उद्योगमा १२ घण्टा लोडसेडिङ ! कुलमान भन्छन्- एक महिनामा समाधान हुन्छ – Nepal Press

उद्योगमा १२ घण्टा लोडसेडिङ ! कुलमान भन्छन्- एक महिनामा समाधान हुन्छ

काठमाडौं । भारतबाट हुने विद्युत खरिदमा समस्या आएसँगै नेपालका उद्योगधन्दामा लोडसेडिङ सुरू भएको छ । विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म बिजुली काट्न थालेको उद्योगीहरूले बताएका छन् ।

केही दिनअघि प्राधिकरणले पत्रकार सम्मेलन गरी कुनै हालतमा लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल उत्पन्न हुने समस्या केही दिनमा नै समाधान हुने बताएका थिए । प्राधिकरणले हालसम्म उपभोक्तालाई वितरण गर्नें बिजुली काटेको छैन । तर, उद्योगहरूले भने विद्युत आपूर्तिमा अवरोधका कारण दैनिक करोडौं क्षति खेपिरहेका छन् ।

मोरङ उद्योग संघठनका अध्यक्ष सुयश प्याकुरेलले अहिले दैनिक १२ घण्टा विद्युत कटौती भइरहेको बताए ।

उनले भने, ‘प्राधिकरणले दैनिक २०/२२ कारोड घाटा हुन्छ भनेर उद्योगलाई विद्युत काटिरहेको छ । तर, उद्योगमा १२ घण्टा लोडसेडिङ हुँदा दैनिक ५० देखि १०० करोडसम्म घाटा हुन्छ ।’

उनी थप्छन्, ‘ऊर्जामन्त्री उपभोक्ताहरूलाई विद्युतीय चुलो प्रयोग गर्न भन्दै भाषण गर्नुहुन्छ । कुलमान घिसिङले पनि केही समयअघि सिमेन्ट उद्योगमा नै गएर सकेसम्म बढी विद्युत प्रयोग गर्न प्रोत्साहन दिनुभएको थियो । त्यसअनुसार उद्योगहरूले आफ्नो क्षमता विस्तार गरे । तर, अहिले १२ घण्टा विद्युत नै आउदैन ।’

प्राधिकरणले स्वीकार नगरे पनि उद्योगहरूमा लोडसेडिङ नै भइरहेको उनको भनाइ छ ।

‘कुलमानजीले लोडसेडिङ भन्ने शब्द सुन्न चाहनुहुन्न । तर, औद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ भइरहेको छ,’ उनले भने ।

मोरङ-सुनसरी औद्योगिक करिडोरमा १२ घण्टासम्म विद्युत काटिने गरेको प्याकुरेल बताउँछन् ।

‘जिल्लाको विद्युत प्राधिकरणले माथिबाट नै निर्देशन आएको भन्दै १२ घण्टा विद्युत कटौती गरिरहेको छ,’ उनले भने ।

एक महिनाअगाडि सुरू भएको रुस र युक्रेनको युद्धको बहानामा अहिले लोडसेडिङ गर्नु स्वाभाविक नभएको पनि उनको भनाइ छ ।

उनले भने, ‘१२ रूपैयाँमा खरिद गरिएको विजुलीलाई २० भारु भनेर प्रचार गरिएको छ । तर, बेलुका ८ देखि ११ बजेसम्म मात्रै प्रतियुनिट २० भारु पर्ने हो । अन्य समय ११ देखि १२ रूपैयाँमा नै विद्युत खरिद हुन्छ ।’

१२ घण्टा मात्रै उद्योग सञ्चालन हुँदा उत्पादन खर्च वृद्धि भई वस्तुको मूल्यवृद्धि हुन जान्छ । उद्योगीले २० प्रतिशतभन्दा धेरै मूल्यवृद्धि गरे भने यही सरकारले कालोबजारी गरेको भनेर जेलसमेत हाल्ने गरेको प्याकुरेलले गुनासो गरे ।

प्याकुरेलका अनुसार डिजेल किनेर पनि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको छ । उद्योगलाई पूर्वजानकारी नै नदिइ विद्युत काट्ने र फोन गरेर सोध्दा ‘माथिको निर्देशन’ भन्ने गरिएको उनले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताले बत्ती जाने-आउने टुंगो नभएको सुनाए ।

उनले भने, ‘विद्युत कतिखेर जान्छ र कतिखेर आउछ भन्ने नै भर छैन् । प्राधिकरणले पनि कुनै जानकारी गराएको छैन । हामीले अर्थमन्त्री जनार्दन शर्मासँग समस्याका बारेमा छलफल गरिरहेका छौं । भारतमा नै विद्युत महँगो भएको कारणले समस्या भएको भन्ने कुरा आएको छ ।’

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरूलाई बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म विद्युत कटौती गरिएको स्वीकार गरेका छन् ।

उनले भने, ‘अहिले बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म उद्योगमा विद्युत कटौती भएको छ । धेरैमा यो समस्या १ महिनासम्म रहन्छ ।’

उनले विद्युत खरिदका लागि प्राधिकरणले भारतको विहार राज्यसँग पनि कुरा गरिरहेको जानकारी दिए ।

अहिले सिमेन्ट र स्टीलको बजारमा त्यति धेरै माग नभएको भन्दै उनले विद्युत आएको समयमा उत्पादन गरेर पनि माग धान सकिने दाबी गरे । धेरैमा यो समस्या १ महिनासम्म रहने उनको भनाइ छ ।

‘भारतमा समेत धेरै उद्योगहरू विद्युत नभएको कारणले केही समय मात्रै सञ्चालन हुने गरेको अवस्था छ । विश्वभर नै विद्युतको समस्या रहेको छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर