शंकरनगरमा बन्यो साढे ११ करोडको भ्यू टावर, आज एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने – Nepal Press

शंकरनगरमा बन्यो साढे ११ करोडको भ्यू टावर, आज एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

रुपन्देही । रुपन्देहीको मध्यभागमा रहेको तिलोत्तमा नगरपालिका– २ स्थित शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा साढे ११ करोडमा भ्यू टावर तयार भएको छ । भ्यू टावर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्दैछन् ।

तिलोत्तमा नगरपालिका र शंकरनगर वनबिहारको संयुक्त लगानीमा निर्माण भएको बहुउद्देश्यीय भ्यू टावर आर्थिक वर्ष २०७३–०७४ मा ठेक्का सम्झौता भएको थियो ।

२०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यू टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यू टावरको पहिलोदेखि छैठौ तलासम्म व्यवसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यअवलोकन हुनेछ । १० तले भ्यू टावर १ सय ३४ फिट उचाइ छ ।

तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यू टावर प्राकृतिक निर्माण सेवाले बनाएको बताए । भ्यू टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।

लिफ्ट सुविधासहित बनेको भ्यू टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्ज रुम, डिपामेन्र्ट स्टोर, अपिस रुम, एटेज ट्वाईलेट रुम बास मिल्ने गरी बातानुकूलित कोठा, लाइब्रेरीलगायतका संरचनाहरू बनाइएको छ ।

भ्यू टावरसंगै २ विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन् । भ्यू टावरको उत्तरतर्फ स्वीमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण भइरहेको छ । त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ । गत चैतमा केएच प्रशान्त जेभीसंग साढे ४ करोडको ठेक्कामा बाँकी कामका लागि सम्झौता भएको उनले बताए । बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ ।

भ्यू टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आखाँले सजिलै देख्न सकिने छ भने दुरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर