ज्ञानसँगै सीप पनि बाँड्दैछ ज्ञानोदय, के हो क्याड फोडी ? (भिडिओ)
काठमाडौं । महंगो स्कूलमा १० वर्ष पढिसकेपछि विद्यार्थीले के प्राप्त गर्छन् ? एक थान प्रमाणपत्र । त्यो प्रमाणपत्रले उच्च तहमा अध्ययनको ढोका खोल्नेबाहेक अरु केही काम दिँदैन ।
नेपालको यही दोषपूर्ण शिक्षा प्रणालीले गर्दा विद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेका छन् । उनीहरूसँग एसईई पास गरेको प्रमाणपत्र त हुन्छ, तर कुनै सीप सिकेका हुँदैनन् । यसरी उत्पादन भएको जनशक्तिको ठूलो हिस्सा निम्नस्तरको कामको खोजीमा विदेशिने गरेका छन् ।
यही तीतो यथार्थलाई मध्यनजर गर्दै एउटा निजी विद्यालयले नयाँ पहल गरेको छ । ललितपुरको खोकनामा रहेको ज्ञानोदय बालबाटिका उच्च माध्यमिक विद्यालयले नयाँ प्रविधिलाई अंगालेकाे छ । कोरोना महामारीपश्चात विद्यालयले नयाँ तरिकाले सोच्न थाल्यो ।
कोरोना महामारीकालमा अरु विद्यालयजस्तै ज्ञानोदयले पनि भौतिक उपस्थितिमा केन्द्रीत सिकाइलाई अनलाइनमा ढाल्न बाध्य भयो । तर, शिक्षक शिक्षिकाहरू प्रविधिमा अभ्यस्त थिएनन् । ३० वर्षदेखि शिक्षण पेशामा आवद्ध भए पनि उनीहरूसँग अनलाइन कक्षामा पढाएको अनुभव थिएन । तर, उनीहरूसँग दुईवटा मात्रै विकल्प थिए । पहिलो, प्रविधिलाई आत्मसात गरेर नयाँ प्रविधि सिकेर अनलाइन माध्यमबाट पढाउने । दोस्रो, शिक्षण पेशा नै छोडेर अरु कुनै पेशा अंगाल्ने ।
शिक्षकहरूले प्रविधि सिक्न रुची देखाए । विद्यालयले उनीहरूलाई छोटो समयमा तालिम दिएर दक्ष बनायो । पहिले ल्यापटपसमेत चलाउन नजानेका शिक्षकहरू छिट्टै अनलाइनमा पढाउन सिपालु बने । दुई वर्षसम्म उनीहरूले अनलाइनबाट पढाए । यही कालखण्डमा हो, विद्यालयमा शैक्षिक पाठ्यक्रमलाई नै परिमार्जन गर्नुपर्ने खाँचो महसुस गरियो । शिक्षकहरूले मनन गरे, अहो यत्रो वर्ष पढाएर हामीले विद्यार्थीलाई सर्टिफिकेट बाहेक के दियौं त ? अनि, परम्परागत पाठ्यक्रमलाई बदलेर कसरी सिपमूलक बनाउन सकिन्छ भन्नेमा टिमभित्र छलफल सुरू भयो ।
अब १० पास भएर जाँदा विद्यार्थीलाई सर्टिफिकेटसँगै के दिने त भनेर बहस गर्ने अवसर कोभिडले नै दिएको ज्ञानोदय बालबालिका उच्च माध्यमिक विद्यालयका आईसीटी इन्चार्ज निरज रानामगरले बताउँछन् ।
विद्यार्थीलाई अब सर्टिफिकेट मात्र होइन सीप पनि सँगै दिनुपर्छ भनेर पहिलो प्रयास स्वरूप स्कूलले आईसीटी ल्याब सुरूआत गरेको छ । यस ल्याबमा विद्यार्थीले सानैदेखि डिजिटल आर्ट, मोडलिङ, एनिमेसन, फोटोग्राफी, भिडियोग्राफी, सुटिङ, आर्किटेक्चरल डिजाइनिङ लागि प्रयोगात्मक अभ्यास गर्छन् । आईसीटीमा पोग्रामिङ, रोवट, कम्प्युटरको हार्डवेयर र नेटवर्किङका कुराहरू सिक्छन् ।
स्कूलले आईसीटी शिक्षामा ‘क्याड फोडी’ कोर्स डिजाइन गरेको छ । विद्यार्थीले परम्परागत पाठ्यक्रममा मात्रै केन्द्रित नगराएर एउटा सीपको आधारमा सिकाइ केन्द्रित गरौं भनेर सुरू गरेको उनी बताउँछन् ।
रानामगर भन्छन्, ‘कोभिड १९ पछिको दुई वर्षमा हामीले हेर्दा धेरै पेशा, जागीरहरू सधैको लागि बन्द भएको पायौं । त्यसको एउटै कारण प्रविधि हो । किनभने प्रविधि एकदमै माथि गइसक्यो ।’
उनको बुझाइमा अझै पनि २० वर्ष अघिकै परम्परागत पाठ्यक्रम रुमल्लिइरहेका छन् नेपालका स्कूलहरू । जिल्लास्तरीय परीक्षा, एसईई परीक्षा २० वर्षअघि जस्तो थियो अहिले पनि त्यस्तै छ ।
