काठमाडौं महानगर– गठबन्धन भन्दा निर्णायक हुनसक्छन् ६३ हजार यी मतदाता
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक वातावरण गर्माउँदै गइरहेको छ । अहिले दलहरू निर्वाचन निर्वाचन जित्ने रणनीति बनाउँन जुटिरहेका छन् । निर्वाचन जित्ने समिकरणको खोजी गर्दै दलहरू तीब्र दौडधुपमा छन् । अब एमालेविरुद्ध सत्ता गठबन्धन हुने लगभग निश्चित भइसकेको छ ।
एमालेविरुद्ध महागठबन्धन बनेसँगै देशको संघीय राजधानी सहर काठमाडौं महानगरपालिकाको चुनावी चासो झनै रोचक बन्दैछ । यसको नेतृत्व हत्याउन प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीचमा रस्साकस्सी चलिरहेको छ ।
यहाँ एमाले–कांग्रेस मुख्य प्रतिस्पर्धी देखिएका छन् भने, नेकपा(एस)ले कांग्रेससँगको गठबन्धनसहित मेयरमा दाबी गरिरहेको छ । यस्तोमा देशको सबैभन्दा बढी मतदाता संख्या रहेको त्यसमाा पनि राजधानी सहर रहेकाले धेरैको ध्यान यतातर्फ केन्द्रीत छ ।
२०७४ को परिणाम यस्तो
२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पद नेकपा एमालेले जितेको थियो, भने उपमेयर कांग्रेसले जितेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको चुनावी तालमेलमा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत पाएका थिए ।
उपमेयरमा भने कांग्रेसकै हरिप्रभा खड्की ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी भएकी थिइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेसँगको तालमेलमा लडेका राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत मात्रै ल्याएका थिए ।
मेयरमैं ‘वैकल्पिक शक्ति’का नामले प्रचारित दुईवटा दलका उम्मेदवारहरूले आश्चर्यजनक रूपमा झण्डैं ४२ हजार मत बटुल्दा अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम दास डंगोलले ७ हजार ९ सय ६ मत ल्याएर पाँचौ स्थानमा थन्किएका थिए ।
वैकल्पिक शक्तिका रूपमा प्रचारित विवेकशिल नेपाली दलबाट चुनाव लडेकी
रन्जु न्यौपाने (दर्शना)ले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो स्थान हासिल गर्दा स्वतन्त्रबाट उम्मेदवार दिएका किशोर थापा १८ हजार ४ सय ९६ मत ल्याएर चौथो भएका थिए । उनलाई तत्काल निर्वाचन आयोगमा दर्ता हुन बाँकी रहेको रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीको सहयोग थियो ।
एमाले–कांग्रेसबीच मुख्य प्रतिस्पर्धा
विगतको जस्तै यसपटक पनि मुख्य प्रतिस्पर्धा एमाले–कांग्रेसबीचमै हुने निश्चित देखिन्छ । दुबै दलले अहिले आफू सहजै जित्ने दाबी गरिरहेका छन् ।
विगतको निर्वाचनमा राप्रपासँगको तालमेलमा निर्वाचन जितेको एमाले यसपटक एक्लै निर्वाचन जित्ने दाबी गरिरहेको छ । उसले गत निर्वाचनमा मेयरसँगै महानगरका ३२ वडा मध्ये १८ वटामा जित हासिल गरेको छ । जसमा वडा नम्बर १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ नम्बर वडाहरू थिए । एमालेले यसपटक नेतृत्वसहित थप अन्य वडामा पनि निर्वाचन जित्ने दाबी गरिरहेको छ ।
यद्यपी विगतको मतमा एमालेले कति मत जोगाउछ र कति थप गर्छ भन्नेमा उसको दाबी निर्भर हुन्छ । एमालेबाट जितेका १८ मध्ये २ जना वडाध्यक्ष नेकपा एसमा लागेका छन् ।
मेयर शाक्यले पाएको ६४ हजार ९ सय १३ मतमध्ये राप्रपासँग तालमेल भएकाले केही अंश उसको पनि हुन्छ । जुन फेरी तालमेल हुने नहुने निश्चित भइसकेको छैन् । नभए उसको मत काटिनसक्छ ।
एमालेअघि उभिएको सबैभन्दा चुनौतीपूर्ण प्रश्न नै नेकपा (एस)ले काट्ने मत हो । उसको मत काटिने मात्र होइन, त्यो गएर प्रतिस्पर्धी गठबन्धनमा थपिने सम्भावना पनि छ ।
एमाले नेताहरु सो पार्टीले दुई देखी तीनहजारभन्दा बढी मत नकाट्ने दाबी गर्छ । तर नेकपा(एस) का नेताहरु भने ८ हजारभन्दा बढी मत आफूहरूले सहजै काट्ने दाबी गर्छन् ।
यता कांग्रेसले २०७४ को मतमा नथपेसम्म चुनाव जित्ने सम्भावना नै देखिँदैन् । उतिबेला कांग्रेसका उम्मेदवार जोशीले ४५ हजार २ सय ६९ मत पाएका थिए । जुन निर्वाचित एमाले उम्मेदवार शाक्यले पाएकोभन्दा १९ हजार ६ सय ४४ मत कम हो । यद्यपी उपमेयरमा भने खड्कीले ५८ हजार ९ सय ५२ मत पाएकी थिइन् ।
कांग्रेसले वडा नम्बर ५, ६, ८, १०, ११, १६, १७, १९,२०, २५, २६, २८,२९ र ३० गरी १४ वटा वडा जितेको थियो ।
उतिबेला पाएकोभन्दा धेरै मत थप्नुपर्ने भएकाले काठमाडौंमा कांग्रेसले विभिन्न रणनीति बनाउनुपर्ने देखिन्छ । यसका लागि उसले सत्तारूढ गठबन्धन दलबीच चुनावी तालमेलदेखि लिएर वैकल्पिक शक्तिका नामले प्रचारित दलले काटेको मत फर्काउनेसम्मको रणनीति बनाइरहेको छ ।
सत्तारूढ दलहरूबीचमा तालमेल भएपनि महानगरमा कांग्रेसलाई खासै फाईदा पुग्ने देखिन्न । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार डंगोलले जम्मा ७ हजार ९ सय ६ मत मात्रै पाएका थिए । नेकपा(एस)ले धेरै मत तान्छ भन्ने विश्वास कांग्रेसलाई छैन् । उता गठबन्धनमा रहेको अर्काे दल जनता समावजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष रहेका डा. बाबुराम भट्टराईको दल नयाँ शक्ति पार्टीका पबित्र बज्राचार्यले उतिबेला ६ हजार ५० मत ल्याएका थिए । यी सबै मत जोड्दा पनि निर्णायक मत हुँदैन् । त्यसैले कांग्रेसले थप मत तान्नुपर्ने देखिन्छ ।
‘वैकल्पिक मत’ निर्णायक
यसरी कांग्रेस–एमालेबीच सोझो प्रतिस्पर्धा देखिदाँ २०७४ मा विवेकशिल नेपालकी दर्शना र स्वतन्त्र उम्मेदवार थापाले पाएको ४१ हजार ९ सय ३५ मत नै निर्णायक हुने देखिन्छ ।
२०७४ को निर्वाचनताका वैकल्पिक शक्तिका नाममा प्रचारित विवेकशिल नेपाली दल र साझा पार्टी नेपाल एकता भएर विवेकशिल–साझा पार्टी भएको थियो । त्यो दलको अहिलेको अवस्था निकै कमजोर देखिन्छ ।
विवेकशील नेपाली दलका संस्थापक नेता उज्जल थापाको निधन भइसकेको छ । त्यसपछि अहिले एकीकृत दलको हर्ताकर्ता साझा पार्टीबाट आएका रविन्द्र मिश्र छन् । उनले ‘विचारभन्दामाथि देश’ भन्ने नयाँ प्रस्ताव ल्याएर पार्टीलाई विवादित बनाएका छन् । जसमा संघीयताको खारेजी, राजतन्त्र र धर्मनिरपेक्षताका विषयमा जनमत संग्रहको एजेण्डा अघि सारेका छन् ।
उनको त्यो प्रस्तावमा सोही पार्टीभित्र रहेका विवेकशिल नेपाली दलबाट आएका अर्का संयोजक मिलन पाण्डेलगायतले विरोध जनाएका छन् । त्यसपछि उनीहरूमाथि मिश्रले निषेधको राजनीति गरिरहेका छन् ।
वैकल्पिक शक्तिका नामले प्रचारित दलको यस्तो विवादित श्रृङ्खलाका बीचमा सो दलले विगतमा पाएको जनमत यसपटक फेरी दोहारिन कठिन देखिन्छ । विवेकशिल साझाले नपाए त्यत्रो ठूलो मत कहाँ जान्छ त ?
यही प्रश्नको जवाफले नै काठमाडौं महानगरपालिकाको नयाँ मेयर निर्धारण गर्ने देखिएको छ । जानकारहरूको बुझाईमा पनि यही मतमध्ये जुन दलका उम्मेदवारले बढी मत तान्छन उहीँ निर्वाचित हुने सम्भावना छ ।
विगतमा प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रसँगको असन्तुष्टी नै जनताहरूले मतमार्फत दर्शना र थापामाथि खन्याएका थिए । तर वैकल्पिक भनिएको शक्ति नै छिन्नभिन्न हुँदै पुरानो एजेण्डा बोक्नथालेपछि मतदाता फेरी पुरानै ठाउँमा फर्किने अड्कलबाजी हुनथालेको छ ।
एमाले र कांग्रेसबीच सोझो प्रतिस्पर्धा भएपनि यही मतमध्ये बढी मत जसले तान्न उही जित्नसक्ने अवस्था देखिएको छ । हिजो रन्जु र किशोरलाई मत दिनेहरु कुनै संगठित शक्ति होइनन् । एक प्रकारले स्वीङ भोट हो ।
२०९३३ मतदाता थप
काठमाडौं महानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनभन्दा २० हजार ९ सय ३३ मतदाता थप भएका छन् । उतिबेला कुल २ लाख ७९ हजार तीनसय ९ जना मतदाता थिए । जसमा १ लाख ३४ हजार ६ सय ६९ पुरुष र १ लाख ४४हजार ६ सय ३८ महिला मतदाता थिए ।
जसमध्ये ७० दशमलव ६ प्रतिशत मत खसेको थियो । संख्यामा १ लाख ९७ हजार २ सय २७ जनाले मतदान गर्दा मेयरमा १ लाख ६७ हजार २ सय ८६ मत सदर भएको थियो । जुन खसेको मतमा ८४ दशमलव ८ प्रतिशत थियो ।
यसपटक १ लाख ४४ हजार ३ तीन ६३ जना पुरुष र १ लाख ५५ हजार ८ सय ७८ महिला गरी तीन लाख २ सय ४२ कुल मतदाता संख्या रहेको निर्वाचन आयोगले जनाएको छ । थपिएका नयाँ २१ हजार मतदाता समेत गरि काठमाडौं महानगरमा ६३ हजार मतदाता निर्णायक हुनसक्छन् ।