अब एमाले लुम्बिनीको प्रदेश कमिटी ४५१ सदस्यीय, ३० विभाग र २५ जनसंगठन – Nepal Press

अब एमाले लुम्बिनीको प्रदेश कमिटी ४५१ सदस्यीय, ३० विभाग र २५ जनसंगठन

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको सातौँ पूर्ण बैठकले प्रदेश कमिटीलाई ४५१ सदस्यीय बनाउँदै ३० वटा विभाग तथा २५ वटा जनसंगठन तथा फाँटहरूको गठन गरेको छ ।

बैठकले नियमित रूपमा हुनुपर्ने स्थानीय तहको निर्वाचन सार्ने प्रपञ्च गरिरहेको गठबन्धनको सरकारले नेकपा एमालेको दबाबमा आगामी वैशाख ३० गते हुन लागि रहेको निर्वाचनलाई यथा समयमा स्वच्छ निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न माग गरेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

नेकपा एमालेले चलाएको पार्टी प्रवेश अभियानमा हालसम्म लुम्बिनी प्रदेशमा विभिन्न दलबाट ७० हजार भन्दा बढी विभिन्न दलका कार्यकर्ताहरू प्रवेश भएकोमा उनीहरूलाई पार्टीमा स्वागत गर्दै यो अभियानमा निरन्तर जारी रहेकोले यस अभियानमा सहभागी बन्दै स्थानीय निर्वाचनमा नेकपा एमालेलाई विजय बनाइ समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प पुरा गर्ने अभियानमा सहभागी हुन अपिल गर्ने निर्णय बैठकले गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल निर्माण कार्यको टेण्डर प्रक्रियाकै चरणमा मुख्यमन्त्री स्वयं संलग्न भई गर्न लागिएको अनियमितता हद दर्जाको घृणित कार्य रहेकोले यस्तो कार्यमा संलग्न मुख्यमन्त्रीले अविलम्ब राजीनामा गरी छानबिनलाई सहज बनाउनुपर्ने, स्वास्थ्य बिमामा जनतालाई दिइएको सास्तीले स्वास्थ्य सेवामा जनताको पहुँचमा असहजता उत्पन्न हुँदा पनि सरकारले बेवास्ता गरेकोमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा महँगीको चपेटामा पर्दा पनि सरकारले थप मूल्य वृद्धि गर्दै गएकोमा बैठकले सरकारको भर्त्सना गर्दै नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकारले ल्याएका विपद् व्यवस्थापन योजना लागु गर्न, निर्वाचनको मुखमा रकमान्तर गर्दै कार्यकर्ता पोस्ने र अनियमितता गर्ने साथै निर्वाचनका मुखमा नयाँ योजना ल्याउने काम नगर्न पनि माग गरिएको छ ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको बैठकमा पार्टीको केन्द्रीय कमिटीका सचिव तथा इन्चार्ज छविलाल विश्वकर्माले कम्युनिस्ट कार्यकर्ताहरू हुनुको कारण अनुशासित र मर्यादित व्यवहार गर्न, आसन्न निर्वाचनमा एकमनाका साथ लाग्न, बैठकले सारेका योजनालाई कार्यान्वयन गरी परिणाम प्राप्त गर्न निर्देशन दिएका थिए ।

उक्त अवसरका पार्टी केन्द्रका पोलिटब्युरो सदस्यहरू खिमलाल भट्टराई, सूर्य थापा, लिला गिरी, दधिराम न्यौपाने एवं केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर