भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटवार्तामा व्यस्त – Nepal Press

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटवार्तामा व्यस्त

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज अपराह्न यहाँ आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचार विमर्श भएको थियो । साथै उनीहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गरेका थिए । नेपाली काङ्ग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धबारे पनि उनीहरूबीच विचार विमर्श भएको छलफलमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले राससलाई जानकारी दिए ।

प्रधानमन्त्रीका साथ प्रथम महिला डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव थिए ।

आजै साँझ प्रधानमन्त्री देउवासँग भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम जय शङ्करले शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनको यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले यहाँ स्थित नेपाली दूतावासमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी भएका छन् । भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् । भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेल सेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु कोरिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर