धनुषामा व्यापारी र प्रहरीबीच झडप, ८ राउण्ड आश्रुग्यास प्रहार – Nepal Press

धनुषामा व्यापारी र प्रहरीबीच झडप, ८ राउण्ड आश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका ६ तिनकोरिया चोकमा हुलाकी सडक अवरुद्ध गरेका व्यापारी र प्रहरीबीच झडप भएको छ ।

तीनकोरियामा रहेको एक पान पसलमा शनिबार मध्यराति आगजनी गरिए पनि नजिकै रहेको प्रहरीले थाहा नपाएको भन्दै व्यापारीहरूले प्रदर्शन गरेका हुन् ।

सडक सञ्चालन गरी छलफलमा बस्न प्रहरीले गरेको प्रस्ताव आन्दोलनकारीले मानेनन् । प्रहरीले बल प्रयोग गरेर सडक खुलाउन खोज्दा झडप भएको हो । भीड तितरवितर गर्न प्रहरीले आश्रुग्याँस प्रहार गरेको छ ।

सडक खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच सामान्य झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार प्रहरीले ८ राउण्ड आश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको छ । अहिले सडक सञ्चालनमा आइसकेको छ ।

तीनकोरिया चोकमा रहेको स्थानीय सन्तोषकुमार मण्डलको सान्ता पान पसलमा शनिबार मध्यरातमा आगजनी गरिएको थियो । आगलगीबाट करिब २० लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।

मण्डलको पसलमा दुश्मनीका कारण कसैले आगजनी गरेको तर ५० मिटरकै दूरीमा प्रहरी चौकी रहेपनि थाहा समेत नपाएको भन्दै प्रशासनको विरोधमा तीनकोरियाका व्यापारी र सर्वसाधारण सडक अवरुद्ध आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनकारीले विदेह नगरपालिकाका मेयर बेचन दास र प्रशासनविरुद्ध नाराबाजी गरेका छन् । नगरपालिकाले चोकमा सीसी क्यामेरा जडान गरे पनि बिग्रिएको र मर्मत नगराउँदा अपराध बढेको उनीहरूको गुनासो छ ।

प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएपछि नगरपालिका, आन्दोलित व्यापारी र सर्वसधारण तथा प्रहरीबीच छलफल भएको छ । छलफलका क्रममा नगरपालिकाले सीसी क्यामेरा मर्मत गराउने, घटनाको छानबिन गर्ने र स्थानीय प्रहरी दोषी देखिए कारबाही गर्ने सहमति बनेको प्रहरी प्रवक्ता डीएसपी बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर