प्रदीप र गोकर्णको एकै स्वर- अपवित्र गठबन्धन पछारिन्छ – Nepal Press

प्रदीप र गोकर्णको एकै स्वर- अपवित्र गठबन्धन पछारिन्छ

रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले तिनै तहका निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने बताएका छन् ।

नेकपा एमाले गुल्मी-रुपन्देही युवा विद्यार्थी मञ्चले शुक्रवार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै पाँच दलीय गठबन्धनले एमालेलाई केही फरक नपर्ने दाबी गरे । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका नेता ज्ञवालीले एमालेसँग एक्लै चुनाव लड्न सक्ने सामर्थ्य नभएकाले गठबन्धनसँग डराउन नपर्ने बताए ।

उनले एमाले ६० प्रतिशतभन्दा बढी मतका साथ विजय हासिल गर्ने दाबी गर्दै एमालेको नेतृत्वमा देशको विकास र समृद्धि हुने ठोकुवा गरे । आउने स्थानीय चुनावमा गुल्मीमा एमालेले १२ बटा सिटमा जित सुनिश्चित गर्ने दाबी गर्दै कार्यकर्तालाई चुनाव केन्द्रित भएर लाग्न उनले आग्रह गरेका छन् ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले कांग्रेस, माओवादी, समाजवादीजस्तो अरूको भरमा चुनाव लड्ने पार्टी एमाले नभएकोले जनतासँग जान सबै कार्यकर्तालाई आग्रह गरे । उनले एमाले एक्लैले बहुमतका साथ चुनाव जित्ने दाबी गर्दै अहिलेको गठबन्धन लामो समय नटिक्ने बताए । देशभर नै  एमालेमा जनलहर फैलिएको बताउँदै सबै कार्यकर्तालाई चुनावमा केन्द्रित भएर लाग्न उनको आग्रह थियो ।

 गुल्मीको विकास र समृद्धिका लागि एमाले निरन्तर लागि रहने सबैलाई प्रमाण भएको उनको भनाई थियो   ।  कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य कमल राज श्रेष्ठ, युवा संघका केन्द्रीय सदस्य प्रज्वल खड्का, मञ्चका अध्यक्ष जीवन गौतम,सचिव चिरन अर्याल,प्रकाश पराजुलीलगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर