ललितपुर महानगरः महागठबन्धन कार्यान्वयन भए एमालेलाई महासंकट – Nepal Press

ललितपुर महानगरः महागठबन्धन कार्यान्वयन भए एमालेलाई महासंकट

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकामा निकै पेचिलो प्रतिस्पर्धा भएको थियो । मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको झिनो अन्तरले हराएका थिए ।

दलीयरूपमा सबैभन्दा बढी वडा जितेको नेकपा एमालेले प्रमुख र उपप्रमुखमा भने हार व्यहोरेको थियो । महानगरका २९ वडामध्ये १४ वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका थिए । मेयर र उपमेयर जितेको कांग्रेसले १० वडा जित्दा ४ वटा वडामा माओवादी केन्द्रले र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

यसरी सबैभन्दा बढी वडा जित्दा पनि मेयर/उपमेयरमा हार व्यहोर्न बाध्य भएको एमाले यसपटक नतिजा उल्टाउने दाउमा छ । यसका लागि आफ्नो रणनीति जोडबलका साथ प्रयोग गरिरहेको छ । तर, एमालेले सोचेजस्तो सजिलो भने छैन ।

एमालेका लागि सबैभन्दा ठूलो खतरा भनेको सत्तारुढ दलहरूको महागठबन्धन नै हो । त्यो गठबन्धन बनेको अवस्थामा उतिबेला स्वतन्त्र (साझा पार्टी) का उम्मेदवारले तानेको र नयाँ थपिएका मतदाताको बहुसंख्यक मत एमालेले तान्नुपर्ने देखिन्छ । नभए गठबन्धनसँग जित्न एमालेलाई फलामको च्यूरा चपाउनुपर्ने हुन सक्छ ।

यस्तो थियो, २०७४ को नतिजा

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनसँग एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ३ सय २६ मतको झिनो अन्तरले हारेका थिए । कांग्रेसका उम्मेदवार महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा एमाले उम्मेदवार व्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए ।

यस्तै ‘वैकल्पिक शक्ति’ का रूपमा प्रचारित रविन्द्र मिश्रको दल साझा पार्टीको सहयोगमा स्वतन्त्रबाट उठेका रमेश महर्जनले १३ हजार ४ सय ४८ मत ल्याएर तेस्रो भएका थिए । चौथो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत प्राप्त गरेका थिए ।

उपमेयरतर्फ कांग्रेसकै गिता सत्यालले १९ हजार ८ सय १९ मत ल्याएर विजयी भएकी थिइन् । दोस्रोमा साझा पार्टीको समर्थित स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २ सय ४० र तेस्रोमा माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजा ९ सय ७९ मत ल्याएकी थिइन् । यस्तै एमालेसँगको गठबन्धनमा लडेका राप्रपाका बाबुकाजी प्रधानले १० हजार ५ सय ४० मत पाएका थिए ।

अहिलेको अवस्था हेर्दा गठबन्धन हावी हुने देखिन्छ । यद्यपी कांग्रेसले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउँदै माओवादी केन्द्रले पाएको सबै मत तान्दा पनि सुरक्षित हुने अवस्था भने छैन ।

मेयरमा हारेको एमालेले वडा नम्बर २, ३, ४, ५, ११, १२, १५, १७, १८, १९, २३, २४, २५ र २९ गरी १४ वटा वडा जितेको थियो । एमाले विभाजनपछि ३ जना वडाध्यक्ष नेकपा एसमा गएका छन् ।

मेयर र उपमेयर जितेको कांग्रेसले १, ६, ७, ८, ९, १३, १४, १६, २० र २७ नम्बर वडा गरी १० वटा वडा जित्दा माओवादी केन्द्रले वडा नम्बर २१, २२, २६ र २८ गरी ४ वडा जितेको थियो । १० नम्बरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

बहुसंख्यक वडासहित नगरसभामा बहुमत ल्याएको एमालेले कार्यपालिका निर्वाचनमा पनि आठवटै सिट जित्यो । त्यसपछि कार्यपलिकामा पनि एमालेको नै बहुमत छ । ३९ सदस्यीय कार्यपालिकामा ८ जना निर्वाचित कार्यपालिका सदस्य र १४ वडाध्यक्ष गरी २२ जना एमालेका सदस्य जितेका थिए ।

एमाले-कांग्रेसबीचमै प्रतिस्पर्धा

२०७४ को स्थानीय तह निर्वाचनमा ललितपुरको कुल मतदाता संख्या १ लाख १२ हजार ९ सय २३ थियो । जसमध्ये ८७ हजार ४८ मत खसेकोमा ७० हजार २ सय ४८ मतमात्रै सदर भएको थियो ।

यसपटक अघिल्लो निर्वाचनभन्दा नौ हजार नौ सय ६७ मतमात्रै थपिएको छ । अहिले कुल मतदाता संख्या १ लाख २२ हजार ८ सय ९० पुगेको छ । यसपटक ललितपुर महानगरमा अघिल्लोपटक स्वतन्त्र उम्मेदवारले पाएको १३ हजार ४ सय ४८ मत र नयाँ थपिएको मत नै निर्णायक हुनसक्ने देखिएको छ ।

२०७४ को निर्वाचनजस्तै यसपटक एमाले-कांग्रेसबीचमै प्रतिस्पर्धा देखिन्छ । अघिल्लोपटक वैकल्पिक शक्तिको नाममा स्थापित विवेकशील साझा पार्टीको अवस्था पहिलेजस्तो बलियो देखिँदैन । त्यसैले त्यो मत आफ्नो पक्षमा ढाल्ने कांग्रेस र एमालेले प्रयास गर्नेछन् ।

गठबन्धन दलहरूभित्र देखिएको छलफलमा ललितपुर महानगरपालिकामा कांग्रेसकै मेयर लड्ने लगभग निश्चित छ । यसर्थ यहाँ यीनै दुई पार्टीबीच वैशाख ३० को निर्वाचनमा सोझो प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिलेको अवस्था हेर्दा गठबन्धन हावी हुने देखिन्छ । यद्यपी कांग्रेसले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउँदै माओवादी केन्द्रले पाएको सबै मत तान्दा पनि सुरक्षित हुने अवस्था भने छैन । उसले स्वतन्त्र उम्मेदवार रमेश महर्जनले पाएको मत र नयाँ थपिएको मतको केही अंश तान्नुपर्ने हुन्छ । तालमेल नभएको अवस्थामा भने प्रतिस्पर्धा पेचिलो बन्नेछ ।

यता एमालेलाई भने सत्तारूढ गठबन्धनसँग एक्लै लड्न अत्यन्त कठिन हुने देखिएको छ । एमालेले २०७४ मा आफूले पाएको मत जोगाउँदै कांग्रेस-माओवादी केन्द्रले पाएको मतबाट पनि तानेर स्वतन्त्रले पाएका र नयाँ मतदाताको बहुसंख्यक मत तान्नुपर्ने हुन्छ । तर, एमालेले अघिल्लो पटक पाएको मत नै सुरक्षित राख्न पनि चुनौती छ । अघिल्लोपटक एमालेले यो महानगरमा राप्रपासँग तालमेल गरेको थियो । एमाले उम्मेदवार ब्यञ्जनकारले पाएको मतमा राप्रपाको पनि केही अंश थियो । यसपाली राप्रपासँग तालमेल भएन भने त्यो अंश गुम्न सक्छ ।

अर्कोतर्फ पार्टी विभाजनपछि नेकपा एसले काट्ने मत पनि एमालेकै हो । एमालेबाट निर्वाचित ३ जना वडाध्यक्ष नै एसतिर गएकाले केही मत उनीहरूसँगै अवश्य जान्छ । त्यसैले एमालेले यसपटक ललितपुर महानगरको चुनाव जित्न राप्रपा गठबन्धनदेखि, स्वतन्त्रले पाएको मत, सत्ता गठबन्धनको मत तान्नेदेखि लिएर नयाँ मतदाता रिझाउनुपर्ने अवस्था छ ।

ललितपुरमा माओवादीको पनि दावी
महानगरपालिकामा सत्ता गठबन्धनले केन्द्रबाट भागबण्डा गर्ने निर्णय भइसकेको छ । यस हिसाबले ललितपुर महानगरपालिकामा पहिलो र स्वाभाविक दावी नेपाली कांग्रेसको रहन्छ किनकी उसले एक्लै पनि जितिसकेको छ । मेयर चिरिबाबु शेरवहादुर देउवा पक्षका भएका कारण समेत ललितपुर कांग्रेसको भागमा पर्छ ।

कांग्रेसको भागमा ललितपुर पर्दा उपमेयरमा माओवादीको उम्मेदवार हुनसक्छन् । त्यसो हुँदा माओवादी र नेकपा एसको समेत मत समेत थपिँदा महागठबन्धन सामु एमालेलाई महासंकट पर्नेछ । यद्यपी यहाँ थपिने माओवादीको मत नै हो,एसको मत कमजोर छ भने जसपाको अस्तित्व नै छैन भन्दा हुन्छ ।

त्यसो त भरतपुर महानगरपालिका कांग्रेसलाई दिनैपर्ने अवस्थामा माओवादीले दावी गर्ने भनेको ललितपुर नै हो । देशका ६ वटा महानगरपालिकामध्ये तुलनात्मक रुपमा मत बढी रहेको र कांगे्रेस एमालेपछिको पोजिशनमा रहेको माओवादी ललितपुर र भरतपुरमै हो । भरतपुरपछि माओवादीको दोस्रो रोजाइ ललितपुर रहेको नेताहरु बताउँछन् ।

जहाँसम्म महागठबन्धनले एमालेलाई महासंकट दिन्छ भन्ने कुरा हो,त्यसमा निर्णायक फ्याक्टर चाहिँ हिजो स्वतन्त्र उठेर साझा पार्टीका रमेश महर्जनले पाएको साढे १३ हजार मत र थपिएका करीव १० हजारसमेत गरि २३ हजार मतदाता पनि हुनसक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर