पञ्चेश्वर परियोजना तीव्र रूपमा अघि बढाउने मोदीको आश्वासन – Nepal Press

पञ्चेश्वर परियोजना तीव्र रूपमा अघि बढाउने मोदीको आश्वासन

काठमाडौं । भारतीय प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनालाई तीव्र रूपमा अघि बढाउने आश्वासन नेपाललाई दिएका छन् ।

नयाँ दिल्लीमा शनिवार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् ।

‘पञ्चेश्वर परियोजना तीव्र रूपमा अघि बढाउन जोड दिएका छौँ । यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।

भारतीय आनाकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन ।

नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा प्रत्येक पटक पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ । प्रत्येक पटक भारतीय पक्षले पञ्चेश्वर परियोजनालाई तीव्र रूपमा अघि बढाउने आश्वासन दिँदै आएको छ । यस पटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् ।

‘नेपाल बढी भएको विद्युत् भारतमा निकासी गरिरहेको छ । यो राम्रो कुरा हो । यसले नेपालको विकासमा सहयोग गर्नेछ,’ मोदीले भने ।

मोदीले प्रधानमन्त्री देउवा भारतको पुरानो साथी भएको उल्लेख गर्दै भारत र नेपालको मित्रता तथा जनताको सम्बन्ध विश्वमा कहीँ कतै देख्न नपाइने दाबी गरे ।

‘हाम्रो सभ्यता, संस्कृति प्राचिनकालदेखि जोडिएको छ । सदियौँदेखि हामी सुख–दुःखका साथी बनेका छौँ,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।

भेटवार्तामा व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टिभिटीमा जोड दिएको उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर