मेलम्चीमा बल्ल नदी नियन्त्रणको काम सुरु – Nepal Press

मेलम्चीमा बल्ल नदी नियन्त्रणको काम सुरु

सिन्धुपाल्चोक । गत असार १ गते र त्यसपछि आएका बाढीले हेलम्बु, मेलम्ची, पाँचपोखरी र इन्द्रावतीका केही भेगमा अतुलनीय क्षति पुर्‍यायो । हजारौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भयो भने सयौँ नागरिक विस्थापित भए ।

बाढीपछि हिउँदको समयमा समेत सरकारले विकल्पका बारेमा केही गरेन भनेर स्थानीयवासीले आरोप लगाइरहँदा मेलम्ची नगरपालिकाले भने बल्ल नदी नियन्त्रणका लागि काम थालेको छ ।

नगरपालिकाबाट दुई करोड ५० लाख विनियोजन गरी पाँच खण्डमा विभाजन गरी मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सिमाना तालामाराङदेखि डुढेखोलासम्म नदी गहिर्‍याउने, उच्च जोखिम भएको ठाउँमा नदीलाई नियन्त्रण, आवश्यकताअनुसार पर्खाल लगाउने बस्ती तथा संरचनाको रक्षा गर्ने योजनाअनुसार काम भइरहेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए

आगामी बर्खा अगावै सम्भावित क्षति रोकथाम तथा न्यूनीकरणका लागि आवश्यक सतर्कतासहित काम अगाडि बढाइएको उनले बताए । तत्कालका लागि राहत तथा पुनःस्थापनाको काम गरे पनि अब दिगो र सरक्षित स्थानको खोजी गरी स्थायी आवासको प्रक्रिया अगाडि बढाउने प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

विज्ञको सुझावअनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ खोला नियन्त्रण, बस्ती संरक्षण, पुनःनिर्माण तथा पुनःस्थापनाका लागि तत्काल गर्नपर्ने कार्यहरुमध्ये नदीको सतहलाई गहिर्‍याउनु पर्ने सुझाव आएको हुनाले नदी तटीय बस्ती तथा संरचानाहरुलाई संरक्षण गर्ने र यथावत् रहेको नदीलाई गहिर्‍याउने काम सुरु गरिएको उनले जानकारी दिए ।रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर