ओलीको बोलीले नयाँ बहस-१७३ वर्षअघि काटिएका ‘बाँकावीर’ नै हुन् त पहिलो शहीद ? – Nepal Press

ओलीको बोलीले नयाँ बहस-१७३ वर्षअघि काटिएका ‘बाँकावीर’ नै हुन् त पहिलो शहीद ?

प्रथम शहीद लखन थापाभन्दा २८ वर्षअघि नै मारिएका थिए अछामका बाँकावीर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोलीद्धारा मुलुकलाई नयाँ-नयाँ बहसमा सामेल गराउनु नयाँ घटना होइन । पछिल्लो पटक नेपालको पहिलो शहीद लखन थापा नभई बाँकावीर भएको भनेर ओलीले बताएपछि अहिले बाँकावीरको चर्चा सुरु भएको छ ।

शुक्रवार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुद्वारा आयोजित केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेपालको पहिलो शहीद बाँकावीर भएको बताएका थिए ।

ओलीले भनेका थिए–‘बैतडी, बझाङ कतातिर हुन् बाँकावीरले पहिलोपल्ट राणाशासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए र उनलाई पछि राणा शासनले गिरफ्तार गरेर हत्या गरेको थियो । र, उनी पहिलो शहीद हुन् । पहिलो शहीदको सम्बन्धमा कन्फ्युजन पनि छ । चर्चा नभएर पनि हो । बाँकावीर नेपालको राजनीतिक जागरण र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो शहीद हुन् । त्यसपछि अनेक आन्दोलन हुँदै गए । पछि लखन थापा व्रिदोहलाई लिन सक्छौँ, योगमायाको विद्रोह र अरू विद्रोहलाई लिन सक्छौँ ।

अध्यक्ष ओलीले नेपालको पहिलो शहीद बाँकावीर भने पनि लोक सेवाको पाठ्यक्रममा र अहिलेसम्म नेपालको पहिलो शहीद भनेर लखन थापालाई चिनिन्छ । विकिपिडियाका अनुसार लखन थापा मगर नेपालका पहिलो शहीद हुन् ।

यस्तै नेकपा एमालेका नेता तथा अछामबाट प्रतिनिधिसभामा निर्वाचित भीम रावल पनि बाँकावीर राणाहरूका विरुद्धमा लड्ने क्रममा षडयन्त्रपूर्वक ढङ्गबाट मारिएको बताउँछन् ।

‘उनले जहानिया राणा शासनको विरुद्धमा सबैलाई एकजुट बनाएर लडिरहेका थिए’ रावलले भने ‘यही क्रममा उनको हत्या गरिएको हो ।’

राणाहरूको विरुद्धमा लडिरहेकाबेला बाँकावीरको हत्या गरिएको भन्दै उनी शहीद भएको समेत रावलले दाबी गरे । यस विषयमा तथ्य अध्ययन र अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।

‘बाँकावीर शहीद हुन् यस विषयमा कुनै दुबिधा छैन’ उनले भने ‘तर, यस विषयमा अझै खोज र अनुसन्धान हुन आवश्यक छ ।’

राणा शासनविरुद्ध विद्रोह गरेका मगरलाई वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो । लखन थापालाई अहिलेसम्म पहिलो शहीद भन्दै आइरहेको अवस्थामा ओलीले भनेका ‘बाँकावीर’ को हुन् त ?

बाँकावीरको बारे बुझ्न हामीले केही ऐतिहासिक तथ्यहरु खोतलेका छौं ।

बाँकावीरको इतिहास

कोतपर्वबाट विसं १९०३ मा सत्ता हत्याएपछि जङ्गबहादुर राणाले श्री ५ राजेन्द्रलाई नजरबन्दमा राखेर अड्कलेको मानो खानुपर्ने बनाएकाले राजपरिवार तथा मोफसलका ठकुरी रिसाएका थिए । साथै अछाममा खटिने राणाका कर्मचारीलाई लैनो नौमुठे गाई सित्तैमा दिनुपर्ने, हाकिमलाई पिठ्युँमा राखी बोकेर ठाउँ–ठाउँमा डुलाउनुपर्ने, कर्मचारीलाई गोर्खाली मानो भनी चामल, दाल, घिउ, मसला उठाउनुपर्ने, छोरी चेली, नारीप्रति हातपात गर्दा अभिभावकले टुलुटुलु हेर्नुपर्ने बाध्यताले उनीहरू मुर्मुरिएका थिए ।

यस्तैमा अछामी राजासँग विवाह गरिएका राजा गीर्वाण युद्ध वीरविक्रम शाहकी छोरीपट्टिकी नातिनीबाट जन्मेका बलदेव शाह (बाँकावीर)ले राणाको फौजलाई रासन नदिने अभियान चलाए । अछाम घर भएका पूर्व आइजिपी मोतिलाल बोहरा बाँकावीरको विद्रोहबाट नै नेपालमा छापामार शैलीको युद्धको सुरुआत भएको मान्छन् ।

‘यो अभियान क्रमशः अछामबाट डोटी बझाङ जुम्ला र दैलेख सम्म फैलिन थालेको थियो ’ बाँकावीरको बारेमा लामो अध्ययन गरेका नेपाल प्रहरीका पूर्व आइजिपी मोतीलाल बोहरा भन्छन्, आफूविरुद्ध सैन्य सङ्गठन नै बनाएर गर्न लागेको खबर आफ्ना सैनिकमार्फत जङबहादुरले पाइहाले । त्यसपछि बाँकावीरको हत्या गर्ने योजनामा राणहरु पुगे ।’

राजद्रोहको अपराध गरेको भन्दै बाँकावीरलाई ‘मोस्ट वान्टेड’ अपराधीको सूचीमा राखियो । त्यसपछि जङबहादुरले विसं १९०५ वैशाखमा ‘जहाँ फेला पर्छन्, त्यहीँ काट्नू’ भन्ने आदेश दिए । बलदेवसहित बझाङका अम्बरसिंह भण्डारी र ईश्वर सिंहलाई समेत काट्ने आदेश दिइयो

बाँकावीरलाई काट्न दिएको आदेश बोहराले यसरी प्रस्तुत गरेका छन् ।

‘स्वस्ति श्री प्राईमिनिस्टर एण्ड कमाण्डर इन चिफ जनरल जंगबहादुर कुँवर कस्य पत्रम् ।

आगे भवानीसिंह स्वाँर के

भगुवा गुरुप्रसाद शाहले हामीलाई दागा गर्न भनी पठाएको आछामी रण भीमसाहिको भाई बल्देव शाही…….१, बझागी अम्बर सिंह भण्डारी…….१, गुमानसिहंको भाई ईश्वरसिंह………. १, तीन जना जहाँ फेला पर्छन् इनलाई काटी दिनु भन्‍ने श्री ५ सरकारको हुकुम भयाको छ काटी दिनु । इनीहरूका मद्तीमा जो जो छन् तिनलाई नेल गलफन्दी हाली न उम्कन्यागरी यहा ल्याउने काम गर्नु………… इति संवत १९०५ साल मिति वैशाख सुदि……….रोज सुभम ।

अम्बर र ईश्वरलाई काटियो या काटिएन भन्ने तथ्य फेला परेको छैन । तीनै जनालाई एउटै आदेशमा काट्नु भनेको हुँदा अम्बर र ईश्वर बलदेवका सहयोगी थिए कि भन्ने पनि अनुमान गर्न सकिने बताउँछन्, बोहरा ।

‘उनीहरूलाई मारियो वा भागेर गए भन्ने कुरा अझै कहीँ पुष्टि भएको छैन’ उनी भन्छन्, ‘तर, बाँकावीरलाई भने छलकपट गरेर हत्या गरिएको हो ।’

बलदेवलाई काट्ने आदेश आएपछि अछाम, बान्नीगढीमा बसेका जङ्गबहादुरका सैनिक सादा पोसाकमा बलदेवको सुराकी गर्न गाउँ डुल्न थाले ।

बोहरा भन्छन्,– ‘एक पटक जङ्गबहादुरका सैनिकले बलदेवलाई कैलाली चिसापानीदेखि उत्तरको जंगलमा घेरा हाली पक्रन खोज्दा वर्षातको भेलसहित उर्लिएको खोलासमेत उफ्रिएर पार गरी बाँकावीर भाग्न सफल भएका थिए ।’

मोतीलाल बोहराका अनुसार बाँकावीरलाई सहजै पक्राउ गर्न नसकेपछि राणा सरकारले षड्यन्त्रको बाटो रोज्यो । जङबहादुरले बाँकावीरलाई मार्ने जिम्मा अछामकै स्वाँरलाई दिए । आफ्नो पल्टनमा रहेका अछामका भवानीसिंह स्वाँर र कालुसिंह स्वाँरलाई राणा विरोधी भएको र पल्टनबाट बर्खास्त गरेको नक्कली कथासहित बलदेव (बाँकावीर) लाई मार्न अछाम पठाए ।

राणाले निकाला गरेको कारण देखाउँदै आफू पनि राणाविरुद्धको विद्रोहमा सामेल हुने भन्दै भवानीसिंह र कालुसिंह स्वाँर अछाम आएर बाँकावीरको टोलीमा मिसिए । खासमा उनीहरु सुराकी थिए । अछामबाट राणा सैनिक हटाइने भन्दै उनीहरूले बाँकावीरलाई विश्वासमा लिए । यता बाँकावीरलाई उनीहरुले बान्नीगढीको सैनिक क्याम्प आक्रमण गर्ने योजना बनाए ।

विसं १९०६ को बर्खा याममा बाँकावीरले बान्नीगढीमाथि आक्रमण गर्ने योजना बनाए । आक्रमणका लागि रेकी गर्न भन्दै बाँकावीरसँगै स्वाँरबन्धु पनि गए ।

‘रेकीबाट फर्किँदै गर्दा बाँकावीर काफलखेत (तत्कालीन जनालीकोट गाविस वडा नं ५, हाल– बान्नीगढी गाउँपालिका) धारामा नुहाउन थाले’ बोहरा भन्छन्, ‘नुहाउँदै गरेका बाँकावीरमाथि भवानी र कालुसिंह स्वाँरले खुकुरी प्रहार गरे । टाउको छिनाए ।।’

बोहराले मात्र होइन बाँकावीरका बारेमा अछामका इतिहासकार सुरतबहादुर शाहले पनि लामो अध्ययन गरेका छन् ।

शाहका अनुसार राणाविरुद्ध यो पहिलो विद्रोह थियो । राणा शासन सुरु भएको तीन वर्षमै बाँकावीरको हत्या गरिएपछि सुदूरपश्चिममा जहानियाँ राणा शासनविरुद्धको विद्रोह समाप्त भयो ।

बाँकावीरको हत्यापछि तत्कालीन कर्णेल खड्गबहादुर कुँवर राणाले पौष, १९०५ मा लेखेको पत्रमा ‘हामीमाथि दागा गर्न आउन्या अछामका बलदेव शाहीलाई काटी आउन भनी भवानी सिंह स्वाँर, कालु सिंह स्वाँरलाई पठाएको हो’ भन्ने उल्लेख छ । उक्त पत्र बोहराले लेखेको नेपालका प्रथम अमर सहिद बाँकाबिरमा पनि राखिएको छ ।

पुस्तकमा बाँकावीरलाई काटेपछि भवानी र कालु स्वाँरलाई पुनः काठमाडौँ बोलाएर राणाले बैतडी र दार्चुलाको हाकिम नियुक्त गरेका थिए । सुदूरपश्चिममा उदाएका अमर नक्षत्रमा पनि सुरतबहादुर शाहले यो विषय उल्लेख गरेका छन् ।

आधार र प्रमाण सहित नेपालको पहिलो सहिद भएको उल्लेख गरेका शाह र बोहरा दुवै अहिले ओलीको भाषण पछि हौसिएका छन् ।

‘हामीले वर्षाै पहिले यो कुरा पुष्टि गरिसकेका थियौँ अहिले बल्ल आएर यो कुरा सार्वजनिक हुँदै छ हामी खुसी छौँ’ बोहरा भन्छन्, ‘अब भाषण मात्रै होइन नीतिगत रूपमा पहिलो सहिद बाकाबीरलाई घोषणा हुनुपर्छ ।’

शाहले पनि लामो खोज र अनुसन्धानबाट पुष्टि भएको विषयलाई ओझेलमा परिएको गुनासो गरे ।

‘सत्य सत्य नै हुन्छ ’ उनी भन्छन् ‘अब यो सत्य सबैले जानकारी पाउनु पर्छ । नेपालको प्रथम सहिद बाँकावीअर्थात् बलदेव शाह नै हुन् । ’

 


प्रतिक्रिया

8 thoughts on “ओलीको बोलीले नयाँ बहस-१७३ वर्षअघि काटिएका ‘बाँकावीर’ नै हुन् त पहिलो शहीद ?

  1. यो यत्तिकै आएको र भनेको कुरा हैन !! ओलीको अध्यन र बौद्धिकता अनि त्येशको श्रोत सबैको खोजि अनि सम्रक्ष्यनको आवस्येक्ता छ !! लेखक र लेखनलाई धेरै धन्यबाद !!!

    1. यो कुरा विश्वभक्त दुलालले कैयौंपटक सार्वजनिक मन्चमा भन्दै आएको कुरा हो ! अहिले ओलीलाई बौद्धिक भन्नुको कुनै तुक छैन !

    2. ऊखानेको भुत्रो को अध्यायन भुत्रो बौद्दिकता! त्यो ककस्ले के भन्दियो के सुन्यो तेसैमा फत्फताउने हो! बेलानकुबेला मुखमा जे आयो बर्बरायो, अधिकान्स झण्दै सबै भन्याथ्या को कुरा सुनाथ्या हो! अध्यायन र खोज बौद्दिकता हुनेले त् आफ्नो कुरा तथ्यसङत प्रमानसहित लेख रचनामा प्रस्तुत गर्दछु। यो त सय पचास आफ्नो भुकाईमा तालिठोक्ने जमात बटुलेर् बर्बराउने अनि भुक्कदजन्तुहरु यस्को कुरोमा सिथिफुक्ने तालिठोक्ने हो!

      1. खोजमूलक लेख।त्यसै उन्माद मच्चाउने काम गर्नु राम्रो होइन!उनी यसरी नै मारिएका हुन् भने किन सहिद नभन्ने?अब मारिएको पहिलो नै हो भने किन प्रथम सहिद नभन्ने!!

  2. इतिहास सच्चिनु पर्छ नत्र बाकाबिर अन्यायमा पर्न सक्छन।

  3. यो पनी राम र ठोरीको कथा जस्तै हो

  4. नयाँ बहस नकार्न सकिन्न । खोज अनुसन्धान हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर