बाढीपछि अवरुद्ध मेलम्ची चैत मसान्तसम्म सुचारु गर्ने प्रयास, तर संशय धेरै – Nepal Press

बाढीपछि अवरुद्ध मेलम्ची चैत मसान्तसम्म सुचारु गर्ने प्रयास, तर संशय धेरै

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले चैत ३० गते मेलम्चीको पानी काठमाडौं झार्ने तयारी गरेको छ । तर, दिगोरुपमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउँछन् भन्ने चाहिँ निश्चित छैन ।

मेलम्चीको पानी दोस्रो पटक काठमाडौं झार्न लागिएको हो । यसअघि गत वर्षको चैत १५ गते पहिलो पटक मेलम्चीको पानीले काठमाडौंको माटो भिजाएको थियो । तर, बाढीले मेलम्चीको सुरुङ पुरिएपछि छोटो समयमै आयोजना अवरुद्ध बन्यो । त्यसयता यसलाई सुचारु गर्ने प्रयास जारी छ ।

चैत मसान्तमा काठमाडौंमा पानी पठाउनका लागि ९ नम्बरको गेट बन्द गर्नुपर्ने हुन्छ । गत असार १ गते आएको बाढीले ९ नम्बरको गेट पुरिएको थियो । उक्त गेटको मर्मत कार्य अझै नसकिएकाले चैत मसान्तभित्र पानी पठाउन चुनौती थपिएको छ ।

९ नम्बर गेट अर्थात् मुख्य गेट बन्द गरिसकेपछि बल्ल मेलम्चीको पानी काठमाडौं आउने समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।

पौडेलले भने, ‘त्यो गेट बन्द गर्ने प्रक्रियामा छौँ । त्यहाँ काम भइरहेको छ ।’

अढाई महिना पानी वितरण गरेपछि आयोजनाले सुरुङको परीक्षण सम्पन्न गर्न असार १ गतेदेखि नै सुरुङ बन्द गराएको थियो, जसले गर्दा ठूलो क्षति जोगियो । सुरुङ परीक्षणको कार्यविधि पूरा गर्नुपर्ने भएकाले असार १ गतेदेखि मुहानबाट पानी पठाउन बन्द गरिएको थियो । सोही रात मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको थियो ।

बाढी आउनुअघि नै सुरुङ बन्द गरिसकेकाले सुरुङमा लेदो नपसेको मेलम्ची खानेपानी विकास समितिको अनुमान थियो । तर सुरुङ सफा गर्ने क्रममा १७ नम्बर गेटको मुख्य टनेलमा ढुंगा माटोसहितको लेदो भेटिएपछि आयोजनाका कर्मचारीहरू चैत मसान्तभित्र काठमाडौंमा पानी पठाउन नसकिने पो हो कि भन्ने चिन्तामा छन् ।

पौडेलले भने, ‘हामीले मुख्य टनेलभित्र लेदो ढुंगा केही पनि गएको छैन भनेर सोचेको थियौँ । छर १७ नम्बर गेट खोल्दा लेदो भित्र पनि गएको रहेछ । त्यसलाई पनि सफा गर्नुपर्छ ।’

मुख्य टनेलमा माटोसहितको लेदो सफा गर्न सुरु गरिएको उनले बताए ।

‘समयमै टनेल सफा गरेर पानी डाइभर्सन गर्न सकियो भने चैतको मसान्तको लक्ष्य पूरा हुन्छ,’ पौडेलले भने ।

तर निर्माण गर्नभन्दा मर्मत गर्न समय लाग्ने भएकाले तोकिएको समय तलमाथि हुनसक्ने उनी बताउँछन् । सरकारले लिएको लक्ष्यभित्र काठमाडौंमा पानी पुर्‍याउन काम अगाडि बढिराखेको उनको भनाइ छ ।

८ महिना बन्द भएको सुरुङ सफा गरिसकेपछि हावा भित्र पठाउने, डिसइन्फेक्सन लगायतका प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले केही समय लिने उनको भनाइ छ ।

उनी थप्छन्, ‘टनेलको हामीले अन्तिम गेट खोलेका छौँ । सबै गर्दा थोरै समय लिन्छ । लिए पनि हामी समयमै गर्न सक्छौँ ।’

९ नम्बर गेट सबै ठिक छ भनेर बन्द गर्न सकियो भने टनेल सफा गर्न सकिने र त्यसपछि डिसइन्फेक्सन गर्नुपर्ने उनले बताए । कुनै भवितव्य भएमा वैशाख ५ गतेसम्म धकेलिन सक्ने उनको भनाइ छ ।

पौडेल भन्छन्, ‘हामीले कार्यक्रम बनाएका छौँ । तर कुनै भवितव्य हुनसक्छ । केही भइहाल्यो भने वैशाखको ५ पनि पुग्न सक्छ ।’

मेलम्ची पुगेर मन्त्रीले गरे क्षमा पूजा

गत बिहीबार मेलम्ची खानेपानीको मुहान अम्बाथानमा पुगेका खानेपानीमन्त्री उमाकान्त चौधरीले क्षमा पूजा गरेका थिए । यसअघि काटमार निषेधित हेलम्बुमा कालोबोका बलि दिएको भन्दै स्थानीय रुष्ट बनेका थिए । बलि चढाएकैले अनिष्ट भएको उनीहरूको दाबी छ ।

समितिका कार्यकारी निर्देशक पौडेलले भने, ‘विघ्न–बाधा केही नहोस् भनेर उहाँले क्षमा पूजा गर्नुभएको हो ।’

मन्त्री चौधरीले क्षमा पूजा गरेपछि साइतको रूपमा सुरुङमा पानी हालिएको उनले बताए ।

‘मेलम्चीको पानी पठाउने साइत मात्रै गरिएको हो । त्यसपछिको प्रकियाहरु धेरै छन् । गेटहरू सफा हुन बाँकी छ । गेटको मर्मतको काम भइराखेको छ,’ उनले भने ।

धमिलो पानी आउनेवितिकै सुरुङ बन्द गर्नुपर्ने हुन्छ

हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानीको मुहानमा ठूलो क्षति पुर्‍याएपनि सुरुङ भने परीक्षण गर्न नपर्ने भएको छ । बाढी आउनुअघि नै सुरुङको परीक्षण गरिसकेकोले अब निरीक्षण मात्रै गरेर पानी पठाउन सकिने समितिले जनाएको छ ।

पानी अस्थायी रुपमा ल्याउने भएकाले मेलम्ची नदीमा धमिलो पानी आयो भने सुरुङ तत्काल बन्द गर्नुपर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

‘सुरुङभित्र धमिलो पानी पस्यो भने सुरुङ सफाइ गर्न समस्या हुन्छ । पूर्व चेतावनी प्रणाली (अर्ली वार्निङ) हेड बक्सभन्दा माथि राखिसकेको छ । समयमै खबर हुन्छ,’ उनले भने ।

हेलम्बुमाथि भेम्राथानमा ठूलो मात्रामा ग्रेगानसहितको माटो थुप्रिएकाले बाढीको जोखिम उत्तिकै छ ।

काठमाडौंमा पानीको हाहाकार

गत सोमबार हुल बाँधेर गोकर्णेश्वर नगरपालिका ४ माकलबारीका उपभोक्ता काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखामा पुगे । हप्तौँदेखि धारामा पानी नआएपछि आन्दोलन गर्न उनीहरू त्यहाँ पुगेका थिए ।

कर्मचारीहरूले पानीको मुहानमा पानी नभएकाले धारामा पानी पठाउन नसकेको बताएपछि उनीहरू फर्किए । पानी नआएको गुनासो लिएर दिनँहुजसो महांकालचौर शाखामा पुग्छन् उपभोक्ताहरू ।

पानी भण्डारण पोखरीको लेबल कम भएकोले कार्यालयको तालिकाबमोजिम पानी वितरण गर्न असमर्थ भएको केयुकेएल शाखाले जनाएको छ । डिप ट्यूवेलबाट मात्रै संकलन गरेको पानी आलोपालो वितरण गर्ने प्रयास भइरहेको केयुकेएलको भनाइ छ ।

अब मेलम्ची खानेपानीको प्रतीक्षा गर्नु सिवाय अन्य विकल्प नभएको केयुकेएलका प्रमुख मिलन शाक्यले बताए । उपत्यकामा दैनिक ३५ करोड लिटर पानीको माग छ । तर केयुकेएलले बर्खामा दैनिक १० देखि १२ करोड लिटर र हिउँदमा ८ करोड लिटरसम्म पानी वितरण उपलब्ध गराउँदै आएको छ ।

बहुप्रतिक्षित मेलम्चीको पानी पनि नआउनु र सुख्खा याम खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट पानी मगाएर काठमाडौंबासीले दैनिकी चलाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर