मनास्लु ट्रेकबाट हराएका इजरायली नागरिक ७ महिनासम्म भेटिएनन् – Nepal Press

मनास्लु ट्रेकबाट हराएका इजरायली नागरिक ७ महिनासम्म भेटिएनन्

काठमाडौं । ७ महिनाअघि मनास्लु ट्रेकका दौरान बेपत्ता भएका ४९ वर्षीय इजरायली नागरिक यङ किडरन अझै भेटिएका छैनन् । नगर प्रहरीले किडरनको खोजी भइरहेपनि भेट्न नसकेको जनाएको छ।

किडरन मनास्लु ट्रेक दौरान सेती खोलामा गत सेप्टेम्बर २१ तारिखमा अन्तिम पटक देखिएका थिए । त्यहाँ समूहमा पुगेका उनी पछि एक्लै हिँड्न थालेका थिए । उनका आफन्तसमेतले खोजीका लागि धाइरहेपनि किडरन भेटिन सकेका छैनन् ।

यस्तै डिसेम्बरबाट हराइरहेको भनिएका जोर्डन नागरिक पनि अझै भेटिएका छैनन् । २०७७ सालमा हराएको भनेर उजुरी परेका एक चिनियाँ पुरुष र जर्मन महिलाको अवस्था पनि अज्ञात रहेको छ ।

गत कात्तिक २२ गते खातेङ्गा हिमालमा तीन जना फ्रेन्च नागरिकको शव भेटिएको थियो । २७ वर्षका दुई जना र २४ वर्षका ती फ्रेन्च तीनै जना पुरुष थिए। मंसिर २४ गते मुक्तिनाथ मन्दिर नजिकै ६१ वर्षीया भारतीय नागरिकको मृत्यु भएको थियो ।

चालु आर्थिक वर्षमा नेपालभर ११ जना विदेशीको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सन् २०१७ को जनवरी १ यता नेपालभर एक सय ९४ जना विदेशी नागरिकको विभिन्न कारणले मृत्यु भएको छ ।

केहीको हिमाल आरोहण र ट्रेकिङका क्रममा मृत्यु भएको छ भने केही होटेलमा सुतिरहेकै ठाउँमा मृत भेटिएका छन् ।

प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा ६ महिलासहित २१ जना, ०७४/७५ मा ९ महिलासहित ५० जना, ०७५/७६ मा ९ महिलासहित ५३ जना र ०७६/७७ मा १४ महिलासहित ५३ जना विदेशीको नेपालमा मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर