हेबिवेट केन्द्रीय नेतालाई सिन्धुपाल्चोकका आफ्नै नगरपालिका जिताउन सकस – Nepal Press

हेबिवेट केन्द्रीय नेतालाई सिन्धुपाल्चोकका आफ्नै नगरपालिका जिताउन सकस

एमाले, माओवादीलाई विरासत जोगाउने चुनौती, कांग्रेसलाई जित्नै पर्ने दबाब

चौतारा । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये तीन वटा नगरपालिका छ । २०७४ मा भएको स्थानीय निर्वाचनमा दुई नगरपालिकामा नेकपा एमाले र एक नगरपालिकामा माओवादी केन्द्रले जितेको थियो ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा अघिल्लो पटक जितेका दुई नगरपालिकामा जसरी पनि जितेर एमाले आफ्ना विरासत जोगाउनु पर्ने बाध्यतामा छ भने माओवादी केन्द्र एक नगरपालिकामा आफ्नो विरासत जोगाउन चाहन्छ । नेपाली कांग्रेस पनि तीन मध्ये एक नगरपालिका भएपनि जित्नै पर्ने ‘दबाब’ मा छ ।

स्थानीय निर्वाचन २०७४ मा मेलम्ची र बाह्रविसे नगरपालिकामा नेकपा एमालेका उमेदवारहरूले जितेका थिए भने चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीका उमेदवार विजयी भएका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिका

अघिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रले फराकिलो मतान्तर मा नेकपा एमालेका उमेदवारलाई पराजित गर्दै यसअघि भन्दै आएको ‘आधार इलाका’ लाई प्रमाणित गरेको थियो । माओवादी केन्द्रमा अहिले जति केन्द्रीय सदस्य छन् उनीहरू सबै चौतारा साँगाचोकगढी नगरपालिकाकै बासिन्दा हुन् । धेरै केन्द्रीय नेताहरू भएको नगरपालिका भएकाले पनि यो नगरपालिकामा फेरि पनि चुनाव जित्नु पर्ने दबाब माओवादीलाई छ ।

सभामुख अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा, माधव सापकोटा, रामप्रसाद सापकोटा र युवराज दुलाल यही नगरपालिकाका हुन् । जिल्ला संयोजक गोविन्द पराजुली पनि यही नगरपालिकाका हुन् ।

माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकाबाट अन्तिम समयमा ‘अन्यथा’ नभए केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटालाई मेयरको टिकट दिने लगभग निश्चित जस्तै भएको छ । ‘अन्तिम समयसम्म तलबितल नभए हाम्रो उमेदवार सापकोटा नै हो, माओवादीका एक नेताले भने ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रीय सदस्य युवराज दुलाल र अमानसिंह तामाङ टिकटको दाबेदार थिए । उमेदवार मनोनयनको दिन मात्रै दुलाल ‘ब्याक’ भएर तामाङलाई टिकट दिइएको थियो । पाँच वर्ष आफूले चलाएको र आफूले ल्याएका धेरै योजनाहरू अधुरै भएकाले हालका मेयर तामाङ दोर्‍याउने पक्षमा छन् । तर, माओवादी तामाङलाई दोर्‍याउन नदिने योजनामा छ। माओवादी केन्द्र र समाजवादबीच तालमेल भएर निर्वाचनमा जाने निर्णय भइसकेको छ ।

केन्द्रको अनुसार गठबन्धन भए कांग्रेस समेत थपिने छ । तीनै दल हुँदा जित्नलाई कुनै समस्या छैन चौतारा साँगाचोकगढी नगरपालिकामा । हालका मेयर तामाङ भने जनजाति ‘सेन्टीमेन्ट’ देखाएर पार्टीले आफूलाई नै टिकट दिन्छ की भन्ने आशामा छन् ।

केन्द्रीय गठबन्धन भए पनि स्थानीय स्तरमा भने कांग्रेस माओवादी सँग मिल्न चाहँदैन । बरु एमाले, राप्रपासँग मिलेर भएपनि माओवादीलाई हराउने अभियानमा कांग्रेसका स्थानीय नेताहरू रहेका छन् । २०७४ मा माओवादी केन्द्रले ६ हजार ७ सय २९, एमाले ५ हजार ८ सय ६, कांग्रेस ४ हजार १ सय ७४ र राप्रपाको उमेदवारले १९ सय २५ मत प्राप्त गरेका थिए ।

बाह्रविसे नगरपालिका

बाह्रविसे नगरपालिकालाई नेपाली कांग्रेसको ‘गढ’ को रूपमा लिइएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृह नगरपालिका भएकाले पनि केन्द्रीय सदस्य बस्नेत अघिल्लो निर्वाचनमै बाह्रविसेमा चुनाव जितेर बाह्रविसे कांग्रेसको ‘गढ’ लाई प्रमाणित गर्ने दाउमा थिए । तर, कांग्रेसको गढमा एमालेका उमेदवार निमफुञ्जो शेर्पाले कडा क्षेप्यास्त्र प्रहार गरेपछि गढ भत्किएको थियो । एमालेले चुनाव जितेपछि त्यसयता बाह्रविसे जसरी पनि कांग्रेसले जित्न र जिताउनु पर्ने दबाबमा बस्नेत छन् ।

