पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भएको बाइडेनको दाबी
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भएको आरोप लगाएका छन् ।
रुस–युक्रेनमा भएको आक्रमले तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्यवृद्धि भएको उनको भनाई छ ।
विश्वभरि अहिले मूल्यवृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभावसमेत भएको भन्दै उनले त्यसको दोषी पुटिन नै भएको दाबी गरेका छन् ।
शुक्रबार उनले भने, ‘रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रतिदिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानी गरेको छ ।’
उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिँदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे । उनले ट्वीट गर्दै भनेका छन्, ‘यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ ।’
आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले वेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
राष्ट्रपति बाइडनले तत्काल युद्ध रोक्न र वार्तामार्फत विवाद अन्त्य गर्न पटक–पटक आग्रह गर्दै आएको पनि स्मरण गराएका छन् ।