पार्टीले दोधारे नीति लिएको भन्दै विप्लव नेकपाका नेता चापागाईँले दिए राजीनामा – Nepal Press

पार्टीले दोधारे नीति लिएको भन्दै विप्लव नेकपाका नेता चापागाईँले दिए राजीनामा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको निर्णयप्रति असहमति जनाउँदै पार्टीका नेता  भीम चापागाईँले पार्टीमा नरहेको घोषणा गरेका छन् ।

पार्टीका व्यूराे सदस्य रहेका नेता चापागाईँले कपिलवस्तुमा केन्द्रीय समिति बैठक सकिए लगत्तै सोमबार विज्ञप्तिमार्फत पार्टीमा नरहेको घोषणा गरेका हुन् ।

क्रान्तिकारी पार्टीले स्पष्ट राजनीतिक लाइन पास गर्नुपर्नेमा दोधारे नीति लिएको भन्दै त्यसमा आफ्नो असहमति रहेको चापागाईँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले नेतृत्व तहमै आएको सैद्धान्तिक विचलनकै कारण बैठकले स्पष्ट राजनीतिक लाइन लिन नसकेको बताएका छन् ।

पार्टीको मुख पत्र रातो खबरको जिम्मेवारी सम्हाल्दै मनाङको सेक्रेटरीसमेत भइसकेका चापागाईँले यसअघिको चुनाव बहिस्कारको क्रममा होनहार योद्धाको शहादत र कयौँ योद्धा घाइते हुनको साथै दर्जनौँ योद्धा अझै पनि जेलमै रहेको अवस्थामा पार्टीले घुमाउरो तरिकाले पार्टी संसदीय भासमा नै फस्ने खेलमा लागेको बताएका छन् ।

‘संसदीय चुनाव धोको हो भन्दै यसअघि बहिस्कार गर्ने क्रममा होनहार योद्धाको शहादत र कयौँ योद्धा घाइते हुनको साथै दर्जनौँ योद्धा अझै पनि जेलमै छन् । घुमाउरो तरिकाले पार्टी संसदीय भासमा नै फस्ने खेल नेतृत्वबाट नै हुनु आफैमा ठूलो विडम्बना हो । जुन कल्पनाभन्दा बाहिरको कुरा थियो । यसबाट म लगायत सम्पूर्ण क्रान्तिकारी योद्धा, मुक्ति कामी जनसमुदाय र क्रान्तिकारी आन्दोलनप्रति ठूलो कुठाराघात भएको छ । पार्टीको केन्द्रीय समितिले लिएको दोधारे राजनीतिक लाइनप्रति असहमति राख्दै आजका मितिबाट म नेपाल कम्युनिस्ट पार्टीमा नरहेको यसै विज्ञप्तिमार्फत जानकारी समेत गराउँदछु।’ विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर