कसरी खोज्ने फिल्म बनाउन विदेशी फण्ड ?
मेरो पहिलो फन्डको किस्सा रोचक छ । बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको थिएँ म । २४ जना छनोट गरेकोमा म पनि परेको थिएँ ।
आमा भर्खरै बित्नुभएको थियो । दुःख र पीडामा भएकाले कोरिया जाने मुडमा म थिइनँ । तर, उनीहरूले छनोट भएकाहरूको नामसँगै वेस्ट फेलो अवार्ड भनेर पाँच हजार डलर पुरस्कार पनि राखेका रहेछन् । मलाई त्यो पुरस्कारले तान्यो । पाँच हजार जितेर आयो भने त सर्ट फिल्म बनाउन सक्छु अथवा नयाँ फिचर फिल्मका लागि स्क्रिप्ट लेख्छु भन्ने भयो ।
नजिकका साथीभाइले पनि जानुपर्छ भने । मलाई पनि लाग्यो, म जानुपर्छ । त्यो पुरस्कार जसरी पनि जितेर ल्याउनुपर्छ ।
तर, त्यहाँ कोर्स चाहिँ अंग्रेजी भाषामा हुने । त्यस वेला मेरो अंग्रेजी टुटे फुटेको मात्रै थियो । वर्कसप पो अंग्रेजीमा हुन्छ, तर पुरस्कार जित्न त सर्ट फिल्म बनाउनुपर्छ । त्यसले मलाई हिम्मत दियो । अवार्ड जित्दिनँ होला लागेको थियो । तर, त्यहाँ गएर फिल्म बनाउने कुराले म रोमाञ्चित भएँ ।
त्यहाँ गएँ । अन्ततः अवार्ड पनि मैले जितेँ ।
कोरिया गएकाले अर्को फाइदा पनि भयो । फन्डिङ एजेन्सीका मान्छेहरूसँग भेट भयो । सन् २०१३ मा ‘बाँसुली’ फिल्म भेनिस फिल्म फेस्टिभलमा पुग्दा उनीहरूसँग भेट भएको थियो । त्यसपछि दोस्रो भेट कोरियामा भयो ।
म बाटोमा सुट गरिरहेको थिएँ कोरियामा । एजेन्सीको मान्छेहरू आएर मलाई पछाडिबाट समाते । र भने, ‘तिमी अझैँ यहाँ काम गरिरहेका छौँ ? तिमी त फिचर फिल्म बनाउनुपर्ने मान्छे ।’
त्यसपछि नेपाल फिरेँ । नेपाल फिर्नसाथ ‘कालो पोथी’ फिल्मका लागि प्रोडक्सन फन्डमा अप्लाइ गरेँ । अफिसियल्ली मैले पहिलो स्विस फन्ड पाएँ ।
यस्तो फन्ड पाउनमा नेटवर्किङ महत्त्वपूर्ण हुन्छ जस्तो पनि लाग्छ होला धेरैलाई । तर, फन्ड पाउन त्यति सजिलो छैन । मलाई पनि फन्ड पाउँदा लागेको थियो, ‘फन्ड त सजिलै पाइँदो रहेछ ।’
मैले फन्ड पाउनुमा त्यस वेला मेरो सर्ट फिल्म ‘बाँसुली’ भेनिस फिल्म फेस्टिभलमा गएको थियो । त्यो फिल्म मेरा लागि आइडेन्टिटी कार्ड जस्तो बन्यो । अनि दोस्रो पाटो चाहिँ एसियाबाट धेरै प्रतिस्पर्धा हुँदैन थियो ।
तर पछिल्लो समय एसियामा दक्षिण कोरिया, जापान, चीन, ताइवान बाहेक अन्य देशले फिल्ममा ठूलो फड्को मार्दैन । त्यस्ता फन्डमा दर्ता भएका आवेदनमा ४० प्रतिशतसम्म त भारतको मात्रै आवेदन हुन्छ ।
फन्ड पाउनका लागि मुख्य कुरा चाहिँ आफ्नो काम चाहियो ।
फन्ड पाउनका लागि हामीसँग आइडिया छ, स्क्रिप्ट छ र प्रोजेक्ट पनि छ । टिम पनि छ । तर, त्यसपछि फन्डका लागि तय गर्नुपर्ने बाटो र प्रक्रिया हामी बिर्सन्छौँ । हाम्रो दिमागमा गोल के हो थाहा हुन्छ । फन्ड छ, बजार छ भन्ने पनि थाहा छ । तर, त्यो बिचमा जुन ग्यापिङ छ, त्यसका कारण हामी अल्झन्छौँ ।
सबैलाई सगरमाथा चढ्न मन लाग्छ । तर, शेर्पाहरू बढी जसो चुचुरामा पुगिरहेका हुन्छन् । अन्य मानिसका लागि सगरमाथा चढ्न गाह्रो भएको बाटो र प्रक्रियाको कारणले हो । शेर्पाहरूले चाहिँ बाटो पनि तय गर्छन् र चुचुरोमा पुग्छन् ।
हामी मेकरलाई त्यो बाटोको जानकारीको अभाव हुन्छ । अर्कातिर त्यो बाटो हिँड्नलाई चाहिने समयको अभाव हुन्छ । फन्ड आइन्जेलसम्म कसरी सर्भाइभ हुने हामी ? हामी यो तेस्रो अवस्थामा आएर अड्कन्छौँ । फन्ड पाए पनि त्यो पाउन दुई वर्ष अथवा कम्तीमा एक वर्ष लाग्छ । त्यस वेलासम्म फिल्ममेकर, स्क्रिप्ट राइटर, प्राविधिकहरू कसरी सर्भाइभ हुने ? त्यसैले पनि हामी बिच बाटोबाटै फर्कनुपर्ने हुन्छ ।
यस कारणले पनि फन्डिङको कुरा धेरै गाह्रो भएको हो हामीलाई ।
तर, फिल्मका लागि फन्डिङमा जाने कि नजाने ? मेकरको व्यक्तिगत छनोट हो । मेरो सवालमा कुरा गर्दा म जुन स्कुलिङबाट आएँ, जुन ठाउँबाट आएँ, त्यो ठाउँबाट हेर्दा फन्डिङ नपाएको भए कसैले मेरो फिल्ममा पैसा हाल्दैन थियो ।
मैले फिल्म बनाउन सुरु गर्दा नजिकका साथीभाइको आर्थिक अवस्था बलियो थिएन । मेरो पनि बलियो थिएन । साथीभाइको गाँस खोसेर फिल्म बनाउने अवस्था पनि थिएन ।
फेरि बजेटको कुरा फिल्मको विषय र लोकेसनले निर्धारण गर्छ । मेरो अघिल्लो फिल्म मुगुमा सुटिङ थियो । अहिले पनि हिमालमै छ । त्यसका लागि ठूलो पैसा लाग्छ । जसका लागि साथीभाइलाई भन्न सकिने अवस्था थिएन । मेरो अनुभवले के भन्छ भने फन्डिङ भएन भने पनि फिल्म बनाउन सक्ने मेकरलाई म एप्रिसियट गर्छु ।
यता फन्डिङमा जानुका पनि फाइदा छन् । त्यसले प्रोजेक्टको भ्यालु बढाउने काम गर्छ । फन्डिङ पैसासँग मात्रै जोडिएको हुँदैन । त्यो प्रोजेक्ट, बजारले अन्तर्राष्ट्रिय रूपमा जुन बज सृजना सृजना गर्छ, त्यसले मेकरलाई ठूलो सहयोग गर्छ ।
फन्डिङमा जाँदा प्रोजेक्टको भ्यालु बढाइदिँदैन मात्रै, फिल्म फेस्टिभलमा वितरकहरूले पनि वाच गरिरहेका हुन्छन् । त्यसले सजिलो हुन्छ भन्ने लाग्छ मलाई ।
एकातिर फन्ड त छँदै छ, अर्कातिर नेपाली फिल्मको कुरा गर्दा हामीले दुईवटा शब्दसँग मात्रै आशक्ति राख्यौँ । त्यो हो नभनिएको कथा र रुचिपूर्ण कथा । तर, अहिले मलाई लाग्छ, म आफू के चाहन्छु ? यो पनि महत्त्वपूर्ण हुने रहेछ । म आफू चाहिँ कस्तो प्रकारको फिल्म हेर्न रुचाउँछु, त्यसले पनि अर्थ राख्दो रहेछ । नेपाली फिल्मको पहिचान सामूहिकताले दिने हो । तर, त्यसअघि व्यक्तिगत कुराहरू मुख्य हुन् । कुनै फिल्मको स्टोरी टेलिङ, मेकिङ, एडिटिङ सबै मन पर्छ भन्नुको मतलब कतै न कतै हाम्रो व्यक्तिगत कनेक्सन छ भन्ने नै हो ।
अहिले म कुन ठाउँमा आइपुगेँ भने मलाई जे चिजले आकर्षित गर्छ, त्यो मेरो छनोट पनि हुँदो रहेछ । ‘कालो पोथी’, ‘बाँसुली’मा मेरो गाउँको कथा भन्ने लाग्यो । अहिले गाउँको कथाभन्दा थोरै पर सरेँ । मेरो गाउँको कथा भनेँ, त्यो ठिक छ । तर, सँगसँगै फिल्म मेकिङ भनेको विषयवस्तुगत, सैद्धान्तिक रूपमा कसरी लाने भन्ने पनि हो ।
सुरुवाती चरणमा मैले जस्तो काम गरेँ, त्यसमा पछुतो छैन । त्यस वेला जे आउँथ्यो, जे कुराले आकर्षित गर्थ्यो, जुन मेरो जनजीवनमा थियो, त्यही विषयमा बनाएँ । अहिले आएर चाहिँ मलाई के लाग्छ भने त्यति मात्रै फिल्म होइन रहेछ । यो ठाउँमा आएर आफ्नो भित्री रुचि पत्ता लगाउनु पनि ठूलो कुरा रहेछ । त्यसपछि हामी सबैको व्यक्तिगत–व्यक्तिगत आवाजको सामूहिक आवाज के हुन्छ, त्यसले आफैँ बाटो तय गर्छ फिल्म क्षेत्रले ।
कोरिया, जापानका फिल्म उद्योगमा ‘यस्तो फिल्म बनाऔँ’ भनेर पचास वर्षसम्म बहस चलेन होला । छोटो समयमै चीनमा फिफ्थ जेनेरेसन, दक्षिण कोरिया, ताइवान, हङकङले आफ्नो भाष्य निर्माण गरे । उनीहरूले पनि बहस गर्छन्, तर हाम्रो जस्तो पचास वर्ष लगाएर बहस नगरी रहँदा रहेछन् । एउटा विन्दुमा पुगेर ‘हाम्रो सिद्धान्त यस्तो हुनुपर्छ’ भने मात्रै पुग्ने रहेछ ।
पचास वर्षसम्म हामीले नेपाली फिल्म यस्तो हुनुपर्छ भनेर वकालत मात्रै गर्यौं । सय जनाको झुण्डमा बोलिरह्यौँ, तर कस्तो फिल्म बनाउने भनेर लागेनों ।
अहिले भारतमा दुवै प्रकारको अभ्यास चलिरहेको छ । एकातिर हलिउडलाई चुनौती दिने फिल्महरू आइरहेका छन् । अर्कातिर आर्ट हाउसको कुरा पनि नजानिँदो पाराले आइरहेको छ । तर, हाम्रोमा चाहिँ भाष्य निर्माणलाई लिएर गाह्रो चिजहरूको बहस भइरहेको छ । त्यस्तो बहस गर्न हाम्रो समाजको संरचना र विविधताले दिँदैन । धेरै थरीको मान्छेले बनेको समाजमा गाह्रो हुने रहेछ । जति धनी वा गरिब भए पछि फ्रेन्चहरूको घरमा खानेकुरामा सलाद हुन्छ । हामी नेपालीको त त्यो पनि छैन । हामी यति विविध छौँ ।
अनि हामी भनिरहेका छौँ, नेपाली फिल्मको भाष्य निर्माणमा एक ठाउँमा जुटौँ । मलाई लाग्छ, हामी ठूलो मूर्खताको बहस गरिरहेका छौँ आजकल । अथेन्टिसिटी भनेको व्यक्तिगत विचारमा अडिने कुरा हो । अनि त्यसलाई आकार दिन लाग्नुपर्छ । दक्षिण कोरियामा सबै व्यक्ति आ–आफ्नै तरीकाले खटेर आ–आफ्नो रुचिको फिल्म बनाए । अनि हामी हेर्नेहरूले कोरियन फिल्म यस्तो हो भनेर महसुस गर्छौँ ।
अर्कातिर फेस्टिभलमा जाने नेपाली फिल्ममा सहरको कथा कमै छन् । जहिल्यै गाउँको गरी बको कथा आउँछ । सहरको कथा पनि आइदिए राम्रो हुन्थ्यो । सहरको कथा न साहित्यमा, न फिल्ममा, कतै पनि पाएनौँ खासमा हामीले ।
(डिस्क्लेमर : मीन भामलाई पनि गाउँको, जनयुद्धको कथा बेच्यो भन्ने आरोप लाग्छ ।)
त्यतिखेर मैले ‘कालो पोथी’ बनाउँदा विदेशमा बिक्छ भनेर बनाएको होइन । बनिसकेको फिल्मका लागि मैले झुटो बोल्नुपर्ने कुरै छैन । त्यो वेलाको मेरो बुझाइको सीमितताले त्यो फिल्म बनाउन बाध्य बनायो ।
सहरको मान्छेको कथा त म भर्खर सहरको भाषा सिक्दै गरेकाले कसरी सक्नु ! अहिले म जुन भाषा बोलिरहेको छु, त्यो राम्रोसँग बोल्न नसक्ने अवस्थामा काठमाडौं आएको मान्छेले सहरको कथा भन्न गाह्रो थियो ।
उसो त मैले जे चिज भन्दै थिएँ, त्यो चिज नै विदेशमा बिक्छ भन्नका लागि हामीसँग नजिर नै के थियो र ! नवीन सुब्बा दाइ र छिरिङरितार शेर्पा दाइ बाहेक अरू को थिए र फेस्टिभलतिर गएका ! हामीले गाउँको, जनयुद्धको मात्रै होइन, साइफाइ फिल्म बनायो भने पनि बर्लिनमा फिल्म फेस्टिभलमा गएर अवार्ड जित्न सक्छ नि ! त्यसका लागि कथा वाचन, कथा मुख्य कुरा न हो ।
मैले चाहिँ गाउँको कथा भन्दै गर्दा दोषको भारी हो जस्तो लाग्दैन । म गाउँमै हुर्किएँ । गाउँमै बसेँ । बल्लतल्ल अहिले सहरको परिवेश बुझ्दै छु ।
(नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘गेट वे टु वर्ल्ड सिनेमा’ शीर्षकमा निर्देशक मीन बहादुर भामले राखेको विचारको सम्पादित अंश ।)