जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भए : प्रचण्ड – Nepal Press

जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भए : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वले मधेसमा ठूलो विद्रोह गरेको स्मरण गरेका छन् । मधेस प्रदेशमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धका बेला मधेसमा मात्रै १३ सय शहीद भएकाे बताए ।

‘तराई मधेसमा निकै ठूलो विद्रोह जनयुद्धले लिएर आयो । झण्डै १३ सय शहीद मधेसमा मात्रै भएका छन् । १० वर्षको जनयुद्धमा,’ उनले भने, ‘ती १३ सय सहिद र सयौँ बेपत्तालाई सम्मान र तीनका परिवारलाई पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।’

त्यहीँ संघर्ष र बलिदानको भरमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको अध्यक्ष प्रचण्डले दाबी गरे ।

उनले भने, ‘हाम्रै संघर्ष र बलिदानले देश संघीय गणतन्त्रमा छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा आएकै छ ।’ अहिले देशभर निर्माण भइरहेका भौतिक संरचना र विकासहरू त्यही संघर्षको उपज रहेको पनि टिप्पणी गरे ।

‘जे संरचना या बन्दैछन्, भौतिक पूर्वाधारका दृष्टिकोणले या शिक्षा, स्वास्थ्य रोजगारीको दृष्टिकोणले या बजेटहरू स्थानीय तहसम्म पुग्ने र त्यो बजेट जनताको सेवामा प्रयोग गर्ने प्रक्रियाको दृष्टिकोणले पनि एउटा ठूलो परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएकै छ,’ उनले भने ।

माओवादी त्यति बेलाका केही शक्तिहरूको अनुमानविपरित अहिले देशको शक्तिशाली दल बनेको पनि उनले दाबी गरे । अप्रत्यक्ष रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर ईंगीत गर्दै उनले भने, ‘एक थरी मान्छेहरू हिजो जुन नेपालमा गणतन्त्र सम्भव नै छैन भन्ने ठान्थे । नेपालमा संविधानसभा सम्भावना नै छैन, भन्ने ठान्थे माओवादी जनयुद्ध ६ महिनामा सिद्धिन्छ, वर्ष दिनमा सिद्धिन्छ यो धुलो पिठो हुन्छ भन्ने गर्थे । दश वर्ष चल्दै गर्दा देशकै एउटा अजेय शक्ति बन्यो जनयुद्ध ।’


प्रतिक्रिया

One thought on “जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भए : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर