एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी, सक्कली पशुपतिनाथमा ! – Nepal Press

एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी, सक्कली पशुपतिनाथमा !

काठमाडौं । एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुँदा पक्राउ परेका चार नक्कली परीक्षार्थीहरुलाई महानगरीय अपराध महाशाखाले आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमध्ये तीन जना किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी छन् भने अर्का एक जना भारतीय नागरिक छन् ।

उनीहरू गत चैत १८ गते सञ्चालन भएको प्रवेश परीक्षाको क्रममा परीक्षा हलबाटै पक्राउ परेका थिए । महाशाखाले नक्कलीलाई परीक्षा दिन लगाउने एक सक्कली परीक्षार्थीलाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्ने नक्कली परीक्षार्थीमा किस्ट कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत महोत्तरीको सम्सी–४ स्थायी घर भएका २२ वर्षीय अमर पण्डित, सर्लाहीको चक्रघट्टा–४ स्थायी घर भएका २२ वर्षीय अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत सप्तरीको राजगढ–१ स्थायी घर भएका राम आशिष यादब रहेका छन् । यस्तै भारतको विहार घर भएका २४ वर्षीय इस्तियाख अहमद र उनका सक्कली परीक्षार्थी महोत्तरीको सम्सी–५ घर भएका २३ वर्षीय सन्नीकुमार शाह पनि पक्राउ परेका छन् ।

अमर र अनिकेतलाई कुमारीपाटीस्थित सिसिआरसी कलेजबाट र राम आशिष यादवलाई कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ गरिएको एसपी कोइरालाले बताए । सन्नीकुमारको परीक्षा दिन आएका इस्तियाख परीक्षा सेन्टर रहेको एम्बिसन कलेजबाट पक्राउ परेका हुन् । प्रवेश पत्रमा नक्कली परीक्षार्थीको फोटो टाँसेर उनीहरू परीक्षा दिन आएको पाइएको थियो ।

‘अनलाइनबाट फर्म भर्न पाइने रहेछ । त्यसमा सक्कली परीक्षार्थीको विवरण र नक्कली परीक्षार्थीको फोटो प्रयोग भएको पाइयो,’ कोइरालाले भने । तीन जना परीक्षार्थी एमबिबिएस नै अध्ययन गरिरहेकाले उनीहरू नक्कली भएको पुष्टि गर्न प्रहरीलाई गाह्रो भएन । नक्कली परीक्षार्थीले प्रवेश परीक्षा पास गरेर नाम निकालिदिएबापत २ लाखदेखि १८ लाख रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसरी भयो अनुसन्धान

करिब १९ हजार परीक्षार्थी सहभागी भइरहेको चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित चिकित्सा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू सहभागी भइरहेको सूचनाका आधारमा महाशाखाले केही परीक्षार्थीमाथी निगरानी बढाएको थियो ।

सोहीअनुसार महाशाखाको टोली चैत १८ गते परीक्षा सेन्टरहरूमा पुगेको थियो । प्रहरीले शंका लागेका परीक्षार्थीलाई परीक्षा हलबाटै उठाएर केही मिनेट सोधपुछ पनि गर्‍यो, तर परीक्षा भने दिनबाट रोकेन ।

सक्कली विद्यार्थीका विभिन्न विवरणबारे नक्कली परीक्षार्थी जानकार भएका कारण सोधपुछका क्रममा उनीहरूले आत्मविश्वासपूर्वक जवाफ दिए । त्यसैले प्रहरीले तत्कालै हस्तक्षेप गर्नु उचित ठानेन । तर परीक्षा चलिरहँदा प्रहरीले अनुसन्धानलाई तीव्रता दिइरहेको थियो ।

तीन जना परीक्षार्थी एमबिबिएसकै विद्यार्थी भएको पाइएपछि प्रहरीले उनीहरूबारे धेरै मिहेनत गरिरहनु परेन । तर भारतीय नागरिक इस्तियाख अहमदबारे भने निकै संघर्ष गर्नु पर्‍यो । ११ बजेदेखि सुरु भएको परिक्षामा करिब एक घण्टापछि प्रहरीले इस्तियादलाई बोलाएर ५ मिनेट जति सोधपुछ गरेको थियो । उनले आफू सन्नीकुमार शाह नै भएको, सानैदेखि भारतमा बसेर पढेको र नेपालमा घर महोत्तरीको सम्सी–५ रहेको बताए । प्रवेश पत्रमा परीक्षार्थीको हस्ताक्षर गर्ने ठाउँमा उनले अंग्रेजीमा बुझिने गरी सन्नी मात्र लेखेका थिए ।

तर, उनले आफ्नो मोबाइल नम्बर भन्न सकेनन् । उनीसँग परिचय खुल्ने अन्य कागजात पनि थिएनन् । तैपनि पाँच मिनेट जति कुरा गरेपछि प्रहरीले उनलाई परीक्षामा सहभागी हुन दियो र थप अनुसन्धानमा लाग्यो । प्रहरीले महोत्तरी जिल्ला प्रशासन कार्यालयमा बुझ्दा सन्नीकुमार शाहको नाममा नागरिकता जारी रहेको र ठेगाना महोत्तरीको सम्सी नै रहेको खुल्यो ।

नागरिकतामा प्रयोग भएको तस्विरलाई लिएर प्रहरीले यकिन गर्न सकेन । त्यसपछि सम्सीमा रहेको सन्नीकुमार शाहको घरमै प्रहरी पठाइयो । परिवारले सन्नी काठमाडौँमा परीक्षा दिन गएको भन्दै उनको मोबाइल नम्बर पनि दिए । मोबाइल नम्बरमार्फत प्राविधिक अनुसन्धान गर्दा सन्नी पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिए । उनी त्यहाँ इस्तियाखलाई कुरेर बसिरहेका थिए । प्रहरीले उनलाई पक्राउ गरेर अगाडि उभ्याउँदा इस्तियाद झस्किए । त्यसपछि बल्ल उनले आफू प्रलोभनमा परेर सन्नीको परीक्षा दिन भारतबाट आएको स्वीकार गरे।

प्रहरीले प्रवेश परीक्षाको अनलाइनबाट फर्म भर्ने व्यवस्थाको दुरुपयोग भएको जनाएको छ ।

‘हामीले पाएका केही सूचनालाई पछ्याउँदा यति मान्छे पक्राउ परे भने कति नक्कली परीक्षार्थी सहभागी भएका होलान् ?’ एसपी कोइराला प्रश्न गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *