ओलीको आरोप- भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाउने कांग्रेस हो – Nepal Press

ओलीको आरोप- भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाउने कांग्रेस हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछि नेपाली कांग्रेसले भारतीय सेना बोलाएर देशभक्त नेपालीको हत्या गराएको आरोप लगाएका छन् ।

उनले कांग्रेसका महामानव विश्वेश्वरप्रसाद कोइरालाकाे पनि आरोलाेचना गरे ।

अनेरास्ववियुको विस्तारित बैठक उद्घाटन समारोहमा बोल्दै ओलीले ऐतिहासिक प्रसंग कोट्याएका थिए ।

००७ सालपछि आन्दोलनको उपलब्धि अपूरो भयो भनेर आवाज उठाउने युवाहरूमाथि कांग्रेसको सरकारले दमन गरेको उनले बताए ।

‘भारतीय सेना ल्याएर डोटीमा गिरफ्तार गरेर भीमदत्त पन्तको टाउको काट्ने काम भयो,’ ओलीले भने, ‘अलिक भन्न राम्रो लाग्दैन, तर यो सबै नेपाली कांग्रेसले गरेको हो । विदेशी सेना नेपालभित्र बोलाएर नेपालको भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली कांग्रेसले कटाएको थियो । नेपाली कांग्रेस यस्तै हो ।’

ओलीले थपे, ‘विद्यार्थी आन्दोलन दबाउने क्रममा २००८ साल कात्तिक २० गते चिनियाँ काजीको हत्या गर्दा वीर विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री हुनुहुन्थ्यो । त्यति बेला कति विद्यार्थी हुँदा हुन् ? त्यति पनि सहन नसकेर गोली चलाइएको थियो ।’

ओलीले हालका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदाका बखतको प्रसंग पनि निकाले, तर केही टिप्पणी गरेनन् ।

‘कांग्रेसका अहिलेका सभापति अहिले देशभित्र हुनुहुन्न । बाहिर भएका बेला केही भन्दिनँ । फेरि विदेश गएका बेला लखेट्यो भन्लान् । उहाँ आएपछि नै भनौँला,’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर