भारतीय विदेश सचिव भन्छन् : नेपाल-भारत सीमा विवादलाई राजनीतिकरण गर्नु हुँदैन, संवादबाट टुंग्याउनुपर्छ – Nepal Press

भारतीय विदेश सचिव भन्छन् : नेपाल-भारत सीमा विवादलाई राजनीतिकरण गर्नु हुँदैन, संवादबाट टुंग्याउनुपर्छ

काठमाडौं । भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्लाले नेपाल–भारत सीमा विवादलाई राजनीतिकरण गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी दिन विदेश मन्त्रालयले शनिवार नयाँ दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संवाद मार्फत सीमा सुल्झाउनु पर्ने जनाए ।

‘सीमा विवादबारे संक्षेपमा छलफल भयो । यो मुद्दा हाम्रो मैत्री सम्बन्धलाई ध्यानमा राखी संवाद मार्फत सुल्झाउने कुरा भयो । सीमा समस्यालाई राजनीतिकरण गर्नु हुँदैन । सीमा विवाद संवाद मार्फत सुल्झाउनु पर्छ,’ भारतीय विदेश सचिव श्रृङ्लाले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत द्विपक्षीय बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा सीमा विवादबारे भारतीय समकक्षीसँग छलफल गरेको बताएका थिए । स्थापित संयन्त्र मार्फत सीमा विवाद सुल्झाउन भारतीय प्रधानमन्त्रीलाई आफूले भनेको उनले जनाएका थिए ।

‘हामीबीच धेरै मुद्दाहरू छन् । दुई छिमेकीबीच केही जटिल मुद्दा हुन्छन् । दुई छिमेकी राष्ट्र संवाद गरी आपसी समस्या समाधान गर्नुपर्छ । हामीले बङ्गलादेशसँग सीमा समस्या समाधान गरेका छौँ । नेपाल र भारतबीच पनि संयन्त्र छन् । संवाद र छलफल गरेर समाधान निकाल्न सकिन्छ,’ श्रृङ्लाले भने ।

प्रधानमन्त्री देउवाको भ्रमणलाई उनले महत्त्वपूर्ण बताए । द्विपक्षीय बैठकमा सबै विषयमा बृहत् छलफल भएको उनले जनाए ।


प्रतिक्रिया

One thought on “भारतीय विदेश सचिव भन्छन् : नेपाल-भारत सीमा विवादलाई राजनीतिकरण गर्नु हुँदैन, संवादबाट टुंग्याउनुपर्छ

  1. संवादबाट टुङ्ग्याउन तिमीहरू तयार पनि त हुनुपर्याे नि । संवाद भन्ने तर कुनै बैठकमा सीमाकाे कुरा नउठाउने । नेपालले उठाएमा नसुनेकाे झै टारिदिने । लिपुलेककाे विषय कहिले उठछ ? ईपिजिकाे प्रतिवेदन नबुझेरै त्यसलाई तुहाउने खेलमा तिमीहरू छाै किनकी त्यसमा १९५० काे सन्धी पुनरावफाेकन गर्ने कुरा छ जुन तिमीहरू सुन्न पनि चाहादैनाै ।तर नेपालकाे लागि त्याे १ नम्बरकाे विषय हाे । देउवा, ने. का. , प्रचण्डले यस्ता कुराकाे टुङ्गाे लगाउने हाेईनन् कि झन बिगार्छन । यस्ताे कुरा र काम गर्न एमाले, ओलि नै चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर