एमाले उपाध्यक्ष पौडेल भन्छन् – एजेण्डा सकिएकाहरूले गठबन्धन गरे – Nepal Press

एमाले उपाध्यक्ष पौडेल भन्छन् – एजेण्डा सकिएकाहरूले गठबन्धन गरे

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको मन मनमा बसेकाले एमालेविरुद्ध जुनसुकै गठबन्धन बने पनि परास्त भएरै छाड्ने बताएका छन् ।

जनतामा जाने एजेण्डा सकिएका र सामर्थ्य नभएका दलहरूले चुनावी गठबन्धन गरेको भन्दै उनले भने, ‘एमालेसँग कुनै दल एक्लै भिड्ने तागत छैन, गठबन्धनको फेरो समाएका दलहरूले एक्लै चुनावमा जानसक्ने सामर्थ्य नै छैन । ’

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका-९ मा बुधबार एमालेको स्थानीय निर्वाचन प्रचार-प्रसार तथा जनसम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले आफ्नो सरकारको पालामा लिइएका विकास निर्माणका काम देखेर नै जनताले अगाध माया गरिरहेको बताए । नेता पौडेलले एमालेलाई हराउन जतिसुकै गठबन्धन गरे पनि त्यसको असर भने नपर्ने दाबी गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले आफू सरकारमा हुँदा ल्याइएका विकास निर्माण ठूला-ठूला योजनाहरुलाई हालको सरकारले चासो नदिएको आरोप लगाए ।

एमालेले आफ्नो पालामा गरेका विकास र एमालेप्रतिको जनलहरबाट गठबन्धन दल अत्तालिएको उनको टिप्पणी थियो । आगामी वैशाख ३० गते हुने निर्वाचनमा जतिसुकै दलहरूले गठबन्धन गरेर एमालेविरुद्ध लागे पनि फरक नपर्ने उल्लेख गरे । निर्वाचनमा एमालेको बहुमत आउने पक्का भएको पौडेलको दाबी छ ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित भएका कारण ढुक्क भएर प्रचार-प्रसारमा लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

एमाले सरकारमा हुँदा गरेका राम्रा र विकास निर्माणका कामलाई जनतामाझ बुझाउन सके मात्रै पनि एमालेको जित ढुक्क भएका कारण सोही अनुसार अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा बुटवल-९ का अध्यक्ष विष्णु थापा, एमाले वडाअध्यक्ष भोजबहादुर बुढाथोकीलगायतले बोलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर