डीआईजीहरूको रिट आज पनि ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरूको रिटको सुनुवाइ आज पनि भएन । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको मुद्दाको पेसी ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो ।
हिजो रेग्मीकै इजलासमा सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ मा राखिएको थियो ।
डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले वरीयता मिचेर एआईजीमा बढुवा गरेको भन्दै विहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । निवेदकले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन् ।
उनीहरूले सर्वोच्च जानुअघि बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी दिएका थिए । समितिले कैफियत नदेखिएको ठहर गरेपछि विहीबार बिहानको मन्त्रिपरिषद् बैठकले वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।