प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान (तस्बिरहरू)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भ्रमणको क्रममा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा तीन दिने भ्रमणका लागि भारततर्फ लागेका हुन् ।
सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाणलगायतले विमानस्थल पुगेर देउवालाई बिदाई गरेका छन् । नेपाली सेनाको टुकडीले प्रधानमन्त्रीलाई ब्याण्डबाजासहित सम्मानगारत अर्पण गरेको थियो ।
४० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा पत्नी आरजुसहित नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली उडेका हुन् ।
भारत पुगेपछि प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार आज दिउँसो २:५० मा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।
आजै दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले होटल आईटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भोलि (शनिबार) स्थानीय समय अनुसार बिहान १०:४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । भोलि नै ११:१० मा हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल-भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२:१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
भोलि दिउँसो साढे ४ बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी जाने छन् । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट दिउँसो सवा ४ बजे स्वदेश फर्कनेछन् ।