सम्पदा संरक्षण: भक्तपुर र ललितपुरलाई ताली, काठमाडौं महानगरलाई गालीको बर्षा – Nepal Press

सम्पदा संरक्षण: भक्तपुर र ललितपुरलाई ताली, काठमाडौं महानगरलाई गालीको बर्षा

काठमाडौं । गत वर्ष मध्यपुर थिमि नगरपालिका एसियन टाउनस्केप अवार्डबाट पुरस्कृत भयो । सहरी क्षेत्रको विकासमा सक्रिय यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले ऐतिहासिक तथा साँस्कृतिक सम्पदा पुनर्निर्माणमा काम गरेबापत भक्तपुरको मध्यपुर थिमि नगरपालिकालाई एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत गरेको थियो ।

सांस्कृतिक नगरी भक्तपुरका मृत अवस्थामा पुगेको परम्परागत, ऐतिहासिक धरोहर र पुरातात्विक सम्पदाहरु पुनर्निर्माण गरेर ब्यूत्याएको छ मध्यपुर थिमीले ।

गत शनिबार ललितपुर महानगरपालिकाले पुलचोकमा दुई सय वर्षअघिको ‘समय फल्चा’ पुनर्निर्माण गर्यो । नामोनिसान नभएको फल्चाको पुनर्निर्माण सकिएर उद्घाटन भयो । उक्त फल्चा फिर्ता ल्याउन महानगरले ठूलो संघर्ष गर्नुपरेको थियो । अहिले महानगरले सम्पदा संरक्षण गरेको भन्दै ताली पाएको छ ।

यसरी सम्पदा संरक्षण र पुनर्निर्माणमा मध्यपुरले अन्तर्राष्ट्रिय अवार्ड जितिरहँदा र ललितपुरले ताली पाइरहँदा काठमाडौं महानगरपालिकाले भने गाली खाइरहेको छ ।

काठमाडौं महानगरले पछिल्लो पाँच वर्षमा १३५ वटा सम्पदा पुनर्निमाण गरेको, सम्पदा संस्कृति तथा धार्मिक महत्वका क्षेत्रमा काठमाडौं महानगरबाहिर ११ वटा र महानगरको समन्वयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा, दरबार हाईस्कुल, रानीपोखरीको पुनर्निर्माण भइरहेको बताएको छ । तर गत शनिबार विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरवार क्षेत्रमा भने डबलीमा ८ वटा राष्ट्रिय झण्डा राख्न भन्दै रातारात कंक्रिटको संरचना बनाउन थालिएको छ ।

स्थानीयले समेत थाहा नपाउने गरी महानगरपालिकाले राति खाडल खनेर सिमेन्टको संरचना बनायन थालेपछि पुरातत्व विभागले पटक–पटक पत्राचार गरेको थियो । महानगरपालिकाले विभागको पत्राचारलाई बेवास्ता गर्दै कामलाई निरन्तरता दिएपछि सम्पदा बचाउ अभियानकर्मीहरुले आपत्ति जनाए ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले राखेकोे बैठकले तत्कालै वसन्तपुरबाट मापदण्डविपरीत बनेको संरचना हटाउने निर्णय गरेपछि गत सोमबार बेलुकी महानगरीय प्रहरी वृत्त जनसेवालगायत सरोकार भएका निकायले फलामको संरचना हटाए ।

गत मंगलबार बिहान उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बसन्तपुर पुगेर मेयरले वसन्तपुरमा मेयरले मनलाग्दी गरेको बताइन् । उनी अनुगमनमा जाँदा फलामको रड हटाइएको थियो । खाल्डो खनेर निर्माण भएको सिमेन्टको संरचना भने अझै वसन्तपुर दरवार क्षेत्रमा यथावत् छ ।

वसन्तपुरमा मात्र होइन कमलपोखरी, रानीपोखरी, काष्ठमण्डपको पुनर्निर्माण गर्दा काठमाडौं महानगरले सम्पदा मासेको आरोप खेप्यो । पटक पटक पुरातात्विक सम्पदामाथि आक्रमण गरेपछि सम्पदा मास्ने मेयर भन्दै सम्पदा बचाउ अभियान्ताहरुले विरोध गरिरहेका छन् ।

मयेर शाक्यले अन्तिम समयमा पनि ‘झण्डा राख्ने हो विरोध नगर्नू’ भनेको अभियान्ताहरुको दाबी छ ।

वसन्तपुरमा पहिलोपटक विवाद आएको भने होइन । यसअघि पनि महानगर सम्पदा पुनर्निर्माण गर्दा पटक पटक विवादमा तानिएको छ ।

गत चैत २ गते काठमाडौं महानगरपालिकाले डिम प्रोजेक्टको रुपमा लिएको पुनर्निमित कमलपोखरीको उद्घाटन भयो । काठमाडौं महानगरले पुनर्निर्माण गरेको कमलपोखरी पनि वसन्तपुरमा बनाइएको कंक्रिट संरचना जस्तै विवादित छ ।

यो उद्घाटन नै गैरकानुनी रुपमा गरिएको सम्पदाविद्हरुको ठहर छ । प्राकृतिक कमलपोखरीमा लेउले कुरुप देखेपछि महानगरको बजेटले पुनर्निर्माण गर्न खोजेको थियो । तर सम्पदा बचाउ अभियान्ताहरु भने सम्पदा पुनर्निर्माण नभइ विकास गर्न खोज्दा झन् सम्पदा नासिने बताउँछन् ।

धार्मिक सास्ंकृतिकदेखि प्राकृतिक महत्वको रुपमा रहेको कमलपोखरीको सरंक्षणको सट्टा विकासको नाममा महानगरले मास्ने काम गरेको सम्पदाप्रेमीहरुको आरोप छ ।

प्राकृतिक जलचर भएको कमलपोखरी कुनैबेला रसियादेखि भारतसम्म जाने हाँसहरुको विश्रामथलो थियो । सम्पदा पुनर्निर्माणको नाममा आफ्नो स्वार्थको लागि काम भएको सम्पदा बचाउ अभियान्ताको गुनासो छ । सम्पदा संरक्षणमा विकास निर्माण गर्न नहुने भन्ने नहुने सम्पदा बचाउ अभियान्ताहरु बताउँछन् ।

तर सम्वेदनशील सम्पदामा विकास गर्नैपर्ने खण्डमा सम्पदा संरक्षणको नियमभित्र बाँधिएर बस्नुपर्ने हुन्छ । पुरातत्व विभागले, संस्कृति मन्त्रालयले सम्पदा पुनर्निर्माण गर्दा के सामान चलाउन हुन्छ, के चलाउन हुँदैन भनेर छुट्याएको छ ।

तर त्यसलाई लत्याएर धमाधम कंक्रिट सिमेन्ट राखेर रातारात पोखरीमा पानी सुकाएपछि त्यहाँ भित्र डोजर हुल्ने काम महानगरले गरेको थियो । जसको विरुद्धमा अभियान्ताहरुले आन्दोलन समेत गरे ।

कमलपोखरीमा प्राकृतिक बहाब हुने ठाउँ छ । अहिले पोखरी हेर्दा मात्रै पानी जम्मा भएको देखिन्छ । तर त्यहाँ पानी जहिले पनि बगिरहन्छ । पानी बगिरहेन भने त्यहाँ लेउ जम्मा भएर भएको माछा मर्ने गर्छ । कमलपोखरीमा अहिले त्यहीं भइरहेको सम्पदा बचाउ अभियान्ता गणपतिलाल श्रेष्ठ बताउँछन् ।

महानगरले पानीको बहाबलाई ध्यान नदिँदा कमलपोखरीमा रातारात ट्याङरको पानी ल्याएर माछा राख्यो, माछा मरेर अहिले दुर्गन्धित भएको छ ।

अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘पानीको पोखरी भनेको कुनै पनि जलचर होस् पोखरी होस् त्यो पानीको एउटा सञ्चित हुने ठाउँ हो । जहाँ वर्षातमा भएको पानी त्यहाँ जम्मा हुन्छ । वर्षा रोकिएपछि त्यहाँको पानी जमिनमुनि, जमिन माथिबाट विस्तारै बगेर छेउछेउको हिटी ढुंगेधारा इनारहरुलाई रिर्चाज गर्ने सिस्टम हो ।’

तर कमलपोखरीमा यस विषयमा न कुनै अध्ययन भयो न त यस विषयमा चासो नै दियो । पोखरीभित्र डोजर हुलेर चारैतिरबाट ढुंगा राखिदियो । प्राकृतिक रुपमा पानी बगाउन ढुंगा राख्नु हुँदैन । इँटा राख्नुपर्ने इन्जिनियरहरु बताउँछन् ।

अभियान्ताहरु काम रोक्न अदालतसम्म गए । अदालतमा अझै पनि बहस चलिरहेको छ । अदालतमा मुद्दा चलिरहेको केसमा केही गर्न नपाउने हो तर महानगरले सर्वोच्चको आदेशलाई नै अवहेलना गरी कमलपोखरीको पुनर्निर्माण गरेको थियो ।

अभियान्ताहरुले कमलपोखरी बचाउको लागि थुप्रै प्रमाणहरु अदालतलाई बुझाएको छ । रानीपोखरीबाट पाठ सिक्नुपर्नेमा उल्टै सम्पदा मासेको अभियन्ता श्रेष्ठको गुनासो छ । रानीपोखरीमा पनि महानगरले यही गल्ती गरेको थियो । जसकारण तीव्र विवाद भएपछि सरकारले महानगरलाई पुनर्निर्माणको लागि दिएको जिम्मेवारी खोस्यो । काष्ठमण्डपको पुनर्निर्माणको विवादमा मुछिएको थियो महानगर ।

पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्दा सकेसम्म पुरानै सामान प्रयोग गर्नुपर्छ । भौतिकरुपमा बलियो छ भने त्यही प्रयोग गर्न पर्छ, तर काष्ठमण्डपमा त्यसो भएन । थोरै पहिलाको चलाइयो अरु काठ इँटा बलियो छ, छैन परीक्षण नगरी त्यसलाई फालेर नयाँ किन्यो । पछि मूर्ती राख्ने विषयमा समेत विवाद भयो ।

सर्वोच्चले पुरानो मूर्तीलाई मर्मत गरेर तान्त्रिक पूजाविधि अनुसार क्षमा पूजा गरेर त्यहीं राख्नुपर्छ भनेर आदेश दिएको छ । अहिले पनि कार्यान्वय भएको छैन ।
यस्तै काठमाडौं महानगरपालिका २७ को छुस्याबहाल अगाडिको बहीलाछीमा पनि वडा कार्यालय बनाउन लागेको ठाउँमा मध्यकालीन पाटी रहेको भन्दै विरोध भयो ।

मध्यकालीन पाटीमा वडा कार्यालय बनाउन जग खन्दा पुरातात्विक अभिलेख भेटिएको थियो । स्थानीय र अभियान्ताहरुले विरोध गरेपछि निर्माण कार्य रोकिएको थियो ।
पुरातात्विक सम्पदा पुनर्निर्माण गर्दा संवेदनशीलतालाई हेर्नुपर्ने सम्पदा बचाउ अभियान्ता आलोकसिद्धि तुलाधर बताउँछन् । ‘सबै कुरा थाहा नहुन सक्छ । प्रश्न उठिसकेपछि उहाँले विचार गर्नुपर्ने हो, तर मेयर पेलेरै जाने मुडमा हुनुहुन्छ’, उनले भने, ‘उहाँले कन्ट्रोभर्सियल कुनै पनि काम नगर्नुपर्ने हो । उहाँले आफ्नै राजनीतिक भविष्यमाथि खेलिरहनु भएको छ ।

उपमेयरको दोहोरो रुप, पानीमाथि ओभानो बन्ने प्रयास

काठमाडौं महानगरपालिकाका तालमेल नहुँदा उपमेयरले भन्दा बढी मेयरले गाली खानु परेको छ । मेयर विद्यासुन्दर शाक्यले बनाएको संरचनामा उपमेयर खड्कीले ताला लगाउने र मेयरले झण्डा राख्न बनाइएको सिमेन्टको कंक्रिटमा उपमेयरले फलाम काट्न निर्देशन दिइन् ।

‘रानीपोखरीदेखि वसन्तपुरमा मैले स्ट्यान्ड लिएँ । किनकि सम्पदा भनेको हाम्रो देशको अमूल्य सम्पत्ति हो । अमूल्य सम्पत्तिलाई प्रहार गर्न पाइँदैन भनेर स्ट्यान्ड लिएँ,’ खड्गीले एक कार्यक्रममा भनिन् । उनले यसो भनिरहँदा ती संरचना निर्माण गर्दा उनी आफैले सहमति जनाएकी थिइन् । उनले आफूलाई सम्पदाप्रेमी देखाउन खोजे पनि सम्पदा पुनर्निर्माण गर्दा उनको पनि उतिकै जिम्मेवारी छ ।

काठमाडौं महानगरपालिकाको कार्यपालिकाले गर्ने निर्णय नगरसभाले पारित गर्छ । अहिलेसम्म कार्यपालिका र नगरसभामा सबै निर्णय सर्वसम्मत निर्णय भएका मेयर विद्यासुन्दर शाक्यको दाबी छ ।

कार्यपालिकाको निर्णय र नगरसभाको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘निर्णय नमान्ने हो भने पहिले नै भन्नुपर्यो । यो निर्णय ठीक छैन भनेर नगरसभाले रातो किताब निकालेर नीति कार्यक्रम र बजेट पास गरिसकेपछि यतातिर राम्रो भयो भने त्यो मैले गरेको भन्ने, नराम्रो भयो भने मेयरले गरेको भन्न आवश्यक छैन ।’

युनेस्को चेतावनी, पुरातत्व विभाग मौन

विश्व सम्पदास्थलमा गरिने मापदण्डविपरीतका गतिविधिले पटकपटक खतराको सूचीमा राख्ने चेतावनीसहितको पत्र आउने गरेको छ । काठमाडौं उपत्यकामा रहेका विश्वसम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कंक्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतराको जोखिम बढेको हो ।

युनेस्कोले सम्पदास्थलमा विश्व सम्पदाले तोकेको मापदण्डविपरीत संरचना बनाउँदा पटकपटक पत्राचार गर्ने गरेको छ । स्थानीय तह सञ्चालन ऐन २०७४ मा आफ्नो क्षेत्रभित्रका सम्पदा स्थलको संरक्षण र संवद्र्धन गर्ने दायित्व स्थानीय सरकारलाई दिएको छ ।

काठमाडौं महानगरपालिकाले कमलपोखरी, वसन्तपुर लगायतको सम्पदामा ज्यादती गर्दासमेत पत्र पठाउनेबाहेक केही काम गर्न नसकेको कतिपयको गुनासो छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले विश्वसम्पदा सूचीमा गैरकानूनी काम नगर्न पत्र काटेको बताए । उनले भने, ‘हामीले थप काम अगाडि नबढाउनू भनेका छौं ।’

महानगरका मेयर विद्या सुन्दर शाक्यले बसन्तपुरमा बनाएको संरचना भत्काउन परे आफू तयार रहेको बताए । तर त्यसका लागि आवश्यक छलफल गर्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *