परराष्ट्रमन्त्रीको स्पष्टीकरण- देउवा कांग्रेस सभापतिको रूपमा भाजपा कार्यालयमा जानुभएको हो – Nepal Press

परराष्ट्रमन्त्रीको स्पष्टीकरण- देउवा कांग्रेस सभापतिको रूपमा भाजपा कार्यालयमा जानुभएको हो

काठमाडौं । पररराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालयमा जानु कूटनीतिक मर्यादा विपरीत नरहेको दाबी गरेका छन् । उनले कांग्रेस पार्टीको सभापतिको हिसाबले देउवा भाजपा कार्यालय गएको बताए ।

भारतबाट फर्केपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. खड्काले भने, ‘यो (भाजपा कार्यालय भ्रमण) कूटनीतिक मर्यादाभित्र नरहेको भन्ने कुरा ठिक होइन । उहाँ प्रधानमन्त्रीको रूपमा नभएर नेपाली कांग्रेसको आदरणीय सभापति भएको नाताले भाजपा कार्यालय जानुभएको हो ।’

अन्य देशका पार्टीहरूसँग पनि कांग्रेसले मैत्रीपूर्ण सम्बन्ध राख्ने उल्लेख गर्दै डा। खड्काले चीनको कम्युनिस्ट पार्टीसँग पनि कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए ।

‘पार्टी टु पार्टी सम्बन्ध विस्तारको नाताले जानुभएको हो,’ उनले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा देउवा पछाडिको कुर्सी खाली देखिएकोबारे पनि पत्रकारले जिज्ञासा राखेका थिए । परराष्ट्रमन्त्री खड्काले मोदीले भाषा अनुवादका लागि मात्रै पछाडि कर्मचारी राखेको बताए ।

‘मोदीले अंग्रेजीबाट हिन्दीमा उल्था गरिदिनका लागि सहयोगी राख्नुभएको हो । भेटवार्तामा भएका कुराहरू हामी सबैले आआफ्नो तरिकाले नोट गरिरहेका थियौँ,’ उनले भने ।

परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको बताए ।

सीमासम्बन्धी विषयहरू आपसी छलफल र कूटनीतिक माध्यमबाट संम्बाेधन गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री देउवा भने विमानस्थलको पत्रकार सम्मेलनमा सहभागी भएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर