हिरासतमै घाँटी रेटिएको अवस्था युवक भेटिएपछि आफन्तद्वारा छानबिनको माग
रुपन्देही । बुटवलको प्रहरी हिरासतमा रहेका एक व्यक्ति घाँटी रेटिएको अवस्थामा भेटिएका छन् ।
तामाको तार चोरीको आरोपमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटीमा चोट लागेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।
बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिबार नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
नेपालीले आत्महत्याको प्रयास गरेको र तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको प्रहरीले बताएको छ । तर, नेपालीका आफन्तले प्रहरी हिरासतमा भएको घटनाको छानबिन गर्न माग गरेका छन् । हिरासतमा हतियार पुग्नु शंकास्पद भएको आफन्त मानकुमारी सार्कीले बताइन् ।