कार्यक्रम भड्किएकोमा आयोगको दाबी- दलहरूको बुझाइमा समस्या भयो – Nepal Press

कार्यक्रम भड्किएकोमा आयोगको दाबी- दलहरूको बुझाइमा समस्या भयो

काठमाडौं । निर्वाचन आयोगले चुनावी आचारसंहिता प्रतिबद्धता गराउन आज गरिएको कार्यक्रममा दलहरूको बुझाइमा समस्या भएको दाबी गरेका छन् ।

निर्वाचन आयोगमा आयोजित बैठकमा आयोगले छलफलका लागि बोलाएर बोल्न नदिएको भन्दै साना दलहरूले नाराबाजी गरेका थिए ।

सर्वदलीय बैठकमा होहल्ला र तनाव उत्पन्न भएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरू आचारसंहितामा हस्ताक्षर नगरी बाहिरिएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ‘उहाँहरूले नबुझ्दा समस्या भएको हो । पछि आयुक्तज्यूहरूले प्रष्ट्याएपछि धमाधम प्रतिबद्धता पत्रमा दस्तखत गरिरहनुभएको छ ।’

आजको कार्यक्रम आयोगको छलफलका लागि आयोजित नभइ प्रतिबद्धता लिनका लागि मात्रै रहेको उनको भनाइ थियो । उनले दलहरूलाई पठाइएको पत्र राम्रोसँग नहेर्दा समस्या आएको पनि दाबी गरे ।

आयोगले कहिल्यै छलफल, कहिल्यै अन्तरक्रिया, कहिले गोष्ठीका लागि, कहिल्यै तालिमका लागि बोलाउने गरेको सुनाउँदै प्रवक्ता पौडेलले आचारसंहिता पनि विभिन्न चरणका छलफलबाट अघि बढेको बताए ।

‘आचारसंहिता आयोगले तयार गरी उहाँहरू (दलहरू) लाई पटक-पटक बोलाएर छलफल गरेर, आयोगको वेबसाइटमा राखेर, दुई महिनाको प्रयासपछि तयार पारेको र राजपत्रमा आइसकेको छ,’ पौडेलले भने, ‘उहाँहरूकै राय सुझाव र प्रचलित ऐन कानूनको अधिनमा रहेर बनेको आचारसंहितालाई अक्षरसः कार्यान्वयन गर्ने प्रतिवद्धता मात्रै लिन बोलाइएको थियो ।’

आयोगले आचारसंहितामा प्रतिबद्धता लिन स्थानीय तह निर्वाचनका लागि दर्ता भएका ७९ वटै दललाई बोलाएको थियो । सोही क्रममा आयुक्तहरू बोलेर टुंग्याउन खोज्दा दलहरूले विरोध गरेका थिए ।


प्रतिक्रिया

One thought on “कार्यक्रम भड्किएकोमा आयोगको दाबी- दलहरूको बुझाइमा समस्या भयो

  1. सर्वदलिय बैठक होस वा यस्तै प्रतिबध्दता गर्न होस वा गोष्ठी होस वा जिल्ला स्तरिय सर्वदलिय बैठक नै किन नहुन – निर्वाचन आयोगले राष्ट्रिय दलहरुलाई मात्र बोलाउनु ठिक हुन्छ भन्ने कुरा पुर्व अनुभवले पनि सिध्द गरिसकेका छन । भारत लगायत प्रजातान्त्रीक मुलुकमा हुने चुनावमा दलहरुले स्वतन्त्र र निश्पक्ष निर्वाचनका लागि त्यहांको निर्वाचन आयोगलाई निसंकोच सहयोग गर्छन तर यहां निर्वाचन परिणामबाट केहि सफलता प्राप्त गर्ने रत्तिभर आस नभएका दलहरु यस्ता बैठकमा हाजिर भइ उग्र रुपमा प्रस्तुत हुन्छन , केवल शंका गर्छन र नचाहिंदो आदर्श देखाइ असहयोग बिरोध गर्न मै तल्लिन हुन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर