारको ऋण सहयता कार्यक्रम ‘बेल्ट इन रोड इनिसियटिभ’ (बीआरआई) बारे न कुनै सम्झौता भएको देखियो, न छलफल नै !
९ वटा अन्य विषयमा सम्झौता हुँदा पनि बहुचर्चित बीआरआईबारे दुई देशका सरकारबीचमा कुनै छलफल भएको कुनै आधिकारिक जानकारी आएको छैन । यो विषयमा विदेशमन्त्री वाङको प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा कुरा उठेको सार्वजनिक भएको छैन । न समकक्षी नेपाली परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेटमा कुरा उठेको जानकारी बाहिरिएको छ ।
यसरी उत्तरी छिमेकी चीनको प्राथमिकताप्राप्त कार्यक्रम बीआरआईबारे दुईदेशका सरकारबीचमा कुनै छलफल नहुँदा यसलाई बिभिन्न कोणबाट विश्लेषण भइरहेको छ ।
यसै मुद्दाले एमसिसीपछि नेपाल अमेरिकी ध्रुबमा गएको भन्ने टिप्पणी गरिरहेकाहरूको तर्कका नयाँ ‘मसला’ थपेको छ ।
सरकारले छलफलमा छुटाएको यो विषय दुई पूर्वप्रधानमन्त्रीहरूले भने महत्वका साथ विदेशमन्त्री वाङसमक्ष उठान गराएका छन् । आज बिहान प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्माओलीसँग विदेशमन्त्री वाङले भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्तामा अध्यक्ष ओलीले बीआराई अन्तर्गतका आयोजनाहरुलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिएको स्रोतले बताएको छ । ‘बीआरआई अन्तर्गतका आयोजनाहरूलाई चाँडो सक्नुपर्छ भनेर अध्यक्षले भन्नुभएको छ,’ भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले भने,‘रेल, सिँचाइ, सडक, जलविद्युत् अनि नाका व्यवस्थित गर्ने आयोजनामा चीनको सहयोग होस् भनेर भन्नुभएको छ ।’
यस्तै अध्यक्ष ओलीले कोरोनापछि अबरूद्ध भएका नाकाहरु तत्काल सुचारु गर्न पनि आग्रह गरेका थिए ।
‘चीन जान रोकिएका विद्यार्थीहरुको अध्ययन सुचारु बनाउनका लागि ध्यान दिन आग्रह गर्नुभएको छ,’ भट्टराईले भने । हुम्लाभन्दा पारी करिब ५ सय नेपालीहरू रोकिएको घटनाबारेसमेत ओलीले चासो राखेका थिए ।
ओलीसँगको भेटमा चिनियाँ विदेश मन्त्री वाङले चिनियाँ लगानीमा सञ्चालित आयोजनाहरु छिटो सक्ने प्रतिबद्ध जनाएको पनि स्रोतले बतायो । यस्तै वाङले ठूलो र सानो मुलुकको सम्बन्धको उदाहरण चीन र नेपाल हो भनेका थिए ।
ओलीसँगको भेटपछि विदेशमन्त्री वाङले सत्तारूण दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले बिआरआई अवधारणाअन्तर्गत बन्ने भोतिक पूर्वाधारका परियोजनाहरू छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले बीआरआईअन्तर्गतका आयोजना नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका बताएका थिए । उनले ती आयोजना छिटो अगाडि बढ्दा दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने भन्दै त्यसका लागि पहल गरिदिन विदेशमन्त्री वाङलाई आग्रह गरेका थिए ।
एमसीसी अनुमोदनका बेलामा अवरोधकारी भूमिका निर्वाह गरेको चीनका विदेशमन्त्री वाङको यो भ्रमणले दुईदेशबीचको पारस्पारिक सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।
चीन बीआरआईबाट नेपालले फाइदा लेओस् भन्नेमा छ । नेपालले बीआरआईमा हस्ताक्षर पनि गरिसकेको छ । तर, यसको कार्यन्वयनतर्फ भने पहल किन भएन ? यसबारे केही बोल्दैन । कम्तीमा दुई कम्युनिष्ट पार्टीका अध्यक्षले चीनसँग यसबारे कुरा राखेका छन् । यद्यपि यी दुवै अध्यक्ष रहेको नेकपाको सरकारले समेत बीआरआईलाई कार्यन्वयनको तहमा लैजान अपेक्षित काम भने गरेको थिएन ।