‘घोक, जान, १२ पाना लेख एउटा सर्टिफिकेट हातमा आउँछ । तर विद्यार्थीसँग कुनै सीप हुदैन,’ उनी नेपालको शिक्षा प्रणालीप्रति असन्तुष्ट हुँदै भन्छन्, ‘त्यसपछिको एउटै विकल्प विदेश पलायन हुनु हो ।’
तर धेरै ढिला भए पनि अब स्कूलमा आइसीटी शिक्षामा क्याड फोडी राखेको उनले बताए ।
रानामगर भन्छन्, ‘आईसीटी इन एजुकेसनलाई पनि बोर्डमा, किताबमा मात्रै सीमित राखेर कसरी हुन्छ ? हाम्रोमा पनि विद्यार्थीले पहिला बोर्डमा मात्रै हेर्थे, अहिले अडिओ भिजुअलमा मात्रै नभएर ‘भर्चुअल रियालीटी शो’ का कन्सेप्टहरू प्रयोग गरेर बुझाउँछौं । पढेका कुराहरूलाई फोर डाइमेन्सनमा देखाएर बुझाउँदा विद्यार्थीले सजिलै सिक्दा रहेछन् ।’
क्याड फोर डीसहितको आईसीटी पाठ्यक्रमको उद्देश्य भनेको विद्यार्थीहरू एसईई पास हुँदा सर्टिफिकेटसँगै सीप पनि लिएर जाउन् भन्ने हो । यसले कतिपय विद्यार्थीलाई पार्टटाइम जागीर खाएर पछाडिको पढाइमा पनि सहयोग गर्न सक्ने उनको बुझाइ छ ।
‘अबको १० वर्षमा धेरै जागीरहरू हराउँदै जानेछन् । अब उच्च माग हुन सक्ने जागीर के-के हुन भनेर विद्यार्थीले त्यसमा फोकस गर्न सकुन् भन्ने मूल उद्देश्य हो । उनीहरू ग्याजेट खेल्छन् । रोवटमा सहयोग गर्छन् । ड्रोन उडाएर सिक्छन्’ उनले भने ।
ज्ञानोदयले सबैभन्दा पहिलो आईसीटी ल्याबको महत्व किन देख्यो ?
आईसीटी इन्चार्ज रानामगर भन्छन्, ‘विद्यालयमा एउठा ठाउँ हुनुपर्छ जहाँ विद्यार्थी भाइबहिनीले प्रविधिका कुरा, सीपका कुरा सिकुन् र आफैं अनुसन्धान पनि गरुन् । त्यस हिसाबले आईसीटी ल्याबको महत्व देख्यौं ।’
तर, आईसीटी ल्याब मात्रै पर्याप्त नहुने र कोर्स नै आवश्यक पर्ने महसुस भएको उनले बताए ।
‘त्यही भएर क्याड फोडी डिजाइन गरेका हौं,’ उनले भने ।
क्याड फोडीभित्र सिनेमाटाेग्राफी, फोटोग्राफी, स्टुडियो, ड्रोन, रेकर्डिङ, डिजिटल आर्ट, टेलिभिजन, मोडलिङजस्ता विषयहरू समावेश गरिएको छ ।
रानामगर भन्छन्, ‘हामीले यसलाई अतिरिक्त क्रियाकलापको रूपमा खोजेकै छैनौं । यसलाई एकदेखि १० कक्षासम्मका विद्यार्थीले अनिवार्य रूपमा लिनुपर्छ । नो च्वाइस ।’
स्कूलले १ कक्षा देखि १० कक्षासम्मकै पाठ्यक्रममा क्याड फोडी समावेश गरेको छ, जुन सबैका लागि अनिवार्य हो । क्याड फोडीमा सिकेको सीपले विश्वका नागरिक बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।
ज्ञानोदयमा हप्तामा दुईवटा पिरियड क्याड फोडीको पढाइ हुन्छ । विद्यार्थीले घरमा पनि अभ्यास गर्छन्, सिक्छन् र प्रोजेक्ट स्कूलमा लिएर आउँछन् ।
सानै उमेरमा विद्यार्थीलाई के अतिरिक्त दिन सकिन्छ त भनेर आइसीटी सुरू गरेको विद्यालय बताउँछ ।
‘सानै उमेरमा एसईई पास गरेपछि विद्यार्थीसँग सीप पनि हुन्छ, सर्टिफिकेट पनि हुन्छ । पढाई खर्च निकाल्न सक्ने भयो र एउटा ग्लोबल सिटिजनको राम्रो काम देखाउन सक्छ,’ सहायक प्रधानाध्यापक भानु ए भन्छन् ।
प्रविधि एकदमै उच्चस्तरमा माथि गइरहेकाले अब आउने पुस्तालाई समस्या हुने उनको बुझाइ छ ।
उनी भन्छन्, ‘पाठ्यक्रम पहिला के थियो, अहिले पनि त्यही छ । तर, प्रविधि धेरै विकास भइसक्यो । धेरै जागीरहरू सधैभरीका लागि बन्द भइसके र अब धेरै जागिरहरू बन्द हुन्छन् । त्यसलाई मध्यनजर गर्दै सीपमूलक पढाइलाई जोड दिन क्याड फोडी सुरू गरेका हौं ।’
यस्तो अभ्यास देशैभर विस्तार गर्नुपर्ने उनको राय छ ।