रुसी मुद्रामा भुक्तानी नगरे इन्धन कटौती गर्ने रुसको चेतावनी
एजेन्सी । रुसले युक्रेनमाथि गरेको हमलाको ५औं हप्ता टेकेको छ । यसैबीच रुसले पश्चिमा मुलुकहरूलाई इन्धनको भुक्तानी रुसी मुद्रा (रुबल) मै गर्नुपर्ने र अन्यथा वितरण बन्द गरिदिने चेतावनी दिएको छ ।
रुसी राष्ट्रपति भल्दिमिर पुटिनले एक आदेशमा हस्ताक्षर गर्दै यस्तो चेतावनीयुक्त उर्दी जनाएका हुन् । उक्त आदेश शुक्रबारदेखि कार्यन्व्यन हुने बताइएको छ ।
‘कसैले पनि हामीलाई कुनै पनि कुरा सित्तैमा बेच्दैन र हामी पनि परोपकारी कार्य गर्ने छैनौं अर्थात् विद्यमान सम्झौताहरू रोकिनेछन्’, जारी उर्दीमा उल्लेख छ । इन्धनको भुक्तानी महिनाको अन्त्यमा मात्र गरिने हुँदा तत्कालै अभाव भने सुरू नहुने बताइएको छ । तर, मूल्यमा भने व्यापक परिवर्तन हुन सक्छ । साथै रुसले जारी गरेको नयाँ भुक्तानी प्रणालीले पूर्णरूपमा यूरोलाई प्रतिबन्ध गर्न खोजेको हो या होइन खुल्न सकेको छैन ।
पश्चिमी मुलुकहरूले हाल रुसलाई ग्यास र इन्धनको भुक्तानी यूरो वा अमेरिकी डलरमा गर्दै आएका छन् । हाल युरोपेली राष्ट्रहरूले आयात गर्ने ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट लैजान्छन् ।
पुटिनले हाल जारी गरेको उक्त निर्णयलाई युक्रेनमाथिको हमलापश्चात पश्चिमी मुलुकहरूले रुसमाथि लगाएको प्रतिबन्धका कारण प्रभावित अर्थतन्त्रलाई सुधार्ने प्रयासको रूपमा लिइएको छ भने फ्रान्स र जर्मनीले रुसको उक्त निर्णयलाई ब्ल्याकमेलको संज्ञा दिएका छ्न् ।