बाह्रविसेमा नेकपा एमालेले चुनाव जितेपछि कांग्रेससँग लगातार ‘टसल’ परिरहेको छ । हालका मेयर निमफुञ्जो शेर्पा मोहन बस्नेतका हरेक प्रहारको प्रतिवाद गरिरहेका छन् । बाह्रबिसे नगरपालिकामा एमालेको तर्फबाट हालकै मेयर शेर्पालाई नै उमेदवार बनाउने करिब निश्चित जस्तै छ भने काग्रेसले पनि अघिल्लो निर्वाचनमा पराजय भएका बालकृष्ण बस्नेतलाई उमेदवार बनाउँदैछ । त्यस्तै माओवादी केन्द्रले पनि अघिल्लो पटकका उमेदवार बुद्धराज बस्नेतलाई उमेदवार बनाउँदैछ ।

एमालेलाई हराउनका लागि कांग्रेस माओवादीसँग मिल्ने योजनामा पनि रहेको छ तर कांग्रेसका केही नेताहरू भने एमालेसँग लड्न कांग्रेस एक्लै सक्षम भएकाले तालमेल नगरी निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर, अन्तिम निर्णय केन्द्रीय सदस्य बस्नेतले नै गर्ने भएकाले केन्द्रको अनुसार नै गठबन्धन बनाएर जाने कि एक्लै लड्ने त्यो भने निर्णय हुन बाँकी छ ।

माओवादीका स्थानीय नेताहरू भने कांग्रेससँग गठबन्धन गर्न नहुने पक्षमा छन् । केही दिनअघि माओवादीका उमेदवारको रूपमा हेरिएका बुद्धराज बस्नेतले सामाजिक सञ्जालमा ‘गठबन्धन भनेको आवश्यकता अनुसार गरिन्छ, गठबन्धन मन मिल्ने सँग मात्रै गरिन्छ’ भन्दै कांग्रेससँग गठबन्धन हुनेप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा भने एमालेविरुद्ध सबै दल मिलेपनि बाह्रविसेमा जितेरै छाड्ने दाबी गर्छन् । ‘पहिलाको भन्दै हामी अझै सुदृढ भएका छौं, हाम्रोविरुद्ध सबै दल एक भएपनि निर्वाचन जित्छौं’ शेर्पाले भने ।

गठबन्धन हुँदा मात्रै आफू उमेदवार हुने र एक्लै लड्ने अवस्थामा भने आफू उम्मेदवार नभइ अरुलाई मौका दिने पक्षमा शेर्पा छन् ।

२०७४ मा एमालेले ४९२९, कांग्रेसले ४७११ र माओवादी केन्द्रले २५७६ मत प्राप्त गरेको थियो । बाह्रविसेमा एमाले फुटको असर छैन ।

मेलम्ची नगरपालिका

मेलम्ची नगरपालिका नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको गृह नगरपालिका हो । अघिल्लो पटक जितेपछि यो पटक पनि जिताउनै पर्ने दबाब तामाङलाई रहेको छ । कांग्रेस, माओवादी र समाजवादी भने केन्द्रीय गठबन्धन गरेरै भएपनि एमालेलाई हराउने पक्षमा छन् । मेलम्ची नगरपालिकामा हालका मेयर डम्बर आर्याल एमालेको तर्फबाट पुनःउमेदवार हुन खोजेका छन् ।

त्यस्तै एमाले नेता बालकृष्ण देउजा, जिल्ला समन्व्य समितिका प्रमुख कृष्णगोपाल तामाङ र अर्का नेता मित्रलाल चौलागाई दाबेदार छन् । तर, यो पटक एमाले नेता बालकृष्ण देउजाले टिकटमा ‘बाजी’ मार्ने देखिन्छ । एमाले जिल्ला अधिवेशनमा उनी अध्यक्षका दाबेदार थिए, मेलम्ची नगरपालिकामा उमेदवार बनाउने शर्तमा उनलाई जिल्ला अध्यक्षबाट ब्याक गराइएको थियो । त्यही कारण पनि एमाले केन्द्र पनि देउजालाई अघि सार्न लचिलो देखिएको छ ।

मेलम्ची नगरपालिकामा एमाले विभाजनको असर छ । मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल लगायत धेरै नेताहरू समाजवादीमा छन् । पार्टी विभाजनको असर र तीन दलबीच गठबन्धन भएमा भने एमालेले आफ्नो विरासत जोगाउन कठिन हुनसक्छ ।

कांग्रेस र माओवादीबाट पनि आकांक्षीहरू धेरै रहेका छन् । यद्यपि माओवादी मेलम्चीमा केही कमजोर जस्तै देखिएपनि कांग्रेसले भने मेलम्चीमा धेरै सुधार गरेको कांग्रेसका स्थानीय नेताहरूको दाबी छ । कांग्रेसबाट आइतमान तामाङ पुनः उमेदवार हुने निश्चित जस्तै छ । अघिल्लो निर्वाचनमा पनि उनी कांग्रेसबाट उमेदवार भएका थिए ।

मेलम्चीमा राप्रपा पनि निर्णायक मत बोकेर बसेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेले ८६७८,कांग्रेसले ७०३३, माओवादीले ४८२० र राप्रपाले ३७२७ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर