राप्रपासँग गठबन्धनबारे कुनै कुरा भएको छैन : विष्णु रिजाल (भिडिओ) – Nepal Press

राप्रपासँग गठबन्धनबारे कुनै कुरा भएको छैन : विष्णु रिजाल (भिडिओ)

सुर्खेत । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको चुनावमा केन्द्रबाटै कसैसँग गठबन्धन गरेर नजाने दोहोर्‍याएका छन् । उनले तालमेलको अधिकार जिल्लालाई दिइएको बताए ।

एमाले कर्णाली प्रदेश कमिटी बैठकमा सहभागी हुन सुर्खेत आएका नेता रिजालले कुनै जिल्लामा कसैसँग तालमेल गर्नु पर्ने भएको खण्डमा प्रदेश कमिटीको अनुमतिमा जिल्ला कमिटीले गर्ने बताए ।

राप्रपा नेता धवल शमसेर राणासँग एमाले अध्यक्ष ओली कर्णाली आउने क्रममा नेपालगञ्जमा भेट भएको र भेटमा ओलीले एमालेको प्रष्ट धारणा राखेको रिजालको भनाइ छ ।

‘उहाँले एमालेसाग मिलेर जान सकिन्छ कि भनेर कुरा राख्नुभएको थियो । हाम्रो पार्टीका अध्यक्षले स्पष्ट कुरा राखिसक्नुभएको छ । त्यसका अलावा राप्रपासँग गठबन्धन गर्ने भन्ने कुनै कुरा भएको छैन’, उनको प्रष्टोक्ति छ ।

‘हाम्रो पार्टीको हालै सम्पन्न तेस्रो बैठकमा पार्टी अध्यक्षबाट प्रस्तुत केन्द्रीय कमिटीबाट पारित राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी चुनावी रणनीतिका बारेमा स्पष्ट ढंगले उल्लेख गरिएको छ । हामीले घोषणा गरेका छौं, केन्द्रीयस्तरमा कुनै गठबन्धन गरेर एमाले चुनावमा जाँदैन । जनताको माया, आफ्नो बल र केपी शर्मा ओलीको दूरदृष्टिको नेतृत्वमा नेकपा एमाले एक्लै निर्वाचनमा जान्छ ।’

‘स्थानीय कमिटीले आवश्यकता ठानेमा स्थानीय तहमा गठबन्धन होइन तालमेलका रुपमा कहीँ कतै निर्वाचनमा मिलेर पनि लड्न सकिन्छ । त्यसका लागि हामीले जिल्लालाई अधिकार दिएका छौं । प्रदेश कमिटीको अनुमतिमा जिल्ला कमिटीले आफ्नो तहमा तालमेलको निर्णय गर्न सक्छ ’, उनले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर