प्रतिपक्षीसँग किन डराइरहेछ सत्तागठबन्धन ?
नेपालमा गणतन्त्र प्राप्तिपछिको दोस्रो स्थानीय तह निर्वाचन २०७९ वैसाख ३० गते हुँदैछ । यो निर्वाचन धेरै पार्टीका लागि जीवन–मरणको सवाल हुनसक्ने देखिन्छ । निर्वाचन आयोगमा दर्ता भएका कैयौं पार्टीको अस्तित्व नाश भएर जानेछ । ठूला भनिएका एकाध पार्टीका हैसियत पनि यसपालिको स्थानीय निर्वाचनले धूलीसाफ हुने देखिन्छ ।
प्रजातन्त्रको सुन्दरता भनेकै आवधिक निर्वाचन हो । लोकतान्त्रिक पार्टीहरुले निर्वाचनलाई महोत्सवका रुपमा लिने गर्छन् । आफ्नो पार्टीको नीति, सिद्धान्त,विचार, कार्यक्रमलाई जनताकाबीच लैजाने अवसरको रुपमा लिने गर्छन् । यो निर्वाचनलाई परमादेश र जनादेशबीचको युद्धका रुपमा हेर्ने पार्टी पनि देशमै छ । त्यतिमात्र होइन, यो निर्वाचनलाई जनमत संग्रहको रुपमा हेर्नेहरु पनि छन् ।
चुनाव मतको समुचित प्रयोग गर्ने अवसर हो । जनताले आफ्नो प्रतिनिधिहरु छनौट गर्ने अधिकार हो । चुनाव चुनिने र चुन्ने श्रृङ्खला हो । यतिबेला मतलाई बहिष्कार नै गरौं भन्ने पार्टी खासै देखिएको छैन ।
नेकपा(विप्लव)ले समेत व्यक्तिगत स्वतन्त्रतालाई ध्यान दिएर आफ्ना इच्छुक कमरेडहरुलाई स्वतन्त्र उम्मेदवार बन्ने अधिकार दिएको समाचारमा पढ्न पाइएको छ । बुलेटबाट सत्ता प्राप्त गर्ने दीर्घकालीन लक्ष्यका साथ राजनीतिमा होमिएकाहरु पनि यतिबेला ब्यालेटबाटै सरकार सञ्चालन गर्ने स्थानमा पुग्न सकिन्छ भनेर निरन्तर लागि परेका छन् ।
निर्वाचन, व्यक्तिगत स्वतन्त्रताको उच्चतम रुप हो । यसमा कसैका ह्वीप लाग्दैन । सिद्धान्तले यहीं भन्छ । तर हाम्रो देशमा यसको प्रयोग र कार्यान्वयन कस्तो अवस्थामा छ भन्ने कुराको जानकारी गराइ रहनु पर्दैन । निर्वाचनलाई कुन रुपमा लिइएको छ, यसको प्रभाव र असर कस्तो छ र निर्वाचनले के सन्देश दिइरहेको छ धेरैलाई गतिलै हेक्का छ ।
आवधिक निर्वाचनले आ–आफ्ना पार्टीलाई परिमार्जन वा परिस्कृत गर्ने अवसर दिन्छ । जनताकाबीच आफ्नो हैसियत परीक्षण गर्ने परीक्षासमेत हो । निर्वाचनमा कसको, कस्तो नतीजा आयो भन्ने कुराले उसको पार्टीप्रति जनताको स्वीकार्यता कस्तो छ भन्ने निचोड निकाल्नसमेत सकिन्छ । निर्वाचन, बाक्सा थाप्ने र आएको स्वस्तिकधारी मतपत्र गणना गर्ने कार्यमात्र होइन भन्ने सन्देश सबैले बुझ्नु पर्छ ।
निर्वाचनमा आ–आफ्नो पार्टीको हैसियत जाँचिन्छ, नीति, सिद्धान्त, विचार, कार्यक्रमको पुनर्परीक्षण गरिन्छ । निर्वाचन, भोज भतेर गरेर निर्वाचित हुने र जनतालाई उल्लु बनाउने धुर्त खेल होइन । निर्वाचनले जनताको मन जित्ने र मत बटुल्ने गर्छ । बहुदलीय व्यवस्थाको परिचय निर्वाचनमा व्यक्तिको हार वा जीत होइन । बरु यो त पार्टीले प्राप्त गर्ने परिणाम हो । त्यसैले पार्टीको संगठन बलियो हुनु नै पार्टीले श्रेष्ठता हासिल गर्नु बुझिन्छ ।
कुरो गठबन्धनकै छ । यो पनि दुई किसिमले बुझ्न सकिन्छ । गर्भे गठबन्धन र परिणामपछिको गठबन्धन । गर्भे गठबन्धन भन्नाले निर्वाचनमै जनतासँगै जाँदा संयुक्त घोषणापत्र, संयुक्त उम्मेदवार, संयुक्त निर्वाचन टोलीको उपस्थति बुझ्न सकिन्छ ।
प्रायः यस्तो खालको गठबन्धन नीति, सिद्धान्त, विचार, भावना र कार्यक्रम मिल्नेहरुकाबीच हुने गर्छ तर व्यवहारमा कमै देखिन्छ यहाँ । यस्तो गठबन्धनले निर्वाचनको मोर्चामात्र बनाउँदैन । निर्वाचनपछि पार्टीहरुलाई एकीकृत वा ध्रुर्वीकृत गर्नेछ ।
परिणामपछिको गठबन्धन भन्नाले पहिला निर्वाचनमा आ–आफ्ना पार्टीहरु छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने, त्यसका लागि आ-आफ्नो घोषणापत्र, उम्मेदवार र आफ्नो निर्वाचन टोली लिएर आफ्नो पार्टीका लागि मत माग्ने ।
निर्वाचनपछि प्राप्त मतका आधारमा गठबन्धन गरी सरकार सञ्चालनमा पहल गर्ने भन्ने बुझ्न सकिन्छ । स्थानीय सरकार सञ्चालनमा यस्तो खालको गठबन्धनको खासै अर्थ हुँदैन पनि होला । एकाधरुपमा गाउँ वा नगर कार्यपालिकामा अल्मतमा रहेका पार्टीहरुले बहुमत पुर्याउनका लागि यस्तो खालको गठबन्धन काम लाग्नसक्ने छ ।
यसपालिको स्थानीय तहको निर्वाचनमा गर्भे गठबन्धन हुने प्रबल सम्भावना लुकाएर लुक्दैन । तर, यस्तो खालको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई स्वतन्त्र तरिकाले मतदाताले मत जाहेर गर्न पाउने छन्, सक्लान् ? आफ्नो मताधिकारको सर्वोच्चत्तम प्रयोग सम्भव रहला ? आफूले इच्छाएको सक्षम एवम् दक्ष उम्मेदवारलाई मत दिने अधिकारको प्रयोग हुन सक्ला ? गर्भे गठबन्धनको आधारमा दिइने मत करकाप, डर, त्रास, देखासिकीको हुनेछ । पार्टीप्रतिको इमान्दारिताको नाममा मताधिकारलाई कुण्ठित गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना हुने देखिन्छ ।
गर्भे गठबन्धनले कुन पार्टीको आफ्नो हैसियत के छ ? आफूलाई कहाँनिर परिमार्जन र परिष्कृत गर्नुपर्ने हो, पृष्ठपोषण प्राप्त गर्न कठिन हुने देखिन्छ । गठबन्धन टुटेको अवस्थामा वा सरकार सञ्चालनको क्रममा देखा परेका कमीकमजोरीहरुका भागीदार सँगै हुनुपर्ने बाध्यकारी अवस्था आइपर्छ ।
आफ्नै पार्टीका नेता, कार्यकर्ता र मतदाताहरुलाई गर्भे गठबन्धनका कारण पार्टीका नीति, सिद्धान्त, विचार र कार्यक्रमप्रति उदासीन बनाउनुपर्ने कलुषित भावनाको विकास गर्नेछ । जसकारण पार्टीहरुप्रति नेता, कार्यकर्ताहरु कुनैबेला उदेक लाग्दा बन्ने छन् । निष्ठाविहीन नेता, कार्यकर्ताका रुपमा परिभाषित हुनेछन् । जसलाई राजनीतिको मूलधारमा पुनः फर्काउन पार्टीहरुलाई मुस्किल पर्नेछ ।
लोकतन्त्र र पार्टीप्रतिको विश्वसनीयता लोप भएर जानेछ । यस्तो गठबन्धनले व्यवस्थाप्रति नै घृणा पैदा गर्नसक्ने देखिन्छ । निर्वाचनमार्फत् आफ्नो तागत परीक्षण गर्ने अवसर प्राप्त हुने भएकाले त्यतातिर पार्टीहरुले ध्यान दिए कसो होला !