बन्यो लुम्बिनीको राजधानी गुरुयोजना, चक्रपथदेखि विमानस्थलसम्म बनाइने – Nepal Press

बन्यो लुम्बिनीको राजधानी गुरुयोजना, चक्रपथदेखि विमानस्थलसम्म बनाइने

मुख्यमन्त्री भन्छन्ः गुरुयोजना छिट्टै कार्यान्वयनमा आउँछ

रुपन्देही । लुम्बिनी प्रदेशसभाबाट स्थायी राजधानी घोषणा भएको १८ महिनापछि राजधानीको गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार भएको छ । नदी सभ्यतामा आधारित लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना तथा जग्गा अधकरण कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भएको हो । प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले यो मस्यौदा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएका छन् ।

राप्ती उपत्यका (देउखुरी)अन्तर्गत दाङ र अर्घाखाँचीको भूभाग समेटेर निर्माण गरिने राजधानीको गुरुयोजना तयार भएको छ । बुटवल मुकामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वाधार निर्माण प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजधानीको गुरुयोजना र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले जग्गा अधिकरण कार्यविधि मुख्यमन्त्री केसीलाई बुझाएका हुन् । यो कार्यविधि अबको मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयन प्रक्रियामा लैजाने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

२०७८ मंसिर १६ गतेको मन्त्रिपरिषद्को बैठकले मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा समिति बनाएको थियो । समितिले विज्ञहरु प्रयोग गरेर जग्गा अधिग्रहणको कार्यविधिलाई पूर्णता दिएको न्यायाधिवक्ता सुवेदीले बताए । प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत घिमिरेले प्रदेश राजधानी निर्माणको विषयमा सबै गम्भीर रहेको र सरकारले पास गरेपछि कार्यान्वयनमा लैजाने जानकारी दिए ।

गुरुयोजना र कार्यविधि बुझ्दै मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको गुरुयोजना निर्माण सरकारले समयमै दिनसकेको बताउँदै अब त्यसको कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिने र गुरुयोजनाअनुसार प्रशासनिक, शैक्षिक, स्वास्थ्य, औद्योगिक, यातायात सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास क्षेत्र गरी ब्लक बनाइएको बताए ।

गुरुयोजनाले भालुवाङदेखि सिसहनियाहुँदै तीन किलोमिटर दक्षिणसम्म स्थायी राजधानीका लागि पूर्वाधार बन्ने प्रस्ताव गरेको छ । जसमा प्रशासनिक क्षेत्र सिसहनिया–मौरीघाट क्षेत्रलाई र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरु र भीआईपीको आवास रहने व्यवस्था छ ।

गढवा गाउँपालिका र राप्तीको तल्लो क्षेत्रलाई कृषि एवं केही संस्थागत क्षेत्र गराउन सकिने गुरुयोजनामा प्रस्ताव गरिएको छ । गुरुयोजनाअनुसार भालुवाङ, पाखापानी, मौरीघाट, प्रशासनिक क्षेत्र हुँदै गढवा अनि लोपे हुँदै प्युठान सडकलाई जोड्ने गरी चक्रपथ प्रस्ताव गरिएको छ ।

गढवा–१ र शितगंगा नगरपालिकाका क्षेत्रलाई आधार बनाएर औद्योगिक क्षेत्र बनाउने प्रस्ताव छ । राप्ती गाउँपालिकाको सिसहनियामा प्रथम व्यापारिक केन्द्र र पाखापानीदेखि मौरीघाटसम्मको क्षेत्रलाई दोस्रो व्यापारिक केन्द्र बनाइने छ । त्यस्तै राप्ती धानपुर किनार नजिकै पूर्वतर्फ विमानस्थल बनाइने छ ।

संघीय सरकारले हालै प्रदेश राजधानी निर्माण गर्न १ अर्ब रुपैयाँ बजेट पठाएको छ । त्यसबाट १८ बिघामा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरुयोजना बनाई कार्यान्वयनमा लगिने मुख्यमन्त्री केसीले जानकारी दिए । प्रदेशसभाबाट स्थायी राजधानी भएको १८ महिनामा गुरुयोजना तयार भएको हो ।

प्रदेश सरकारले गुरुयोजना पास हुनासाथ डिपिआरको काम अघि बढाउने छ । प्रदेश सरकारले डिपिआरका लागि ३ करोड बजेट छुट्याइसकेको छ । सोही रकमबाट डिपिआर तयार गर्ने र स्थायी संरचना निर्माणको काम अगाडि बढाइने सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर