अवैध उत्खनन् गर्ने टिपर र स्काभेटर प्रहरी नियन्त्रणमा, स्थानीय सरकार बेखवर – Nepal Press

अवैध उत्खनन् गर्ने टिपर र स्काभेटर प्रहरी नियन्त्रणमा, स्थानीय सरकार बेखवर

सिरहा । अवैध रुपमा ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक वटा जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले सिरहाको गोल बजार–१ मुक्सारबाट टिपर र जेसीबीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ना३ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना३ख ८७७७, प्र२ –०१–००१ ख ०१०१ र रा१ख २०८८ नम्बरको टिपर र नम्बर उल्लेख नभएको चेनवाला स्काभेटर शनिवार राति नियन्त्रणमा लिएको हो ।

टिपर र स्काभेटर नियन्त्रणमा लिए पनि साँचो लिएर ड्राइभरहरू फरार भएकाले चार वटा टिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खनन् स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उत्खनन् गरिरहेको अवस्थामा प्रहरी गएपछि सबै गाडीका चालक भागेकाले गाडी मात्रै प्रहरीकाे नियन्त्रणमा रहेकाे उनकाे भनाइ छ  ।

हाल सम्म नगरपालिकामा एउटा पनि खानी दर्ता नभएको गोल बजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले जानकारी दिए । सहनीले प्रहरीले टिपर नियन्त्रणा लिएको विषयमा पनि जानकारी नभएको बताए । उनले भने, ‘हाम्रोमा अहिलेसम्म जानकारी आएको छैन, प्रहरीले प्रक्रिया पुर्याएर जिम्मा लाउँछ होला ।’

प्रत्येक वर्ष विकास निर्माण सुरु भएसँगै सिरहाको गोल बजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरी क्षेत्रमा अवैध उत्खनन हुने गरेको छ । स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भए पनि उनीहरूको मौनताले मिलेमतोको आशंका स्थानीयले गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर