भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै माओवादी केन्द्रमा समाहित
काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रममा कृष्णकुमार राईको नेतृत्वमा रहेको गोर्खाहरूको समूहको ८१ पदाधिकारीसहितको समूह माओवादी केन्द्रमा समाहित भएको हो ।
सयभन्दा बढी सङ्ख्यामा रहेका भूतपूर्व ब्रिटिश सेनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अरू धेरै पार्टी प्रवेशका कार्यक्रमभन्दा यो विशिष्ट महत्त्वको रहेको बताएका छन् । उनले हिजो आफ्नो रगत, पसिना विदेशीका लागि बगाएका गोर्खाको समूह माओवादी केन्द्रमा समाहित हुने कुरालाई नजरअन्दाज गर्न नहुने बताए । उनले यसले माओवादी केन्द्रले लिएको नीति र उसको व्यवहार सही छ भन्ने पुनः पुष्टि गरेको बताए ।
प्रचण्डले स्थानीय निर्वाचनको मुखमा भएको यो प्रवेशले माओवादी केन्द्रमा मात्रै नभई परिवर्तनकामी नेपाली जनतामा नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गरे । उनले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकलगायतका परिवर्तनका एजेण्डाको सूत्रधार माओवादी केन्द्र हुने तर गणतन्त्रको फल अरूले मात्रै खान खोज्ने परिपाटीले राजनीतिक स्थिरता कायम हुन नसकेको बताए ।
उनले माओवादी केन्द्रले परिवर्तन र शान्ति तथा विकासमा नेतृत्व गरेको र माओवादी नेतृत्वमा रहेका स्थानीय तहहरूले अरूले भन्दा उत्कृष्ट काम गरेको दाबी पनि गरे ।
कार्यक्रममा माओवादी प्रवेश गर्ने संस्थाको नेतृत्वकर्ता राईले माओवादीले नेतृत्व गर्दा मात्रै शान्ति, स्थिरता र विकास हुनसक्ने लागेकाले माओवादीको पक्षमा आफूहरू केन्द्रित भएको धारणा राखे ।
राईले माओवादीको विचार, सिद्धान्त र व्यवहारले आफूहरू प्रभावित भएको र आफूहरूको स्वार्थ राष्ट्रको विकास तथा समृद्धिको पक्षमा काम गर्नेबाहेक अरू नभएको बताएका थिए । त्यसै गरी राईले आफूहरूको पक्षमा माओवादी र प्रचण्डले लगातार समर्थन गरेका कारणले पनि आफूहरू माओवादी केन्द्रमा समाहित भएको बताएका थिए ।