रजयछापका आगलागी पीडितलाई एमाले नेता रत्न गौतमले दिए ६ लाखको राहत सामग्री
रामेछाप । रामेछाप नगरपालिका– ७ स्थित रजयछाप सुकाजोरजका आगलागी पीडित ११ परिवारलाई नेकपा एमालेका वागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले राहत उपलब्ध गराएका छन् ।
निर्माण व्यवसायीसमेत रहेका रामेछापका नेता गौतमले गत चैत १२ गतेको आगलागीबाट घरवासस गुमाएका पीडितलाई ६ लाख रुपैयाँ बराबरको जस्तापाता, खाद्यान्न, कम्बललगायत अत्यावश्यक सामग्री उपलब्ध गराएको एमाले रामेछापका जिल्ला कमिटी सचिव पुरुषोत्तम कडरियाले जानकारी दिए ।
प्रदेश कमिटी सदस्य गौतमको तर्फबाट पठाइएको राहत सामग्री सोमबार आगलागीस्थलमै पुगेर एमालेका जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठले हस्तान्तरण गरेका हुन् । राहत वितरण गर्न प्रदेशसभा सदस्य तथा वागमतीका पूर्वमन्त्री शान्ति प्रसाद पौडेल,प्रदेश कमिटी सदस्य गोपाल श्रेष्ठ,जिल्ला कमिटी उपसचिव प्रकाश कुमार कार्की,रामेछाप नगरपालिकाका मेयरका प्रत्याशी रोशन पाख्रिन,जिल्ला कमिटी सदस्य सीता केसीसहितका एमाले नेताहरु आगलागीस्थलमा पुगेका थिए ।
नेवार र मगर समुदायको बसोबास रहेको सो बस्तीमा गत शनिबार आगलागी भएको थियो ।
गाउँको नजिकै रहेको जंगलमा लागेको डढेलो गाउँमा पसेको बताइएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि धनमाल नष्ट भएको छ भन् चौपाया समेत जलेर मरेका छन् ।
गाउँमा आगलागी भएको खबर थाहा पाएपछि नेकपा एमाले वाग्मती प्रदेश सदस्य तथा रामेछापबाट निर्वाचित प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलसहितको एमाले नेताहरूको टोली तत्कालै घटनास्थलमा पुगेर केही खानेकुरा दिएर फर्केका थिए ।
उनीहरुले बासको लागि जस्तापाताको व्यवस्था गर्ने प्रतिबद्धता जनाएर फर्किएको तीन दिनपछि स्थानीयले जस्तापातासहित अत्यावश्यक राहत सामग्री पाएका छन् । एमाले जिल्ला कमिटीले गौतमसँग समन्वय गरेर राहत सामग्री जुटाएको हो ।
राहत सामाग्रीमा प्रत्येक घर परिवारलाई तीन बण्डलको दरले पुग्ने गरी रङ्गिन जस्तापाता समेटिएको छ । त्यस्तै ३३ बोरा चामल, सय केजी चिउरा, ६ बोरा दाल, ३३ लिटर खाने तेल, एक बोरा चिनी, दुई बोरा स्वायविन, २२ केजी नुन, चियापत्ति, लुगा धुने साबुन, नुहाउने साबुन लगायतका राहत सामग्री पीडित परिवारलाई दामासहीले उपलब्ध गराइएको नेकपा एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेले जानकारी दिए ।
पूर्वमन्त्री पौडेलले पीडितको आवासको लागि एकीकृत बस्ती वा जनता आवास कार्यक्रमको लागि पहल गर्ने बताए । एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले आफूहरू पीडितको साथमा रहेको र कुनै अप्ठेरो परेमा सम्पर्क गर्न आग्रह आग्रह गरे ।
एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले राहत सहयोग राजनीति गर्न नभइ पार्टी र पार्टी नेता रत्न गौतमले नितान्त मानवीय सहयोग गरेको बताए ।